कोरोना महामारी नभइदिएको भए एसइई परीक्षार्थी यति बेला नतिजा पर्खिरहेका हुन्थे। कुन कलेजमा ११ कक्षा पढ्ने भन्दै योजना बुनिरहेका हुन्थे।
महामारीले देशै लकडाउन भएपछि एसइई परीक्षा पनि 'लक' छ। गत चैत ६ देखि हुने भनिएको परीक्षा अघिल्लो दिन बेलुकी शिक्षा मन्त्रालयले रोक्न निर्देशन दियो। अब न कहिले हुने हो ठेगान छ, न परीक्षार्थीहरू जाँचको तनावबाट मुक्त हुन सकेका छन्।
अन्यौलको यो समय बरू एसइई परीक्षा नै रद्द किन नगर्ने भन्नेबारे शिक्षाविद्, विद्यालय सञ्चालक र विद्यालय संगठनहरूबीच बहस सुरू भएको छ। तीमध्ये कोही यसपालि परीक्षा नगरौं भनिरहेका छन्, कोही सधैंका लागि एसइई बन्द गर्न सुझाव दिइरहेका छन्।
'प्लस-टु' सम्म विद्यालय शिक्षाअन्तर्गत राख्दै परीक्षा व्यवस्थापन गर्नुपर्ने बहस यसअघि पनि हुँदै आएको थियो। यसपालि कोरोनाले एसइई रोकिएको मौकामा सधैंका लागि परीक्षा व्यवस्थापन गर्नुपर्ने विज्ञहरूको राय छ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले केही दिनअघि प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष एसइई रद्द गर्नुपर्ने अडान राखेको थियो।
‘परीक्षा स्थगित हुँदा तयारी गरिरहेका विद्यार्थी निराश छन्। कहिले परीक्षा होला भनेर चिन्तित पनि छन्,’ प्याब्सन अध्यक्ष टिकाराम पुरीले भने, ‘विद्यार्थीलाई मानसिक राहत दिन र शैक्षिक सत्रको क्रम मिलाउन यस वर्षको एसइई परीक्षा रद्द गरिनुपर्छ। हामीले अनुरोध गरिरहेका छौं।’
रातो बंगला स्कुलकी सञ्चालक शान्ता दीक्षित प्लस-टुलाई माध्यमिक शिक्षाअन्तर्गत समावेश गरिसकेपछि एसइईको अड्को थाप्न जरूरी नभएको बताउँछिन्।
‘आठ कक्षाको परीक्षा स्थानीय तहले लिइसकेपछि अब एसइईलाई १२ मा सार्न जरूरी छ। संयोगले यति बेला एसइई हुन सकेन, अब स्थगित नै गरौं,’ स्कुल सञ्चालक दीक्षितले भनिन्, ‘विद्यालयले विभिन्न चरणमा परीक्षा लिइरहेकै छ। अब विद्यालयको मूल्यांकनलाई नै प्राथमिकतामा राखेर एसइई तयारी गरिरहेका विद्यार्थीलाई ११ कक्षामा भर्ना हुने वातावरण बनाउनुपर्छ।’
एसइई सधैंका लागि रद्द गर्नुपर्ने रायमा भने प्याब्सन अध्यक्ष पुरी सहमत छैनन्।
कक्षा ८ को परीक्षा स्थानीय सरकारले लिइरहँदा १० कक्षाको प्रदेश सरकार र १२ को संघीय सरकार मातहत हुनुपर्ने उनको विचार छ।
‘शिक्षामा प्रदेश सरकारको सहकार्य देखाउन पनि एसइई जरुरी छ,’ उनले भने, 'यसो हुँदा विद्यार्थीलाई पहिलेजति मानसिक दबाब पर्दैन। परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा हुने त्रुटि कम गर्न सकिन्छ।’
दीक्षित भने विद्यार्थीहरूको मनबाट पास-फेलको डर हटाउन एसइई सधैंका लागि रद्द हुनुपर्ने बताउँछिन्। उमेरका हिसाबले अपरिपक्व विद्यार्थीबाट एसइईको बोझ हटाउनाले नतिजा अझै राम्रो आउनसक्ने विश्वास पनि उनले व्यक्त गरिन्।
'तल्लो तहमा राम्रो गर्न नसकेका विद्यार्थीले माथिल्लोमा राम्रो गर्न सक्छन्। नराम्रो भए पनि सम्हालिन सक्छन्,' उनले भनिन्, ‘तीन घन्टाको परीक्षालाई आधार मानेर विद्यार्थीको समग्र मूल्यांकन गर्न सकिन्न।'
उनले यो पनि भनिन्, 'विद्यार्थीले गृहकार्य गरे-नगरेको, उसका गुण-अवगुण, सीप सिकाइ, सिक्नुपर्ने बाँकी काम र सिकाइको उत्सुकता शिक्षक र विद्यालयलाई नै थाहा हुन्छ। वर्षभरिका यस्ता मूल्यांकन तीन घन्टाको उत्तर पुस्तिकामा देखिँदैन।'
शिक्षाविद् विद्यानाथ कोइराला पनि एसइई परीक्षा स्थगित हुनुपर्ने विचार राख्छन्। परीक्षा लिनुपर्ने अवस्था हो भने प्रश्नपत्र र उत्तर जाँच्ने प्रणाली बदल्नुपर्ने उनको भनाइ छ।
‘प्लस-टुलाई माध्यमिक शिक्षा मानिसकेपछि बीचमा एसइईको औचित्य छैन। यो परीक्षा स्कुलले नै लिनुपर्छ,’ उनले भने, ‘अहिल्यै त्यसो गर्न सकिँदैन भने पनि विकल्प धेरै छन्। हामीले कुनै एक विकल्प मात्र छनौट गर्दा पनि शिक्षामा गुणात्मक सुधार ल्याउन सकिन्छ।’
जाँच लिने हो भने प्रदेशलाई जिम्मेवारी दिनुपर्ने कोइरालाको धारणा छ। खुला विश्वविद्यालयको परीक्षा प्रणाली उनी सबभन्दा राम्रो मान्छन्।
‘विद्यार्थीले प्रश्नपत्र घरैमा लैजान्छन्। किताब, कापी, नोट हेरेर, खोजेर, अनुसन्धान गरेर क्षमताले भ्याएसम्म उत्तर लेख्छन्, आफूले लेखेको उत्तर कहाँबाट कुन पेजबाट साभार गरिएको पनि उनीहरूले लेख्नुपर्ने हुन्छ,’ वैकल्पिक परीक्षा प्रणालीबारे कोइराला सुझाउँछन्, ‘यसरी हाम्रो प्रश्न दिने र उत्तर पुस्तिका जाँच्ने प्रणाली पनि फेरिन्छ।’
कोरोना महामारीले परीक्षा हुन नसकेको मौकामा यी विकल्पलाई गम्भीर बहसमा ल्याउनुपर्ने उनी बताउँछन्।
‘सरकारले अध्यादेश जारी गरी आगामी वर्ष १० र ११ को जाँच विद्यालयले नै लिने र एसइई परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई ११ का विषयवस्तु पढाउन सुरू गर्नु उचित हुन्छ,’ उनले भने, ‘कोरोनाको अन्त्य कुरेर बस्ने हो भने विद्यार्थीको भविष्य संकटमा पर्छ। यस्तो संवेदनशील विषय टारेर बस्नु हुँदैन, केही निर्णय लिइहाल्नुपर्छ।’
एसइई परीक्षा स्थगनसँगै विद्यार्थीहरूलाई उपयुक्त सञ्चार माध्यम प्रयोग गरेर माथिल्लो कक्षाका कोर्स अपडेट गराउन सकिने उनले बताए।