प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर सबैलाई चकित पारेका छन्।
आफूविरूद्ध एकजुट भएका सचिवालयका बहुसंख्यक सदस्यलाई विभाजित गर्ने मनसाय र आसन्न संकट टार्ने अपेक्षाका साथ प्रधानमन्त्री ओलीले यो प्रस्ताव ल्याएका हुन्। नौ सदस्यीय सचिवालयमा ओली अहिले अल्पमतमा छन्।
बैठकमा सधैं आफू पहिले र लामो बोल्ने परम्पराविपरीत प्रधानमन्त्री ओलीले बुधबार आफू नबोली अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बोल्न दिएका थिए।
आफ्नो भनाइ राख्दै प्रचण्डले प्रधानमन्त्री ओली सुरूदेखि नै पार्टी एकताविरोधी गतिविधिमा लागेको, आफ्ना मानिसहरूको भेला गराउँदै हिँडेको र आवश्यक परे पार्टी फुटाउने नियतका साथ काम गरेको आरोप लगाए।
'तपाईंले पहिलो केन्द्रीय समिति बैठकदेखि नै एकताविरोधी गतिविधि गर्नुभयो,' उनले भने।
ओलीले यसपालि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पनि अरू पार्टीका लागि भन्दा आफ्नै पार्टी फुटाउने नियतका साथ आएको प्रचण्डले आरोप लगाए। त्यस्तै, संवैधानिक परिषद ऐन संशोधन गर्ने अध्यादेश ल्याएर सत्ता कब्जा गर्न खोजेको उनले बताए।
'तपाईंले सधैं पार्टीविरोधी गतिविधि गरेकाले अब राजीनामा गर्नुस् र सत्ता छाड्नुस्,' प्रचण्डले भने।
प्रचण्डले आफ्नो भनाइ सक्नेबित्तिकै प्रधानमन्त्री ओलीले अरूलाई बोल्न नदिई आफू बोल्छु भने।
उनले धेरै प्रसंग नबाँधीकन वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे। उनले भने, 'कोरोना महामारीको समस्या सकिएपछि अनुकूल समयमा म राजीनामा दिन्छु, वामदेव (गौतम) लाई प्रधानमन्त्री बनाऊँ।'
'राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गरेर वा कुनै निर्वाचन क्षेत्र खाली गरी उहाँलाई जिताएर प्रधानमन्त्री बनाऊँ,' बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'म दुवै विकल्पका लागि तयार छु।'
त्यसपछि उनले माधवकुमार नेपालतर्फ फर्केर भने, 'माधव कमरेडको पनि मानमर्यादा पुगेन भन्ने छ, उहाँलाई पनि पार्टीको तेस्रो अध्यक्ष बनाऊँ।'
ओलीले बोलिसकेपछि झलनाथ खनालको पालो आयो। उनले समस्या समाधानका लागि स्थायी समिति बैठक बोलाउन माग गर्दै भने, 'पार्टीले भन्यो भने तपाईंले राजीनामा दिन पनि तयार हुनुपर्छ।'
झलनाथपछि बोलेका माधव नेपालले प्रधानमन्त्री ओलीमा अहंकार धेरै भएको बताए।
'प्रधानमन्त्रीमा अहंकार धेरै छ, जुन अहिले यहाँ बैठकमा पनि देखियो,' नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, 'सरकारको लोकप्रियता झरेर कहाँ पुगिसक्यो, प्रधानमन्त्रीको लोकप्रियता पनि गिरेको छ, राजीनामा दिएर मार्गप्रश्स्त गर्नुहोस्।'
नेपालपछि बोल्ने पालो वामदेव गौतमको आयो।
'उहाँले मलाई अर्को प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभयो। मलाई त यो सपनाजस्तै भयो। यस्तो प्रस्ताव आउला भन्ने मैले सोचेको थिइनँ,' उनले भने।
प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दै उनले अगाडि भने, 'प्रधानमन्त्रीको प्रस्ताव ठिक छ। अब स्थायी समिति बैठक बोलाउन आवश्यक छैन। सचिवालय बैठकले नै यसबारे निर्णय गरौं।'
वामदेवपछि बोलेका नारायणकाजी श्रेष्ठले कोरोना महामारीले देश संकटमा रहेका बेला पार्टीले विचार पुर्याएर निर्णय गर्नुपर्ने बताए। 'पार्टीलाई विधि र लोकतान्त्रिक मान्यताअनुसार चलाऊँ। त्यसका लागि स्थायी समितिको बैठक बोलाऊँ,' उनले भने।
गृहमन्त्री रामबहादुर थापाले भने प्रधानमन्त्रीले राजीनामा दिने र वामदेवलाई प्रधानमन्त्री बनाउने दुवै प्रस्ताव ठिक नभएको बताए।
अर्का सचिवालय सदस्य विष्णु पौडेलले वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव ठिक भएको धारणा राखे।
सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि प्रधानमन्त्रीको प्रस्तावमा समर्थन जनाए।
प्रधानमन्त्रीको प्रस्ताव उनीविरूद्ध एकठाउँ उभिएका सचिवालयका पाँच सदस्यबीच फुट ल्याउने नियतले आएको हो। केही समयदेखि प्रचण्ड, नेपाल, खनाल, श्रेष्ठ र गौतम प्रधानमन्त्री ओलीविरूद्ध एकजुट छन्। त्यसमध्ये गौतमले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।
बुधबारको सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे पनि उनी कसरी प्रधानमन्त्री बन्छन् भन्ने बाटो सुनिश्चित छैन।
वामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न नेकपासँग संसदमा दुईतिहाइ मत छैन। नेकपाका अर्का कुनै सांसदले राजीनामा दिएर उक्त क्षेत्रबाट वामदेव चुनाव जितेर आउने पनि लामो र अनिश्चित बाटो हो।
केही समयअघि वामदेवलाई राष्ट्रियसभामा लैजाने प्रचण्डको प्रस्तावको प्रधानमन्त्री ओलीले नै विरोध गरेका थिए। सचिवालयको बहुमतले पारित गरेको त्यो प्रस्तावअनुसार उनले अहिलेसम्म वामदेवलाई राष्ट्रियसभामा मनोनीत गरेका छैनन्।
सुरूमा प्रचण्डले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्ने र वामदेवलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेका थिए। प्रचण्डको उक्त प्रस्ताव आफूविरूद्ध षड्यन्त्र भएको भन्दै ओलीले विरोध गरेका थिए।
त्यसपछि सचिवालयले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन नगर्ने, तर वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने प्रस्ताव पास गरेको थियो।
'वामदेवलाई अहिले फकाएपछि तत्कालको संकट टरिहाल्छ, पछि उनलाई प्रधानमन्त्री बनाउनै पर्दैन,' एक सचिवालय सदस्यले भने, 'यो संकट टार्ने र आफूलाई चुनौती दिइरहेको समूहलाई फुटाउने रणनीति मात्र हो।'
यो प्रस्तावपछि वामदेव प्रधानमन्त्री ओलीसँगै उभिइरहे भने प्रचण्ड-माधवकुमार नेपालको समूह कमजोर हुनेछ। केही दिनयता ओली र दाहाल-नेपाल समूहले आ-आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाइरहेका छन्। यसबीच बुधबार बसेको सचिवालय बैठक यही वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ।