भारतबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदूरपश्चिमका स्थानीय सरकारहरूले संक्रमण फैलिन नदिने तीव्रताका साथ काम गरिरहेका छन्।
कोरोनासँगको लडाइँमा उनीहरूले दुइटा नीति तय गरेका छन्।
पहिलो, संक्रमण फैलन रोक्ने। दोस्रो, उपचारका लागि अस्पताल पुर्याउने।
स्थानीय सरकारहरूले भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा राखिरहेका छन्। गाउँका विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन्। भारतबाट फर्किएर घरमा बसिरहेका कतिपयको निगरानी स्थानीयस्तरमै मिलाएका छन्।
कोरोनाको लक्षण देखापरे तत्कालै स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि नगरपालिका र गाउँपालिकाले स्वास्थ्य चौकीलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेका छन्। त्यस्तै गम्भीर लक्षण देखिएकालाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था गरेका छन्। केही गाउँपालिकाले भने स्ट्रेचरको जोहो गरेका छन्।
कोरोनाविरूद्ध काम गरिरहेका स्थानीय तहका जनप्रतिनिधिले संक्रमण फैलन रोक्नेसँगै लक डाउनले काम गुमाएकालाई राहत पनि बाँडिरहेका छन्। सेतोपाटीले सुदूर पश्चिमका १४ वटा स्थानीय सरकारसँग उनीहरूले गरिरहेको तयारीबारे कुराकानी गरेको छ। कुराकानीको सम्पादित अंश
धौली देवी रावल, उपमेयर, शिखर नगरपालिका डोटी
कोरोना संक्रमणबाट जनतालाई जोगाउन हामीले ४ ठाउँमा क्वारेन्टिन बनाएका छौं। स्कुललाई क्वारेन्टिनमा रूपान्तरण गरेका हा। सबैमा स्वास्थ्यकर्मी खटाएका छौं। ती क्वारेन्टिनमा ७४ जना छन्। लकडाउनपछि नगरपालिकाभित्र आएकालाई अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था भएको हो। उनीहरूको खाने व्यवस्था नगरपालिकाले नै गरेको छ।
लक डाउनभन्दा पहिला आएका धेरै गाउँगाउँ पसिसकेका थिए। हामीले वडामार्फत् सबैको तथ्याङ्क संकलन गरका छौं। ८ सय मानिस भारतलगायतका देशबाट आएका रहेछन्। उनीहरूलाई निगरानी गर्ने जिम्मा वडालाई नै दिएका छौं।
नगरपालिकाका ११ वटै वडामा स्वास्थ्य चौकी छन्। स्वास्थ्य चौकीलाई कोरोना संक्रमितमात्र होइन अरूको उपचार पनि गर्नु भनेका छौं। २४ घन्टा खोल्ने व्यवस्था गरेका छौं।
हामीले नगरपालिकाबाटै स्वास्थ्यकर्मीलाई ४० देखि ६० प्रतिशतसम्म भत्ता दिने व्यवस्था गरेका छौं। सबैलाई कोरोनाको लक्षण देखिएनजिकैको स्वास्थ्य चौकीमा जानु भनेको छौं। स्वास्थ्य चौकीले जाँच गर्दा कोरोना पुष्टि हुन सक्ने शंका लागे हाम्रो स्वास्थ्य संयोजकलाई सम्पर्क गर्छ। संयोजकले विपद् व्यवस्थापन समितिलाई गर्छ। अनि त्यो मानिसलाई जिल्ला अस्पतालसम्म लैजाने व्यवस्था हामीले गर्छौं।
हामीसँग एउटा एम्बुलेन्स छ, ड्राइभरलाई जतिबेलासुकै तयार रहन भनेका छौं। सोमबार उसलाई पनि डाक्टरले लगाउनेजस्तो लुगा दिएका छौं।
हामीले माइकिङबाट कसरी घरभित्रै बस्ने आफ्नो घरभित्रका बाहेक अरूसँग कुरा गर्दा कसरी गर्ने सफा बस्ने तातो खानेजस्ता कुरा नगरभरि सम्झाउने अभियान सुरू गरेका छौं।
हामीले खाद्यान्नको गोदाम पनि राख्ने कि भन्ने छलफल गरिरहेका छौं। लक डाउन लम्बियो भने क्वारेन्टिनमा बस्ने र ज्याला मजदुरी गर्नेलाई राहत दिनुपर्ने हुन्छ। अहिले हामीले विकास निर्माणका केही काम रोकेका छौं। भोलि संक्रमण फैलियो भने हामीले मान्छे बचाउन पनि त्यही पैसा खर्च गर्नु पर्ने हुन्छ।
टेकबहादुर रोकाया, अध्यक्ष आदर्श गाउँपालिकामा डोटी
भारत र बाहिरी देशबाट आएका मान्छे बढेपछि गाउँमा कोरोना संक्रमणको जोखिम बढेको छ। लक डाउनपछि आएका ८१ जनालाई चार वटा क्वारेन्टाइनमा राखेका छौं। सबै क्वारेन्टिनमा स्वास्थ्यकर्मीले बेला-बेला जाँच गर्ने व्यवस्था मिलाएका छौं। अब १४ दिन पुगेपछि उनीहरूको स्वास्थ्य चेक जाँच गरेर घर पठाउँछौं।
हाम्रो गाउँपालिकाको प्रत्येक वडामा ३ देखि ७ जनासम्म स्वास्थ्यकर्मी छन्। उनैले लक डाउनभन्दा पहिल्यै भारतबाट आएकाहरूलाई घरघरमा गएर ज्वरो र अरू लक्षण चेक जाँच गरेका छन्। बाहिरबाट आएको पहिचान वडाले गरिसकेको छ। अहिलेसम्म कोरोनाको लक्षण देखिएका कोही निस्किएका पनि छैनन्।
गाउँपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाउने तयारी छ। हामीले नै एउटा डाक्टर नियुक्ति गरेका छौं। त्यो स्वास्थ्य चौकीमा हामीले कोरोनाका बिरामीलाई राख्न भनेर ४ वटा आइसोलेसन बेड पनि बनाएका छौं। सिकिस्त भए बल्ल सदरमुकाम लैजाने हो।
हाम्रो एम्बुलेन्स छैन। एउटा गाडी र ड्राइभर भाडामा लिएर चलाएका छौं। अहिले स्वास्थ्यकर्मीलाई गाउँगाउँ पठाउन र कोरोनाबारे जनचेतनाका लागि माइक फुक्दै हिँड्न त्यसकै प्रयोग गरेका छौं। भोलि कसैलाई लक्षण देखिइहाल्यो भने त्यही गाडीले जिल्लाअस्पतालसम्म लैजाने हो।
सबै वडामा मोटरबाटो त पुगेको छ तर १-२ घन्टा हिँड्नु पर्ने ठाउँ पनि छन्। त्यस्ता ठाउँमा बिरामी परिहाले भने वडाले मोटर बाटोसम्म ल्याउन स्ट्रेचर, डोकोलगायतको व्यवस्था गर्नु भनेका छौं।
हामीले पालिकास्तरको विपद व्यवस्थापन टोली बनाएका छौं जसमा अध्यक्ष, उपाध्यक्ष, सातै वडाअध्यक्ष, रेडक्रस र सुरक्षाकर्मीलगायतका प्रतिनिधिलाई राखेका छौं। समितिको कोषमा १० लाख रुपैयाँ गाउँपालिकाबाट राख्यौं, प्रदेश सरकारले ३ लाख हालेका छौं भनेको छ।
डाक्टर र स्वास्थ्यकर्मीहरूसँग हाम्रो नियमित सम्पर्क भइरहन्छ। मैले उनीहरूलाई जिल्ला अस्पतालमा पनि कुरा गरिरहनु भनेको छु। मैले सिडिओसँग पनि बेलाबेला कुराकानी गर्छु।
लक डाउन सुरू भएसँगै सबै वडाका स्वास्थ्यकर्मीलाई बोलाएर के गर्ने भनेर छलफल गरेको थिएँ। उनीहरूलाई चाहिएका सामग्री किन्नु भनेको छु। अहिले हामीसँग २० वटाजति पिपिई छन्। मास्क स्यानिटाइजर, पञ्चालगायतका कुराहरू उनीहरूले ल्याएका छन्। अहिलेसम्म हाम्रो तयारी यही हो।
लक डाउन धेरै हदसम्म कार्यान्वयन भए पनि खेतीपातीको काम भने रोकिएको छैन। तर अनावश्यक भेला गर्न दिएका छैनौं। गाउँमा धेरैजसो किसान छन्। कामहरू खासै रोकिएका छैनन्। लकडाउनको कारण ज्याला गरिखानेहरू कति छन् भनेर आँकडा निकालिसकेका छैनौं।
भीमबहादुर साउँद, परशुराम नगरपालिका डडेल्धुरा
हाम्रो नगरपालिका मुलुककै दोस्रो ठूलो नगरपालिका हो। भारतसँग सीमा जोडिएको छ। अहिले पनि सीमाबाट मानिसहरू लुकेर आइरहेका छन् भन्ने सुनिन्छ। तिनीहरूलाई खोज्ने क्वारेन्टिनमा राख्ने हाम्रो जिम्मेवारी हो।
हामीले वडा, प्रहरी र स्वास्थ्यकर्मीलाई परिचालन गरेका छौं। सबैभन्दा तल्लो तहमा काम गर्ने वडाले नै हो। अहिले हामीले भारत र अन्य मुलुकबाट आएकामध्ये एउटा क्वारेन्टिनमा १४ र अर्कोमा २७ जना राखेका छौं। हाम्रा क्वारेन्टिन विद्यालयका भवन हुन्। झुल पनि दिएका छौं। खानेबस्ने व्यवस्था नगरपालिकाले नै गर्छ। स्वास्थ्यकर्मीले निरन्तर जाँचिरहेका छन्।
हामीकहाँ जोगबुढा अस्पताल छ त्यहाँ २ जना डाक्टर हुनुहुन्छ। त्यसबाहेक हाम्रो नगरभरि २ वटा स्वास्थ्य चौकी र त्यो नभएको ठाउँमा नगरबाटै चलाइएका स्वास्थ्य क्लिनिक छन्। हामीले अस्पताल र नजिकैको खेलकुद मैदानको भवनमा गरी ८ वटा आइसोलेसन बेड तयार पारेका छौं।
२ जना बिरामीलाई एउटा शौचालय पुग्छ। हामीले गर्न सक्ने जति राम्रो बनाएका छौं।
डाक्टरले लगाउने पिपिई भने हामीसँग पर्याप्त छैन। ६ वटाजति होला। हुन त हामीले १०० वटा पिपिई किन्न लागिरहेका छौं। कसैगरी कोरोना देखियो भने स्वास्थ्यकर्मीलाई सुरक्षित पार्नुपर्छ भन्नेमा हामी सचेत छौं। स्वास्थ्यकर्मीलाई मैले दिनको एक पटक अस्पताल नै पुगेर भेट्ने गर्छु।
सामान्य मास्क भने हामीसँग छन्। मैले नै व्यक्तिगत रूपमा १५ हजार मास्क बाँडिसकेको छु। हामीले यहाँको एफएम रेडियो, र नगरपालिकाको वेवसाइटमार्फत् सूचना प्रवाह गर्ने गरेका छौं। कसैगरी कोरोनाको लक्षण कसैलाई देखियो भने वडाका प्रतिनिधि, नजिकैको स्वास्थ्य संस्था वा वा जनप्रतिनिधि जसलाई भए पनि सम्पर्क गर्नु भनेका छौं। फेसबुकमा हामीले सबैको नम्बर राखिदिएका छौं। त्यहाँ सम्पर्क गरेपछि एम्बुलेन्सबाट अस्पतालसम्म लैजाने व्यवस्था छँदैछ।
हाम्रो नगरमा एउटा हेलिप्याड पनि छ सेनाको। भोलि कोही सिकिस्त भएर राम्रो अस्पताल लैजान पर्यो भने त्यो पनि प्रयोग गर्छौं। नगरस्तरमा हामीले १६ जनाको तत्काल खट्न सक्ने टिम बनाएका छौं। जनप्रनिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी त्यसमा छन्।
हेमा भट्ट उपमेयर, व्यास गाउँपालिका, दार्चुला
हामीले गाउँपालिकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि रहेको एउटा समिति बनाएका छौं। त्यस्तै वडास्तरमा २२ देखि २५ जनाको अर्को समिति बनाएका छौं। टोलबाट एउटा गन्यमान्य व्यक्ति राखेका छौं। हरेक टोलबाट एउटा मानिस हुने भएपछि आफ्नो टोलको निगरानी गर्ने र त्यहाँको सूचना माथि पठाउने काम उसैले गर्छ।
लक डाउनपछि हामीले गाउँपालिकामा २ वटा क्वारेन्टिन बनाएका छौं। सोमपाल माध्यमिक विद्यालयको भवनको क्वारेन्टिनमा २१ जना राखेका छौं। अर्कोमा ३ जना छन्। कतिपय लक डाउनपछि महाकालीमा डुंगा चलाएर आएका हुन् भने कतिपय पौडेरै आइपुगेका थिए।
क्वारेन्टिनमा बस्नेहरूलाई खाने बस्ने व्यवस्था छ। दुबै ठाउँमा स्वास्थ्यकर्मी छन्। क्वारेन्टिनमा २ वटा ट्वाइलेट छन्। ती ट्वाइलेट प्रयोग गरेपछि आफैंले सफा गर्नु भनेर हामीले सिकाएका छौं। क्वारेन्टिनमा राखिएका बेड विस्तराको पनि निश्चित दूरी कायम गरेका छौं।
गाउँपालिकाका सात वडामा २२ स्वास्थ्यकर्मी छन्। भारत वा बाहिरबाट आएकालाई एकफेर जाँच्ने काम भएको छ।
वडाको समितिमा रहेको टोलको मानिसले आफ्नो टोलमा कसले के गरेको छ निगरानी गर्छ। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, एकजना स्वास्थ्यकर्मीको नम्बर र वडाअध्यक्षको नम्बर हामीले ठाउँठाउँमा टाँसेका छौं। भोलि कसैलाई लक्षण देखियो भने यी नम्बरमा फोन गरेर थाहा दिनु भन्ने प्रचार भैरहेको छ।
तर हामीकहाँ काखीमा राखेर ज्वरो नाप्ने मेसिनमात्र छ। भोलि कसैलाई कोरोना देखिइहाल्यो भने स्वास्थ्यकर्मीले जाँच्दा लगाउने लुगा पिपिई छैन, मास्क पनि धेरै छैन।
अघिपछि हामी बिरामी भए उपचार गर्न भारततिरै जान सजिलो थियो। अब लक डाउनका बेला सदरमुकाम नै जानुपर्छ। सदरमुकाम जाने मोटर बाटो त जोडिएको छ। २८ किलोमिटर टाढा पर्छ। हामीसँग एम्बुलेन्स छैन। गाउँपालिकाको पनि मोटरसाइकलमात्र छ। अहिले एउटा जीप भाडामा लिएका छौं। भोलि कोरोनाका बिरामी भेटिइहाले भने त्यसैलाई प्रयोग गर्छौं।
गाउँमा मोटर नभएका ठाउँ पनि छन्। त्यहाँ कोरोना देखियो र सिकिस्त बिरामी भयो भने मोटर बाटो भएको ठाउँसम्म ल्याउने जिम्मा वडालाई तोकेका छौं।
त्यहाँसम्म उनीहरूले स्ट्रेचरमा राखेरै ल्याउलान्। बिरामीलाई बोक्ने मानिसलाई पनि पिपिई दिनु पर्ने हुन्छ। त्यो व्यवस्था भयो भने अरू तयारी हामीले भ्याएसम्म राम्रो गरेका छौं।
कर्णबहादुर हमाल, मेयर, कृष्णपुर नगरपालिका कञ्चनपुर
हामीले कोभिड-१९ फैलन नदिन नगरपालिकामा ३ वटा हेल्प डेस्क राखेका छौँ। १० बेडको क्वारेन्टिन बनाएका छौं। नगरपालिकामा ६ वटा स्वास्थ्य संस्था छन्। तिनीहरूलाई २४ सै घन्टा सेवा दिन सक्ने अवस्थामा राखेका छौं। नगरपालिकामा ३ वटा एम्बुलेन्स छन्। जसमध्ये एउटा सुत्केरी र अन्य बिरामी बोक्न प्रयोग गर्नेछौं। २ वटा कोरोनाको आशंका गरिएकाहरूलाई बोक्ने तयारी छ।
भारतबाट नाका पार गरेर भित्रनेहरूबाट हामी भयभित छौं। नगररपालिकामा विदेशबाट भित्रिएका ८६१ मध्ये ८ सय ५४ जना भारतबाट आएका छन्। अहिले भारतबाट आएकामा पनि कोरोना देखिएको अवस्था छ। हामीले नगरपालिकामा रहेका १०३ महिला स्वयमसंवेकीलाई जनचेतना फैलाउन प्रयोग गरेका छौं। नौ वटै वडामा विपद् व्यवस्थापन प्रतिकार्य समिति बनाएका छौं। यस्ता समितिमा २ सय ४१ जना हुनुहुन्छ। उहाँहरूले वडाअनुसार क्वारेन्टिनमा बस्नेहरूको स्थिति अवलोकन गर्नुहुन्छ।
सबै वडा अध्यक्षसहित मेरो सम्पर्क नम्बर नगरपालिकाको फेसबुकमा राखेको छु। क्वारेन्टिनमा नरहे पनि कोरोनाका लक्षण देखिए सेती अञ्चल अस्पताल पुर्याएर स्वाब टेस्ट गराउने तयारी गरिरहेका छौँ।
स्थानीय स्तरमा ज्यालादारी मजदुरका लागि राहत उपलब्ध गराउने तयारी गरिरहेका छौं। तथ्याङ्क संकलन भैरहेको छ। ४ जनाको परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुन दिने तयारी छ। ५ जना र त्योभन्दा बढी रहेको परिवारलाई ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल र १ किलो नुन दिने तयारी गरेका छौं।
दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि १ करोडको विपद् व्यवस्थापन कोष बनाएका छौं। स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई जुटाएका छौं। फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं।
मदनसेन बडायक, लालझाडी गाउँपालिका, कञ्चनपुर
हाम्रो गाउँपालिकामा अहिले विदेशबाट आएका १३ जना क्वारेन्टिनमा हुनुहुन्छ। भारतबाट आएका कतिपय घरमा क्वारेन्टिनमा बसेका समेत गरेर १३४ जना हुनुहुन्छ। हामीले सबैको अनिवार्य स्वाब टेष्ट गर्ने निर्णय गरेका छौं।
गाँउपालिकामा ३ वटा स्वास्थ्य संस्था छन्। जसमा दुई वटा सामुदायिक स्वास्थ्य संस्था छन्। १२ जना स्वास्थ्यकर्मीलाई हामीले पिपिई उपलब्ध गराएका छौं। एम्बुलेन्स एउटामात्र छ। नजिकै धनगढीमा सेती अञ्चल अस्पताल छ। त्यहाँ पुग्न ४५ मिनेट लाग्छ। हामीले गाउँपालिकामा एउटा वडाबाट अर्को वडामा जान कडाइ गरिरहेका छौं। विदेशबाट आएका मानिसहरूको नजिक नजाऊ भनेर घरपरिवारका मान्छेहरूलाई भनिरहेका छौं। हामीले एम्बुलेन्स चालकलाई पनि पिपिई दिएका छौं। सुरक्षाकर्मी र जनप्रतिनिधिलाई मास्क दिएका छौं।
भुवनेश्वर उपाध्याय, अध्यक्ष थलरा गाँउपालिका, बझाङ
हरेक वडाले क्वारेन्टिन वार्ड बनाएका छन्। बिरामीलाई बोकेर लैजानका लागि १७ वटा स्ट्रेचरको व्यवस्था गरिएको छ। एउटा वडामा स्थानीयस्तरमै बनाइएका १७ सय देखि २ हजारवटासम्मका मास्कहरू वितरण गरिएको छ। साबुन पानीले हात धुन सहज होस् भनेर नसक्नेहरूका लागि साबुनको व्यवस्था गरेका छौं। एउटा वडाबाट अर्को वडामा जान रोकेका छौं। अर्को गाउपालिकामा जान पर्यो भने अनुमति लिएरमात्रै जान पाउने बनाएका छौं। लक डाउनका कारण खाद्यान्नमा असर नपरोस भनेर चामल, नुन मगाएका छौं।
गाउँपालिकामा एम्बुलेन्स छैन त्यसले जीपहरू तयारी अवस्थामा राखेका छौं। केही मोटरसाइकलसमेत तयारी अवस्थामा छन्। सेती नदीमा पुल बन्ने क्रममा छ। त्यसैले झोलुंगे पुल तरेरमात्रै एम्बुलेन्स जाने सडकमा पुग्नुपर्छ।
भारतबाट आएका ७० जनालाई क्वारेन्टाइनमा राखेका थियौं अब ३ जनामात्रै छन्। स्थानीय स्तरमै बनाइएका र सदरमुकामबाट आएका गरी ५० वटा पिपिई तयार बनाइएको छ।
गाउँगाउँमा सूचनामूलक सन्देशहरू पठाएका छौं। कसैलाई केही शंका लागेमा नजिकको जनप्रतिनिधि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भन्न सकिन्छ।
त्यसपछि हामीले उनीहरूलाई स्वास्थ्य संस्थामा ल्याउने व्यवस्था मिलाएका छौं। ९ वटा वडामा १३ वटा स्वास्थ्य संस्था छन्। ती संस्थाबाट उपचार हुन सक्ने अवस्था आएन भने हामीले हेलिकप्टर मगाउँछौं। त्यसका लागि गाउँपालिकाको केन्द्र थलारखोलीमा हेलिप्याड समेत बनाएका छौं।
वीरेन्द्र खड्का, मेयर जयपृथ्वी नगरपालिका, बझाङ
हामीले सतर्कता अपनाए पनि स्रोत साधनको अभाव छ। १३ वटा वडामा रहेका ६३ जना स्वास्थ्यकर्मीहरूलाई हामीले कार्यक्षेत्र नछोड्न भनेका छौं। त्यस्तै वडा अध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई पनि आफ्ना वडामा गएर जनतालाई सचेत गराउन भनेका छौं। मास्क र साबुन वितरण गरिएको छ।
भारतबाट आएका ५ जनालाई क्वारेन्टाइनमा राखेको ११ दिन भएको छ। हामीले आवश्यक परेमा नगरपालिकाका सबै विद्यालयलाई क्वारेन्टाइन बनाउन सक्ने गरी तयारी गरेका छौं।
कोही पनि व्यक्तिले आफू बिरामी भएको शंका लागे उसले स्वास्थ्य संयोजक र नगरपालिकाको मेयर र उपमेयरलाई सम्पर्क गर्न सक्छ। मिडियामार्फत् नम्बर सार्वजनिक गरिएको छ। लक डाउनका कारण कोही कसैलाई खाद्यान्नको समस्या परे नुन चामल घरमै पुर्याउने व्यवस्था मिलाएका छौं।
हामी स्वास्थ्यकर्मी साथीहरूसँग निरन्तर कुराकानी गरिरहेका छौं। उहाँहरू पनि सचेत हुनुहुन्छ।
हुन त कोरोना भाइरस परीक्षण गर्ने मेसिन बझाङमै राखिनु पर्ने हो। किनकी यहाँबाट स्वाब लिएर परीक्षण गर्न लैजानका लागि कठिन छ। त्यही भएर पनि हामीलाई मेसिन चाहिने हो। हामीसँग सामान्य खालका थर्मोमिटरमात्रै छन्। इन्फ्रारेड गन थर्मोमिटर चाहिने हो जुन हामीले पाउन सकेका छैनौं।
पुष्प शर्मा, अध्यक्ष तुर्माखाँद गाउँपालिका, अछाम
हामीले रेडियोबाट गाउँपालिकाको तर्फबाट सूचना दिएका छौं। गाउँपालिकाले २५ वटा क्वारेन्टिन वार्ड बनाएका छौं। लक डाउनका बेला मजदुरहरूलाई छाक टार्न दुःख नहोस् भनेर २० लाखको राहत कोष स्थापना गरेका छौं।
भारतबाट ६९० जना आएका थिए। उनीहरू सबै सेल्फ क्वारेन्टाइनमा बसेका छन्। उनीहरूको निगरानी गर्ने काम भइरहेको छ। राहतको व्यवस्थाका लागि हामीले तथ्यांकसमेत संकलन गरेका छौं।
हामीसँग एम्बुलेन्सको व्यवस्था छ। बाहिर लैजान पर्यो भने जीपहरू पनि भनेका छौं। स्वास्थ्यकर्मीसँग उपकरणको अभाव छ। उनीहरूको व्यक्तिगत सुरक्षाको लागि पिपिईको व्यवस्था गरिएको छ तर पर्याप्त छैन। स्वास्थ्य चौकीमा भ्याकुमको अवस्था छ। धेरै स्वास्थ्य संस्थाहरू अहेब, अनमी र सिएमएका भरमा चलेका छन् । उहाँहरूले नै फ्रन्टलाइनमा रहेर काम गर्नुभएको छ ।
हामीले गर्न सक्ने भनेको रोकथामको प्रयास हो। यहाँबाट उपाय लागेन भने जिल्लामा खबर गर्ने अथवा एम्बुलेन्सबाट पठाउने हो।
कुलबहादुर कुँवर, मेयर साँफेबगर नगरपालिका, अछाम
स्वास्थ्यकर्मीका लागि पिपिई किन्न खोज्दासमेत पाएका छैनौं। सावधानी अपनाउने काम गरिरहेका छौं। बाँकी त भगवान भरोसाजस्तो छ।
कोरोनाबाट जोगिनका प्रचारप्रसार गरेका छौं। नगरपालिकाले ४० लाखको कोष स्थापना गरेको छ। यही रकमबाट हामीले ज्याला मजदुरी गर्नेलाई खाना र आवश्यक पर्ने अन्य खर्च गर्छौं।
अहिले ३ जना क्वारेन्टाइनमा छन्। लक डाउनपछि नगरपालिकामा कोही आएका छैनन्। त्योभन्दा पहिला आएका १ सय ४७ जान होम क्वारेन्टाइनमा बसेका थिए। जसमध्ये ४१ जनाको क्वारेन्टाइनको समय सकिएको छ। ६४ जनाको पनि सकिँदैछ।
स्वास्थ्य चौकीमा औषधीको समस्या छैन तर पिपिईको भने अभाव छ। अहिले त ज्वरोका बिरामीहरू कति आए भनेर त्यसको निगरानी गर्ने काम हामीले गरेका छौं। त्यस्तो समस्या देखिए उनीहरूलाई क्वारेन्टाइनमा राख्छौं।
बयलपाटामा सामुदायिक अस्पताल छ। त्यहाँ १३ वटा आइसोलेसन वार्ड छन्। तर स्वास्थ्य सामाग्री र टाढैबाट ज्वरो नाप्ने थर्मोमिटरको अभाव छ। स्वास्थ्यकर्मीले आफ्नो क्षमताअनुसारको काम गरेका छन्।
एम्बुलेन्स छ तर त्यसका चालकका लागि पिपिई छैन। गाडी सेनिटाइज गर्ने कुरा त धेरै टाढाको कुरा हो।
गोविन्दबहादुर मल्ल- अध्यक्ष, हिमाली गाउँपालिका, बाजुरा
हामीले चैत ८ गत नै कोरोना संक्रमण रोक्न तयारी थालेका थियौं। नेपालगञ्जमा पाइएको एउटा ज्वरो जाँच गर्ने थर्मल गन ल्यायौं। ११ गते हुम्ला र भारतबाट आउने नाकामा हेल्थ डेस्क राख्यौं।
सात वटामध्ये दुइटा वडामामात्र स्वास्थ्य चौकी थियो। बाँकी वडामा पनि स्वास्थ्य चौकी सञ्चालनमा ल्यायौं। हामीसँग एम्बुलेन्स छैन।
मैले प्रयोग गर्ने गरेको गाडी र अर्को एउटा जीपलाई तयारी अवस्थामा राखेका छौं। शंकास्पद बिरामी फेला परे गाडीमा जिल्ला अस्पताल पुर्याउँछौं। जिल्ला अस्पताल नै पुग्न ८ घन्टा लाग्छ। सबै वडामा गाडी पुग्दैन। कति ठाउँबाट एकदिन बोकेर ल्याउनु पर्ने हुन्छ।
स्वास्थ्यकर्मीलाई एउटा पनि पिपिई छैन। मास्क र पञ्जाको भरमा काम गरिरहनुभएको छ। सुरूमा त हामीले पनि कपडाकै बनायौं। तर पछि त्यसले धुलोबाहेक केही सुरक्षा गर्न सक्दैन भन्ने थाहा भयो। फेरि हामीले प्लास्टिकको सिलाउन थाल्यौं। चीनबाट पिपिई आयो भन्छ तर हाम्रोमा आएको छैन। अस्ति चीनबाट आएको सामान लिन पठायौं जम्मा २ सय वटा मास्क र पञ्जा पाइयो।
विदेशबाट आएका सात जना थिए उनीहरूको प्रत्येक दिन ज्वरो जाँच गर्यौं। अहिले उहाँहरू होम क्वारेन्टाइनमा हुनुहुन्छ। हामीले साढे ११ सय घरधुरी सबैलाई हात धुन दुई वटा साबुन दिएका छौं।
धनबहादुर रोका मगर- मेयर, चुरे गाउँपालिका, कैलाली
हामीले भारतबाट आएका ७ जनालाई क्वारेन्टाइनमा राखेका छौं। कसैलाई शंका लागेमा वडा अध्यक्ष वा स्वास्थ्य इकाइमा सम्पर्क गर्न सक्छ। सबै ६ वटा वडामा इकाइ छन्। हामीसँग एउटा एम्बुलेन्स छ। पिपिईको अभावले स्वास्थ्यकर्मीलाई दिन सकेका छैनौं। भएका ७ वटा पिपिई आपतकालिनको लागि भनेर राखेका छौं। स्वास्थ्यकर्मीले पञ्जा र मास्कको भरमा काम गरिरहनु भएको छ। हामीसँग २५ जना स्वास्थ्यकर्मी छन्। चीनबाट पिपिई आउँछ भनेको मात्र सुनेको हो तर अहिलेसम्म आएको छैन।
सबै वडाको गाउँमा एम्बुलेन्स पुग्दैन। त्यस्तो गाउँमा स्टेचरको व्यवस्था गरेका छौं। अलिकति विकट भएकाले यातायातको समस्या छ। कुनै गाउँमा फोन लाग्दैन। त्यस्तोमा आधा घन्टा हिँडेर डाँडामा उक्लेर फोन गर्नुपर्छ।
हामीसँग बिरामीको स्वाब झिक्ने स्वास्थ्यकर्मी छैनन्। हामीले बिरामीलाई धनगढी नै पुर्याउनु पर्छ। यहाँबाट दुई घन्टा लाग्छ।
ममताप्रसाद चौधरी- मेयर घोडाघोडी नगरपालिका, कैलाली
हामीले मानिसहरूलाई घरबाट बाहिर ननिस्कन हरेक वडाहरूमा दैनिक माइकिङ गर्छौं। भारतबाट आएका १६ जनालाई क्वारेन्टाइनमा राखेका छौं। बाँकीलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौं।
हामीसँग ४० बेडको क्वारेन्टाइन छ। सबै स्वास्थ्य चौकीमा फिभर क्लिनिक चलाएका छौं। सबै वडाहरूमा स्वास्थ्य चौकी छ। कसैलाई लक्षणको शंका लागेमा सिधै वडा अध्यक्ष, सदस्य वा एम्बुलेन्सको नम्बरमा फोन गर्न सक्छन्। हामीले एम्बुलेन्सको नम्बर बाडेका छौं।
बिरामीलाई राख्ने आइसोलेसन चलाउने हामीसँग क्षमता छैन। बिरामीलाई हामीले तुरून्त धनगढी पुर्याउने व्यवस्था गरेका छौं। त्यसको लागि दुइटा एम्बुलेन्स तयारी अवस्थामा छ। यहाँबाट बढीमा डेढ घन्टामै धनगढी पुगिन्छ।
स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा कवज र उपकरण दिन सकिएको छैन। हामीसँग जम्मा ४० वटा पिपिई छ। त्यो पनि चाहिन्छ भनेर लक डाउन अगाडि नै किनेका थियौं। ज्वरो नाप्ने थर्मल गनको अभाव छ। भएको एउटा थर्मल गन पनि टीकापुरका एकजना साथीबाट सापटी लिएको हो। बजारमा किन्न नपाइने भएकाले उसले पनि सापटीमात्र दियो।
थर्मल गन अलिक बढी भएको भए हामी आफैं अगाडि बढेर धेरैको जाँच गर्न सक्थ्यौं। स्वाब झिक्ने स्वास्थ्यकर्मी छैन। हामीले धनगढी नै लैजानुपर्छ। तर अब र्यापिड टेस्ट गर्ने कुरा आएको छ। त्यो भयो भने हामी क्वारेन्टाइनमा भएका सबैको परीक्षण गर्छौं।
पदम बडुवाल- मेयर, बडीमालिका नगरपालिकामा, बाजुरा
हामीसँग अहिले जिल्लामा १५ बेडको अस्पताल छ। जसमा दुईटा बेड आइसोलेसनको लागि छुट्याइएको छ। सबै पालिकाको बिरामी यहीँ आउने हो। तर पिपिई १२ वटामात्र छन्।
क्वारेन्टाइनमा ३९ जनलाई राखेका छौं। उहाँहरूमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन। हामीसँग पाँच वटा एम्बुलेन्स छन्। प्रत्येक वडामा स्वास्थ्य चौकी छ। तर स्वास्थ्यकर्मीलाई चुनौती छ। मास्क र पञ्जाको भरमा काम गर्नुपर्छ।
सबै वडामा गाडी पनि पुग्दैन। कुनै गाउँबाट ट्रयाकटरमा पनि बिरामी ल्याउनुपर्छ। यहाँबाट धनगढी स्वाब पुर्याउन ११ घन्टा लाग्छ। मान्छेहरूलाई बाहिर ननिस्कन साबुन पानी हात धुनु भनेर सचेतना गराएकै छौं। तर पिपिई लगायत सुरक्षा कवचको अभाव छ।
अलिकति संक्रमण बढ्यो भने पनि हामीले धान्ने अवस्था हुँदैन। त्यसपछि भगवान भरोसा हो। प्रदेश सरकारले भारतबाट आएकालाई आ-आफ्नो ठाउँ पठायो। त्यही बेला बाहिरबाट आएकाले धनगढीजस्तो सुविधा भएको ठाउँमा क्वारेन्टाइनमा राख्नुपर्थ्यो।
बरु हाम्रो पालिकाको व्यक्तिको बसेको खर्च हामी तिर्न तयार हुन्थ्यौं। तर यहाँ पठाएर मान्छेलाई मर्न पठाएजस्तो लाग्छ। हामीसँग के सुविधा छ? न अस्पताल छ। यहाँबाट धनगढी नै पुर्याउनु पर्छ। अहिले त जहाज पनि चल्दैनन् कसरी बिरामी पुर्याउने?