सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई आजदेखि संघीय संसदको ढोका खुलेको छ।
गत माघ ९ मा भएको निर्वाचनमा गण्डकी प्रदेशबाट विजयी भएका श्रेष्ठले बुधबार सांसदका रूपमा सपथ लिएका छन्। उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
दुई वर्षअघि गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईसँग सात हजार बढी मतले पराजित भएका श्रेष्ठ त्यसपछि पार्टीमा क्रियाशील रहे।
श्रेष्ठ नेकपाको प्रवक्ता र प्रचार विभाग प्रमुख पनि हुन्।
श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशको अन्यमा उम्मेदवार बनाएको थियो।
श्रेष्ठको यात्रा पहिलोपटक निर्वाचित सांसदका रूपमा संसदतर्फ लम्किएको छ।
श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई फराकिलो मतान्तरले पछि पारेर राष्ट्रिय सभा सांसद बनेका हुन्।
श्रेष्ठले तीन हजार चार सय ६२ मत ल्याउँदा रेग्मीका पक्षमा दुई हजार दुई सय ४४ मत मात्रै आएको थियो।
नेकपा सचिवालयमा अब उपाध्यक्ष वामदेव गौतम मात्रै सांसद छैनन्।
उनलाई पनि नेकपा सचिवालयले रिक्त एक पदमा सांसद बनाउन सरकारलाई सिफारिस गर्न आग्रह गरिसकेको छ।
तर अर्थमन्त्री युवराज खतिवडा वा गौतम कसलाई सांसद बनाउने भन्नेमा नेकपा नेतृत्व टुंगोमा पुगिसकेको छैन।
सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एक सांसद बुधबारसम्म मनोनित भएन। त्यसैले खतिवडा विना सांसद नै अर्थ र सञ्चार मन्त्री नियुक्त भएका छन्।
गौतम पनि २०७४ सालमा भएको चुनावमा बर्दियाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए। चुनाव हार्नुलाई गौतमले पार्टीभित्रकै अन्तर्घात भन्ने गरेका छन्।
गौतम पराजित भए पनि पाँच वर्ष कुर्ने धैर्य गरेका छैनन्। यसबीचमा उनले विभिन्न ठाउँबाट चुनाव लड्ने कोशिस गरे तर पूरा भएन।
गौतम राष्ट्रियसभा सदस्य हुने पर्खाइमै छन्। तर प्रतिनिधिसभामै गोरखामा चुनाव हारेका श्रेष्ठ भने बुधबारदेखि संसद जाँदैछन्।
लामो राजनीतिक यात्रा गरेका श्रेष्ठ तत्काल मन्त्री हुने संभावना कम छ। तर उनले पार्टीले जे जिम्मेवारी दिए पनि काम गर्ने बताउने गरेका छन्।
उपप्रधान, परराष्ट्र, गृहलगायत मन्त्री भइसकेका श्रेष्ठ राष्ट्रिय सभामा जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ। तर प्रतिनिधिसभामा चुनाव हारेका व्यक्ति त्यही कार्यकालमा राष्ट्रिय सभा सांसद हुँदा मन्त्री बन्न संविधान बाधक रहेको तर्क पनि छ। श्रेष्ठ पहिलोपटक सांसद भने भएका होइनन्।
यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावपछि सरकारले उनलाई पनि सांसद मनोनित गरेको थियो। त्यसबेला मन्त्रिपरिषदबाट मनोनित २६ जनामा श्रेष्ठ पनि परेका थिए।
दोस्रो संविधानसभा निर्वाचन २०७० मा श्रेष्ठ माओवादी केन्द्रबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर ४ मा उठे पनि पराजित भएका थिए।
श्रेष्ठको राजनीतिक जीवन भने उतारचढावकै रह्यो। उनले ०६५ सालमा तत्कालीन माओवादीसँग एकताकेन्द्र मसाल पार्टी मिलाए।
श्रेष्ठले करिब १७ वर्ष भूमिगत जीवन बिताएका छन्। बिपीबाट प्रभावित भएको बताउने श्रेष्ठ कांग्रेसको भातृ संस्था नेविसंघबाट राजनीति सुरू गरेको बताउने गर्छन्। वीपीबारे छापिएका लेख पढेर नै राजनीतिक चेत आफूमा आएको उनी बताउँछन्। उनले जनप्रशासनमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक गरेका छन्। उनी एचए भएर केही समय काम गरे।
सिद्धार्थ बनस्थली क्याम्पसमा श्रेष्ठले केही समय नेपाल परिचय विषय पनि पढाए। श्रेष्ठ तीन पटक जेल परेको बताउँछन्।
आफू १६ वर्ष हुँदा नै केन्द्रीय कारागार परेको उनले बताउने गरेका छन्।
उनी जनप्रशासन क्याम्पसमा स्ववियु सभापति थिए। २०३३ सालमा नेविसंघ नेता हुँदा उनी केन्द्रीय कारागारमा थुनिएका थिए।
पछि कांग्रेस छाडेर श्रेष्ठ मोहनविक्रम सिंह, निर्मल लामाले चलाएको नेकपा चौथो महाधिवेशनमा सामेल भए।
गोरखा जौवारी घर भएका श्रेष्ठका काइलाबुवा पनि २०१५ सालमै गोरखाबाट चुनाव उठेका थिए। तर जितेनन्। काइलाबुवा कम्युनिष्ट भएकोले आफू पनि त्यही धारमा लागेको श्रेष्ठले बताउने गर्छन्।