सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी गठन गरेको छ।
शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो। उक्त कमिटीमा खिमलाल देवकोटा र सुवासचन्द्र नेम्वाङ सदस्य छन्।
उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने हो भने पहिले राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधिसभा सदस्य जस्तै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए।
गौतमकै मागअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्न गृहकार्यका लागि नेता नेपालको संयोजकत्वमा कमिटी गठन गर्ने प्रस्ताव राखेका हुन्।
‘प्रतिनिधिसभा सदस्य र राष्ट्रियभा सदस्य समान रूपले प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न अध्ययनका लागि गृहकार्य गर्न कमिटी गठन गरिसकिएको छ,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, ‘आवश्यक परे राष्ट्रियसभा सदस्य पनि थप गर्ने कुरा भएको छ।’
संविधानमा राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था अहिले छैन।
यो कमिटी गठनमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको सहमति नरहेको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।
प्रधानमन्त्रीले सचिवालयमा विरोध गर्नु भएन भन्ने प्रश्नमा उनले भने, ‘हल्काफुल्का ढंगले प्रस्ताव आयो र घारघुरमै पारित भयो।’
प्रधानमन्त्री सहमति नरहे पनि उनले विरोध नगरेको ती सदस्यले बताए।
‘एक व्यक्तिको स्वार्थका लागि संविधान संशोधनजस्तो महत्वपूर्ण विषयमा यस्तो हल्काफुल्का प्रस्ताव आउँछ भन्ने मलाई लागेको थिएन,’ उनले भने।
सचिवालयले कमिटी गठन गरेको र त्यसमा आफूलाई सदस्य राखेकोमा नेम्वाङले आपत्ति जनाएको स्रोतको दाबी छ।
‘सचिवालयले कमिटी गठन गरेर सदस्य राखेपछि नेम्वाङले आफूसँग सल्लाहविनै किन सदस्य राखेको भनेर प्रश्न उठाउनुभएको छ,’ नेकपाका एक नेताले सेतोपाटीसँग भने।
शनिबार सचिवालय बैठकमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने गृहकार्य अघि बढाउन कमिटी गठन गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगेका थिए।
उक्त प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली मौन बसेको स्रोतको दाबी छ।
गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।