प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सांसदहरूले सुरक्षण मुद्रण (सेक्युरिटी) प्रेस खरिदबारे आफूहरूको नाम बदनाम गराइएकोमा आपत्ति जनाएका छन्।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्य रहेका नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले '४ अर्ब खाएको भनेर दुष्प्रचार गरिएको भन्दै बैठकमा ‘स्क्रिन सट’ देखाए।
'ती व्यक्तिलाई लेखा समिति सभापतिले बोलाएर किन/कसले भनेर लेखे सोध्नुपर्छ', रिजालले भने।
त्यस्तै, नेकपाका सांसद सूर्य पाठकले भने सञ्चार मन्त्रीसँगको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रले गरेको सार्वजनिक टिप्पणीमाथि पनि छानबिन गर्नुपर्ने बताए।
'मिश्र भन्ने जसलाई हामीले विज्ञ भनेर बोलाएका थियौं। उहाँले आज यो रेकर्ड सार्वजनिक नभएको भए लेखा समितिले जर्मन कम्पनीलाई ठेक्का दिन निर्देशन दिने भन्नुभएको छ', पाठकले भने, 'म यसको छानबिन गर्न माग गर्छु।'
पाठकले समिति सभापतिले ‘चार अर्ब खान’ लागेको विषय पुष्टि गर्नुपर्ने बताए।
त्यस्तै, समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राइले पनि मिश्रले संसदको गरिमामा प्रहार गरेको बताए।
'कि त मन्त्रीको जस्तै अडिओ सार्वजनिक हुनुपर्यो नभए यस्ता कुराले संसदको गरिमामा प्रहार गरेको छ', राईले भने।
त्यसअघि समितिमा सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेललाई सांसद रिजालले हप्काए।
सांसदहरूले सुरक्षण मुद्रणसँग भवनको कुरा जोडिएको विषयमा पौडेललाई प्रश्न गरेका थिए।
जवाफमा पौडेलले आफू सिभिल इन्जिनियर नभएको उल्लेख गर्दै भवन निर्माणबारे जानकारी नभएको टिप्पणी गरेका थिए। तर पौडेलको जवाफपछि रिजालले हलुका ढंगले प्रस्तुत भएको भन्दै हप्काए।
नेकपाका सांसद विरोध खतिवडाले सेक्युरिटी प्रेस खरिदका लागि फ्रान्स, स्वीट्जरल्यान्ड र जर्मनमा उच्चस्तरीय भ्रमण भएको विषमया प्रश्न गरेका थिए। 'कम्पनीको स्पोन्सर थियो भन्ने कुरा आएको छ। होइन भने सरकारले खर्च गरेको भए विवरण चाहियो', खतिवडाले प्रश्न गरेका थिए।
जवाफमा कार्यकारी निर्देशक पौडेलले जर्मन जाँदा सरकार आफैंले खर्च व्यहोरेको र फ्रान्स जाँदा फ्रान्स सरकारले नै व्यहोरेको बताए।
नेकपाकी सांसद धर्मशिला चापागाईंले समितिका पदाधिकारीले धेरैपटक जर्मन र फ्रान्स भ्रमण गरको पाइएको बताएकी थिइन्।
कम्पनीको उठबसका कारणले मूल्यांकन बढाइएको उनले आरोप लगाइन्। नेकपाकै सांसद सांसद सूर्य पाठकले आधुनिक प्रविधि दिनसक्ने अरु देशमा नेपाल सरकारले प्रयास नगरेको आरोप लगाए। यसबाट नियमित प्रतिस्पर्धा सीमित पारिएको हुनसक्ने बताए।
उनले कम्पनीको खर्चमा कर्मचारीहरू विदेश भ्रमणमा जानु उचित नभएको बताए। लेखा समितिले सुरक्षण मुद्रण खरिदमा विभिन्न देशले गरेका प्रस्तावित मूल्यमा ठूलो अन्तर भएको विषयमा प्रश्न उठाएको छ।
सम्बन्धित समाचारहरू:
सेक्युरिटी प्रेस खरिदमा लेखा समितिका प्रश्नैप्रश्न
खाएको विष लाग्छ, नखाएको लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्: गोकुल बाँस्कोटा
मन्त्री बाँस्कोटा मुछिएको सेक्युरिटी प्रेस प्रकरण के हो?