चौथो अधिवेशन समाप्त भएको चार महिनापछि कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन सुरु भयो। ढिला गरी सुरु भएको पाँचौ अधिवेशनअन्तर्गत माघ २४ गते बसेको पहिलो बैठकमा सांसदहरुले सभामुखले दिएको शून्य र विशेष समय प्रयोग गरे।
पहिलो बैठक फागुन १ गतेसम्मका लागि स्थगित भयो। १ गते बस्ने भनिएको बैठक पनि ‘बिजनेस’ नपाएपछि सूचना टाँसेर स्थगित गरियो। त्यसपछि फागनु ३ गते बसेको बैठक एकैपटक फागुन १८ गते बस्नेगरी १७ दिनसम्मका लागि स्थगित गरिएको छ ।
अगाडिका चारवटा अधिवेशनहरुमा हप्ता दिन पनि स्थगित नहुने सदनको बैठक यसपटक भने निकै लामो समयसम्मका लागि स्थगित भएको छ। यसरी संसद फुर्सदिलो बन्नुको कारण ‘बिजनेस’ नपाउनु भएको सभामुख राजबहादुर शाहीले बताए ।
‘यो पटक लामो समयसम्मका लागि बैठक स्थगित गरिएको छ, कारण भने त्यही बिजनेस नहुनु नै हो,’ उनले भने, ‘यो पटकको अधिवेशनमा एउटा वातावरणसम्बन्धी विधेयक पेश भएको छ, यसमा समय लाग्छ, अरु त केही आएको छैन।’
सभामुख शाहीका अनुसार पाँचौ अधिवेशनअन्तर्गत दोस्रो बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ‘वातावरण संरक्षण गर्न बनेको विधेयक, २०७६’ टेवल भएको छ। उनका अनुसार समितिमा भएका केही विधेयक र सरकारले ल्याउनुपर्ने विधेयकहरु ल्याउन आग्रह पनि गरिएको छ।
‘दुई/तीनवटा विधेयक संसदीय समितिमा छन्, १८ गतेसम्म समितिमा भएका र मन्त्रालयमा भएका विधेयक छलफल गरी सभामा ल्याउन भनेका छौं’ सभामुख शाहीले भने।
कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार अहिले चारवटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन्। खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक, प्रदेश उपभोक्ताको संरक्षणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक र निजी क्षेत्रको साझेदारीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेशमा स्वास्थ्य सेवा प्रवाहसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विभिन्न संसदीय समितिमा छलफलका क्रममा रहेको सचिव बुढाथोकीले जानकारी दिए।
कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले भने सरकारले विजनेश दिन नसकेको भन्ने विषयलाई अस्वीकार गरेकी छिन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेकी प्रवक्ता केसीले लामो समयसम्म बैठक स्थगित गर्नु संसद्को आफ्नो आन्तरिक कारण हुन सक्ने बताइन्।
‘सरकारले विधेयक नलिएको भन्ने कुरा होइन, कतिपय पठाईसक्यौं। केही तयारीमा छन्,’ मन्त्री केसीले भनिन्, ‘सदन स्थगित हुनुमा उहाँहरुको आन्तरिक कारण होला, सरकारले बिजनेश नदिएको त होइन।’
संसद् वैठक लामो समयसम्म स्थगित गरिएकोप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवन शाहीले भने आपत्ति जनाएका छन्। उनले प्रदेश सभा आफू फुर्सदिलो बन्नका लागि लामो समयसम्म सदन स्थगित गरिएको टिप्पणी गरे।
‘बिजनेस नभएको कारण सदन बन्द गर्नुपर्ने भयो भन्ने छ, संसदका अरु पनि महत्वपूर्ण भूमिका छन्,’ उनले भने, ‘हामीले यो प्रदेशलाई कसरी समृद्ध गर्न सक्छौं भन्ने विषयमा छलफल गर्न पनि सकिन्छ, समितिहरुको वैठक बस्न सक्ने प्रावधान छ। त्यो पनि गर्न सकिन्थ्यो। यति धेरै समयका लागि स्थगित गर्नुहुँदैन थियो।’