सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा आइतबार निर्विरोध सभामुख चयन भए।
नेकपाकै संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र नेकपाकै सांसदहरू देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटा सभामुख भए।
संसदका जेष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरेका राजपा संसदीय दलका नेता महन्थ ठाकुरले सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी परेकोले उनलाई निर्विरोध सभामुख चयन भएको घोषणा गरे।
सभामुख चयन हुनुपूर्व संसदमा बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सभामुख पद तटस्थ हुने भएकोले पार्टीले उम्मेदवारी नदिएको सुनाए।
सिन्धुपाल्चोकबाट सांसद भएका सापकोटा राजनीति गर्नुपूर्व शिक्षक थिए।
उनीमाथि द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्या आरोपमा सर्वोच्चमा मुद्दा छ।
आइतबार निर्विरोध सभामुख भएपछि सापकोटा खुसी देखिए। संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिएका छन्।
सापकोटा सभामुख भएपछि संसद भवनमै सांसदहरूले खादा लगाएर बधाई दिए।
हेर्नुस् तस्बिर:
z