धरानका रैथाने तिलक राई उपनिर्वाचनमा पनि पार्टीबाट टिकट पाउने ‘भाग्यमानी’ उम्मेदवार हुन्।
धरान उपमहानगरपालिकामा पुन: चुनाव हुँदा पार्टीले उनलाई सर्वसम्मत रोजेको थियो।
धरान यस्तो ठाउँ हो जहाँ पहिलो पटक भएको नगर चुनावमा वामपन्थी उम्मेदवार केदारनाथ खनालले चुनाव जितेका थिए।
२०४८ सालदेखि यता पनि चुनाव जित्दै आएको कम्युनिस्टको आधारक्षेत्रमा चुनाव लडेर जित्नु कांग्रेसका लागि चानचुने थिएन। २०७४ सालको चुनावी अंकगणितले पनि कांग्रेसले जितको सम्भावना देखाउँदैनथ्यो।
२०७४ सालमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला सुब्बा एमालेबाट एक्लै चुनाव लडेका थिए। कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए। मतान्तर ४ हजार ८ सय ७३ थियो। त्यो बेला माओवादीले ११ हजार मत ल्याएको थियो।
यसपालि एमाले र माओवादी मिलेर नेकपा बनेपछि ७४ सालमा कांग्रेसले पाएको भन्दा नेकपाको मत दोब्बर हुन्थ्यो। यस्तो बेलामा कांग्रेसले आफ्नो सम्भावना देख्नु ‘सपना’जस्तै थियो।
धरान कांग्रेसका सभापति समेत रहेका तिलक राईले भने त्यही सपना पछ्याए।
धरानका जनता जनप्रतिनिधिसँगको अपेक्षा, विकासको चाहना, स्थानीय तहमा बढेको करको भारजस्ता कारणले आममानिसमा असन्तुष्टि थियो।
राईले त्यसैलाई समाते। आफूले फरक गर्ने वाचा गरे। जनतामाझ आशा जगाए।
बहुदलपछिको २८ वर्षे इतिहासमा कहिल्यै कांग्रेसलाई नपत्याएका धरानबासीले यसपालि तिलकलाई मौका दिए।
चुनावको अन्तिम परिणाममा तिलकले नेकपाका प्रकाश राईलाई २७ सय ९५ मतले पराजित गरे। तिलकले २६,७०९ मत ल्याउँदा प्रकाशले २३,९१४ मत ल्याए।
चुनाव जितेपछि राईले धरानमा जनताले परिवर्तन खोजेको र त्यो आफूमा देखेको बताए।
‘मेरो सम्भावना टरेको नै चाहिँ थिएन, जित निकाल्न सजिलो छँदै थिएन तर जनताले परिवर्तन खोजेका थिए,’ राईले सेतोपाटीसँग भने, ‘यो जित जनताले चाहेको परिवर्तनको जित हो।’
मतगणना चल्दै गर्दा नेकपाको प्रभाव रहेका वडामा पनि पार्टीको पक्षमा सन्तोषजनक मत झरेको देखिएन। त्यो भोट आफूले तानेको राईले बताए। नेकपाका नेताहरू भने पार्टी भित्रको आन्तरिक समस्या लगायतको सिकार आफूहरू बनेको बताउँछन्।
चुनाव जित्ने राईले धरानवासीमाझ राखेका प्रतिवद्धता र एजेन्डा नौला थिएनन्। अघिल्ला पटक मेयर उठ्दाताका एजेन्डालाई नै उनले निरन्तरता दिएका थिए।
स्थानीय सरकारले राम्रो काम गर्न नसकेको असन्तुष्टी चिर्न निर्वाचित जनप्रतिनिधि मतदाताकहाँ पुगेनन्। अघिल्लो चुनावमा गरिएका प्रतिवद्धता पूरा नगर्दै मेयर तारा सुब्बाको मृत्यु भयो। बहुसंख्यक नेकपाका जनप्रतिनिधिले मेयर बितेपछि चुनावताका एजेन्डाहरू सम्बोधन गर्न सकेका थिएनन्।
राईले यो असन्तुष्टिलाई पनि आफ्नो पक्षमा पारे।
‘म निरन्तर पार्टीमा काम गरेको मान्छे। यहाँको हावापानी र मनोविज्ञान बुझेको मान्छे। समस्या बुझेको मान्छे। जनताले हिजो एउटा पक्षलाई जिताए। अपेक्षा अनुसार नतिजा प्राप्त भएन। आज मसँग अपेक्षा राखेका छन्, पूरा गर्छु,’ उनले भने।
जनप्रतिनिधिहरूले भ्रष्टाचार निर्मूल पार्न नसकेको गुनासो पनि धरानमा थियो। राईले धरान उपनगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता गरे।
देशैभरि जनताबाट उठाउने करमा विवाद थियो। उनले जनतामा लगाइएको करको भारी कम गर्ने उद्घोष गरे।
धरानमा खानेपानीको समस्या छ। खानेपानीको पर्याप्तता जनताले खोजेका थिए। व्यवस्थित बसपार्क र फोहोरमैलाको समुचित व्यवस्थापन होस् भन्ने चाहन्थे।
धरानलाई देशको उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र विमानस्थलको लागि पहल गर्ने उनले जनतालाई सुनाए।
बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका लगायत धरानभित्रै रहेका धार्मिक क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय नगरी बनाउने प्रतिवद्धता उनको थियो।
पहाडी जिल्ला जोड्ने राजमार्गलाई व्यवस्थित गरी धरानलाई सुन्दर सहरको रूपमा धरानको विकास गर्ने उनको योजनालाई जनताले अनुमोदन गरिदिएका छन्।
‘विकास देख्ने जनताको चाहना थियो, जनताको मनोविज्ञान परिवर्तन भयो, म जनताको भावनाअनुसार काम गर्छु,’ राईले भने।
उनको उम्मेद्वारीका पछि नेपाली कांग्रेस धरान एक ढिक्का उभिएको फाइदा पनि उनलाई भयो। अरू दलमा उम्मेदवार सिफारिसको सकस चलिरहँदा उनलाई नै उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय कांग्रेसले गर्यो।
तिलक राई, स्वर्गीय मित्रकुमार र गंगा राईका छोरा हुन्। उनी २०३१ साल कात्तिक २ गते धरानमै जन्मिएका थिए।
धरान-१८ मा उनको स्थायी बसोबास छ। धरानको डिपो माध्यमिक विद्यालयबाट एसएलसी पास राईले महेन्द्र बहुमखी क्यापस धरानबाट आइकमसम्मको अध्यन गरेका छन्। राई नेपाल विद्यार्थी संघको राजनीतिमार्फत कांग्रेसको राजनितिमा आएका हुन्।
२०४७ देखि नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति सुरू गरेका थिए। २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तिलक वडा नम्बर १८ को सदस्य पदको उम्मेदवार बने। पराजित भए।
त्यही साल २०५४ सालमा नेविसंघ धरान सचिव भएका थिए। २०५५ मा तरुण दल धरान नगर समिति सदस्य बने। २०५७ मा तरुण दल नगर अध्यक्ष भए।
२०६२ सालमा नेपाली कांग्रेस नगर सचिव भएका राई २०६६ सालमा धरान सभापतिको उम्मेदवार बने। तर, चुनाव जितेनन्।
२०७२ मा सम्पन नगर अधिवेशनमा धरानको सभापति बनेका राई २०७४ सालमा मेयरको उम्मेदवार बनेका थिए।
राई सामाजिक संघ-संस्थामा पनि सक्रिय नै थिए। उनी किराँत राई यायोख्याको केन्द्रीय अध्यक्ष भइसकेका छन्। नेपाल रेडक्रस सोसाइटी सुनसरी सचिव, उद्योग वाणिज्य संघको कार्यकारी सचिव, सप्तकोसी बस व्यवसायी संघका अध्यक्ष, नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष, नेपाल शारीरिक सुगठनको ‘ख’ श्रेणीको निर्णायक पनि हुन्।