सिरहाको कर्जन्हा नगरपालिकाले जनप्रतिनिधिको लागि सिलाउन दिएको सुट नलगेपछि टेलर्स सञ्चालकले लिलामीमा राखेका छन्। जनप्रतिनिधिले लामो समयसम्म सिलाएका सुट नलगेपछि टेलर्स सञ्चालकले ती सुट लिलामीमा राखेका हुन्।
नगरपालिकाले सिरहाकै सनलाइट टेलर्समा सुट सिलाउन दिएको थियो। सञ्चालक विशेश्वर मण्डलले आफ्नो मेहनत खेर जान लागेको भन्दै सुट लिलामीमा राखेको बताएका छन्।
‘पटक–पटक फोन गरेर सम्बन्धित व्यक्तिलाई सुट लैजान अनुरोध गरेँ, तर लैजानुुभएन, दसैंसम्ममा नलगे बेचिदिन्छु,’ उनले भने।
गत वर्षको माघ र फागुनबीचमा कर्जन्हा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत काशीराम गैरेले सिराहाकै अरु नगरपालिकाहरूले नगरसभा–गाउँसभाका लागि जनप्रतिनिधिलाई सुट उपलब्ध गराएको भन्दै मेयर–उपमेयरबाट सुट किन्ने निर्णय गराएका थिए।
सुट सिलाउन भन्दै गत वर्ष नगरपालिकाले ६ लाख रकम खर्च गरेको थियो। कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि र नगरप्रमुखका चालक समेतलाई सुट सिलाउन प्रत्येकलाई दस–दस हजार रुपैयाँका दरले ६ लाख रकम निकासा गरेको थियो।
‘हामीले पनि किन्नुपरो भनेर कुरा राख्नुभएको थियो। हामीले हुन्छ भन्यौँ। उहाँले तलबसँगै बैँक खातामा सुटका लागि दस हजार छुट्टै राख्दिनुभयो,’ नगरपालिकाकी उपप्रमुख ज्ञानु श्रेष्ठले सेतोपाटीलाई बताइन्।
प्रशासकीय अधिकृत गैरे भने वैशाखमै सरुवा भएर गइसकेका छन्। उप्रप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले जनप्रतिनिधिहरूलाई निकासा गरेको सो रकम अधिकांश जनप्रतिनिहरूले सुुट सिलाउन खर्च गरेनन्, निजी काममै पैसा खर्च गरे।
मेयरदेखि वडा सदस्यसम्म गरी ५९ जना जनप्रतिनिधिहरूको कपडा नगरपालिकाले किन्यो। सिलाउनका लागि टेलर्समा समेत दियो। तर, १०–११ जनाबाहेक अरु सबैले निजी कामका लागि रकम खर्च गरे।
मेयर गंगा पासवानले टेलर्स सञ्चालकसँग आफूले कुरा गरेको र छिट्टै नै उनको उधारो पैसा दिने व्यवस्था गर्न लागेको बताए। अहिलेसम्म मेयर गंगा पासवान, चालक हरि पासमान, वडा–५ का अध्यक्ष भूषण खाती, वडा ८ का अध्यक्ष प्रकाश अधिकारी र वडा ११ का अध्यक्ष कपिल यादवले मात्रै टेलर्सबाट सुट लगेका छन्।
वडा नम्बर ३ का अध्यक्ष कपलेश्वर यादव, ४ का अध्यक्ष टेकबहादुर सिंगार, ९ का अध्यक्ष बहादुर महरा, १० का अध्यक्ष जगदीश साहलगायत ३५ जनाको कोट, पाइन्ट र सर्ट तयारी अवस्थामा छन्।
मण्डलको टेलर्स सनलाइटमा जम्मा ४४ जना जनप्रतिनिधिहरूको कोट–पाइन्ट सिलाउन दिइएको थियो। जसमध्ये ११ जनाले लगिसके भने अहिले ३३ वटा कोट–पाइन्ट टेलर्समै थन्किएका छन्।
मण्डलका अनुसार प्रत्येक कोट पाइन्टको सिलाउने दर ५ हजार तोकिएको छ। मण्डलले भने, ‘पाँच हजार छ कोट सिलाइ मूल्य, ३३ वटा टेलर्समै थन्किएर राखिएका छन्। मेरो त डेढ लाखभन्दा माथिको पुँजी फसेको छ।’
जनप्रतिनिधिले सिलाएको कपडा नलगे दसैंपछि छ हजारको दरले बिक्री गरिदिने सञ्चालक मण्डलले बताए।कर्जन्हा नगपालिका वडा नम्बर ११ कि सदस्य रामसतीदेवी सदा भन्छिन्, ‘पैसा त अन्तै प्रयोग गरियो, कोट नगरपालिकाले ल्याइदिए लगाउने हो, नगरपालिकाले सबै जनप्रतिनिधिको एकै खालको सुुट बनाउनका लागि १० हजार दिएको थियो।’
कर्जन्हा नगरपालिकाका मेयर पासमान भन्छन्, ‘नगरसभामा सबै जनाको उस्तै लुगा देखियोस् भनेर पुरुष जनप्रतिनिधिका लागि कोट–पाइन्ट र महिलाका लागि सारीमा लगाइने कोट सिलाउने निर्णय गरेका थियौं।’