नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकमा चिनियाँ राष्ट्रपतिको सि चिनपिङको सम्भावित भ्रमणबारे चर्चा भएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपचारदेखि पेट्रोलियम पदार्थको पाइपलाइन उद्घाटन र चिनियाँ राष्ट्रपति सी चिनपिङको संभावित भ्रमणका विषयमा छलफल भएको हो।
बैठकमा प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो भेटबारे जानकारी गराएका थिए।
‘दुवै अध्यक्षले चिनियाँ विदेशमन्त्रीसँग भएको भेटबारे जानकारी गराउनुभयो, चिनियाँ राष्ट्रपति पनि छिट्टै नेपाल आउने कुरा रहेछ त्यो पनि जानकारी पाइयो,’ ती सदस्यले भने।
बुधबार दिउँसो साढे ४ बजेदेखि करिब डेढ घण्टा चलेको बैठकको अधिकांश समय प्रधानमन्त्री ओलीको ‘अपडेट’ सुनेर सकिएको सचिवालयका एक सदस्यले सेतोपाटीलाई बताए।
‘हामीले उहाँको उपचारका कुराहरू सुन्यौं, उपचार राम्रो भएको महशुस आफूले गरेको कुरा बताउनुभयो,’ ती सदस्यले सेतोपाटीसँग भने, ‘अब केही समयमा पूर्णरूपले काममा फर्किन सक्छु भन्नुभएको छ।’
डाक्टरहरूकै सल्लाह अनुसार प्रधानमन्त्री ओलीले आफ्ना दैनिक काम सरकारी निवास बालुवाटारबाटै गर्दै आएका छन्।
सिंगापुरमा उपचार गराएर गत शुक्रबार नेपाल फर्किएयता प्रधानमन्त्री ओली मंगलबार पेट्रोलियम पाइपलाइन उद्घाटन र बुधबार बिहान फलोअप उपचारका लागि बालुवाटारबाट बाहिर निस्किएका थिए।
बुधबारको सचिवालय बैठक त प्रधानमन्त्री ओलीले आराम गर्ने माथिल्लो कक्षमै बसेको थियो।
यस्तै, सचिवालय बैठकमा ओलीले भारतबाट आउने पेट्रोलियम पदार्थको पाइपलाइन उद्घाटन गरिएको कुरा पनि सदस्यलाई जानकारी गराएका थिए। ‘पाइपलाइन उद्घाटनबारे जानकारी गराउँदा प्रधानमन्त्रीज्यू प्रशन्न देखिनुभयो,’ सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।
यसैगरी नेकपा सचिवालयको आजको बैठकमा प्रदेश २ कमिटीमा भएको लफडाको विषयले पनि प्रवेश पाएको छ।
प्रदेश २ को विवादलाई सचिवालयले गम्भीर रूपमा लिएको र त्यसलाई पार्टी नेतृत्वले नै समाधान गर्नुपर्ने निष्कर्ष निकालिएको हो।
पार्टीका नेताहरूले आफू निकटकालाई काखी च्यापेर जिम्मेवारी दिएको भन्दै मंगलबार महोत्तरीको बर्दिबासमा नेकपाका दुई पक्षधरबीच झपड हुँदा एकजनाको टाउको फुटेको थियो।
यो पनि :
उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी