प्रदेश २ मा संविधान दिवस मनाउने कि नमनाउने भन्ने विषयलाई लिएर मन्त्रीहरुबीच विवाद बढेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ। यहाँ सत्तामा रहेका दुई पार्टीका मन्त्रीहरु दुई कित्तामा बाँडिएका छन्।
राजपाबाट मन्त्री बनेकाहरु असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने भनिरहेका छन् भने समाजवादी पार्टीका मन्त्रीहरु संविधान दिवस धुमधामले मनाउने बताउँदै आएका छन्।
राजपाका नेता एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल भव्यतापूर्वक संविधान दिवस मनाउनेबारे आफू लगायत राजपाका कुनै मन्त्रीलाई जानकारी नगराइएको बताउँछन्।
उनी भन्छन् ‘प्रदेश २ सरकारको मन्त्रिपरिषदबाट असोज ३ गते संविधान दिवसको रुपमा मनाउने निर्णय भएको सम्बन्धमा हामीलाई जानकारी छैन, उक्त बैठकमा म लगायत राजपाका अन्य मन्त्रीहरु समेत अनुपस्थित थियौँ।’
तर यस सम्वन्धमा पार्टीको निर्णय भइसकेकाले आफूहरु सो निर्णय अनुसार नै चल्ने मन्त्री सोनलले बताए। उनले संविधान संशोधनको विषयमा मुद्दा यथावत नै रहेकाले यथास्थितिमा संविधान दिवस मनाउनुको अर्थ नरहने बताए।
उनले भने ‘मधेशी जनतामाथि लाठीचार्ज गरेर, मधेशमा कर्फ्यु लगाएर ल्याइएको यो कालो संविधान हो, त्यसैले जबसम्म हामीले राखेका मागहरु संविधानमा समेटिँदैन, असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाइरहने छौँ।’
संविधानअनुसार गठन भएको प्रदेश सरकारमा मन्त्री हुने तर त्यही संविधानलाई कालो भन्न सुहाउँछ? भन्ने हाम्रो प्रश्नमा भौतिक मन्त्री सोनलले भने ‘हामी संविधानको केही बुँदालाई मात्रै स्वीकारेका छैनौँ, संविधानका विभेदकारी बुँदाहरुमा मात्र हाम्रो असहमति छ र जबसम्म यी बुँदाहरु संशोधन गरिँदैन असोज ३ लाई कालो दिनकै रुपमा मनाउने छौँ।’
यता समाजवादी पार्टीका नेता एवं प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव भने फरक धारणा राख्छन्। कानूनमन्त्री यादव भन्छन् ‘संविधानमा हाम्रो पनि असन्तुष्टी छ र संशोधन नभएसम्म रहीरहन्छ, तर हामीले संविधानको मर्मअनुसार नै सपथ लिएका छौँ।’
कानूनमन्त्री यादव अगाडि भन्छन् ‘हामीले संविधानलाई आलोचनात्मक रुपमा स्वीकारेका छौँ, तर सरकारमा रहेको कुरा बिर्सनु भएन।’ प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरे पनि उल्लासका साथ मनाउने स्थिति भने नरहेको कानूनमन्त्री यादवको भनाई छ।
गत मंगलबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले संविधान दिवस मनाउने निर्णय गरेको थियो। असोज २ गते सचेतनामूलक कार्यक्रम गर्ने, ३ गते कार्यालयहरुमा दिपावली र ४ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रम गर्नेगरी संविधान दिवको कार्यतालिका तय गरिएको छ।
तर राष्ट्रिय जनता पार्टी नेपालले केही दिनअघि मात्रै विगतको वर्षझैँ यस वर्ष पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको थियो।