प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गराएर आएपछि पहिलो पटक प्रतिनिधिसभामा आइतबार सम्बोधन गरे।
सम्बोधनको क्रममा उनले समसामयिक राजनीति, सरकारको कामकारबाही, शान्ति सुरक्षा, अख्तियारको कामबारे सदनलाई जानकारी गराए।
करिब आधा घन्टा सम्बोधन गरेपछि उनी आफ्नो सिटमा आएर बसे।
प्रधानमन्त्रीको सिटसँगै अर्को लहरमा प्रमुख प्रतिपक्षी शेरबहादुर देउवा बसेका थिए।
प्रधानमन्त्री ओली र देउवाले केहीबेर कुराकानी गरे। त्यसपछि दुबै जना उठे। प्रधानमन्त्रीले देउवाको हात समाउँदै बाहिर लगे।
ओली र देउवा बाहिर जान लागेपछि नेकपाका अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ उठेर आए। तीनै जना सभाहलबाट बाहिरिएर संसदको एउटा कोठामा गए।
तीन नेताबीच संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको नियुक्तिबारे छलफल भएको हुन सक्ने आँकलन गरिएको छ।
आजैको सम्बोधनमा प्रधानमन्त्री ओलीले साता दिनभित्र दुबै आयोगले पूर्णता पाउने बताएका थिए।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तीका लागि गत चैत १५ गते नै सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति बनाइएको थियो।
समितिले पदाधिकारी बन्न चाहनेहरूका लागि आवेदन खोलेर आएका निवेदनमाथि अध्ययन पनि गरिसकेको छ।
नेकपा र कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष पाउनु पर्ने अडान नछोडेपछि संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूको विषय अनिर्णित बनेको छ।
‘यो विषयमा प्रधानमन्त्री भन्दा पनि अर्का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बीचमा कुरा मिलिरहेको छैन,’ स्रोतले सेतोपाटीसँग भन्यो।
यही विषयलाई लिएर प्रचण्ड र देउवाबीच बारम्बार छलफल भए पनि उनीहरु निचोडमा पुग्न भने सकेका छैनन।
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा करिब ६३ हजार र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनसम्बन्धी आयोगमा तीन हजार १ सय उजुरी अलपत्र अवस्थामा छन्।