तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम २०७४ को प्रतिनिधि सभा चुनावमा पराजित भए। एमाले र माओवादी केन्द्रले चुनावमा तालमेल गरेका थिए। देशका अधिकांश ठाउँमा गठबन्धनका उम्मेद्वार विजयी हुँदा बर्दिया-१ मा वामदेव हारे। तत्कालीन एमालेबाट चुनाव हार्ने उनी एकमात्र ‘हेभीवेट’ उम्मेद्वार थिए।
चुनाव जितेपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो। पोहोर जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भयो। चुनाव जितेकाहरू सांसद भए कोही मन्त्री बने।
दुई पार्टीको एकता प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका वामदेव पार्टीमा जिम्मेवारी बाँडफाँड नहुँदा ‘कामविहीन’ बन्न पुगे।
केही समयअघि उनी काठमाडौं-७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर उपनिर्वाचनबाट सांसद बन्न खोजे।
पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएपछि उनको त्यो सपना पूरा हुन पाएन।
एमालेमा हुँदादेखि र एकतापछि पनि प्रचण्डसँग निकट सम्बन्ध भएका वामदेवले त्यसपछि भने प्रचण्डभन्दा अर्का अध्यक्ष ओलीसँग सम्बन्ध बढाउन थाले।
अहिले नेकपाभित्र मुख्य तीन गुट सक्रिय छन्। एकातिर पूर्वमाओवादी छन् भने अर्कातिर पूर्वएमाले। पूर्वएमालेभित्र ओली र नेता नेपालका आफ्नै गुट छन्।
वामदेव पछिल्लो समय पूर्वएमालेभित्रको ओली समूह र पूर्वमाओवादीलाई निकट बनाउन सफल देखिएका छन्।
त्यसैको परिणामस्वरूप शुक्रबारको सचिवालय बैठकमा दुबै अध्यक्षले वामदेवलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव ल्याएका छन्। जबकी नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था नै छैन।
विधानको धारा १८ ले दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव सहित ४४१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरेको छ।
‘पार्टी विधानमै नभएको कुरा आधिकारीक प्रस्तावका रूपमा आउँदा सुरूमा त हामी हेरेको हेर्यै भयौं,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, ‘पछि सामान्य छलफल गरेर अनुमोदनका लागि स्थायी समितिको बैठकमा पठाउने सहमति भयो।’
गौतमलाई उपाध्यक्षमा अनुमोदन गर्न नेकपाले आफ्नो विधान संशोधन गर्नुपर्छ, त्यसका लागि छिट्टै स्थायी समिति बैठक बोलाउने तयारी छ।
विधानमै नभएको पद सृजना गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव कसरी आयो भन्नेबारे अहिले नेकपा वृत्तमा चर्चा भइरहेको छ।
वामदेवका पछिल्ला केही अभिव्यक्ति र व्यवहारबाट उनी प्रचण्ड खेमाबाट ओलीतिर गएको अड्कल थियो।
जनताको जनवाद पार्टीको कार्यदिशा हुने निष्कर्षसहितको राजनीतिक दस्तावेज सार्वजनिक भइसकेपछि पनि त्यो मूलतः त्रुटीपूर्ण रहेको बताउँदै आएका वामदेव पछिल्लो समय जबजको पक्षमा देखिएका थिए।
उनको यो अभिव्यक्ति केपी ओलीसँगको निकटताको संकेत थियो भनेर धेरैले बुझे। केही समय प्रचण्ड निवास खुलमटारमा वामदेवको आउजाउसमेत भएन।
‘तर उहाँहरूबीच निक्कै धेरै खिचडी पाकिसकेछ। ओली, प्रचण्ड र वामदेव एकातिर भएर माधव नेपाललाई साइड लगाउने प्रक्रियास्वरूप गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव आएको हो,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, ‘प्रचण्ड र ओलीकै बीचमा पनि केही लेनदेन भएको हुनसक्छ, बिस्तारै पर्दा खुल्दै जाला।’
यसअघि ईश्वर पोखरेललाई कुनै पनि हालतमा स्कुल विभाग दिन हुँदैन भनिरहेका प्रचण्ड उनलाई स्कुल विभाग प्रमुख बनाउन राजी हुनुले ओलीसँग उनको नयाँ सहमति भएको हुन सक्ने सचिवालयकै नेताहरूको भनाइ छ।
यता पछिल्लो समय पार्टीको कार्यविभाजन विधिसम्मत नरहेको भन्दै विरोध जनाइरहेका माधव नेपाललाई जवाफ दिन पनि ओलीले गौतमलाई आफ्नो पक्षमा पारेका हुन सक्छन्।
त्यसको फलस्वरूप प्रदेश कमिटीका सहइन्चार्ज, विभागका प्रमुख र उपप्रमुखमा गौतम पक्षधर नेताहरू अटाएका छन्।
‘वामदेवलाई आफूतिर पारेर प्रचण्डको पनि सहमति लिन सकियो भने शक्ति सन्तुलनमा बलियो बन्न सकिने हिसाकिताब ओलीले शुक्रबारको सचिवालय बैठकबाट मिलान गरेका छन्,’ नेकपाका एक नेताले भने।
विधानमा व्यवस्था हुँदै नभएको पद सिर्जना गरी वामदेवलाई उपाध्यक्ष बनाउन ओली र प्रचण्डलाई केले एकमत बनायो भन्ने खुलिसकेको छैन। नेता नेपालले भने यसलाई आफूलाई कर्नरमा पारिएको रूपमा बुझेका छन्।
त्यही कारण हुन सक्छ उनी आज बैठकस्थलबाट सबैभन्दा पहिले बाहिर निस्किए र चुपचाप गाडी चढे।
लामो समय पार्टी चलाएका र संगठनमा बलियो पकड भएका नेता नेपालले वामदेवलाई अघि सार्ने ओली-प्रचण्ड रणनीतिलाई कसरी लिन्छन् हेर्न बाँकी छ।
काठमाडौं-७ मा रामवीरलाई हटाएर वामदेव सांसद बन्न खोज्दा चर्को आलोचना गर्ने नेकपाका नेता कार्यकर्ताले उनलाई विधानमै नभएको उपाध्यक्ष मान्छन् कि मान्दैनन् भन्ने अर्को प्रश्न पनि उब्जिएको छ।