धनुषामा जम्मा १८ वटा स्थानीय तह छन्। त्यसमध्ये एक हो, हँसपुर नगरपालिका।
जनप्रतिनिधि पाउँदा वर्षौंदेखि कामका लागि जनकपुरधाम धाइरहेका स्थानीय गाउँमै काम गराउन पाउन थाले तर हँसपुरवासीलाई भने त्यस्तो सहजता कहिल्यै महशुस भएन।
कारण जनप्रतिनिधिहरूबीचको असमझदारी र विमति।
हँसपुर नपामा राष्ट्रिय जनता पार्टी नेपालबाट जनप्रतिनिधि चुनिए। प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणुदेवी झा।
चुनावको बेला एक अर्काको तारिफमा जुटेका मेयर मण्डल र उपमेयर झाबीच सपथग्रहण ८ दिनपछि नै कार्यालयको केन्द्र सार्ने विषयमा तिक्तता बढ्न सुरू भयो।
मेयर मण्डल साविकको नपा कार्यालयबाट बेल्ही चोकमा कार्यालय राख्ने प्रस्ताव राखे भने उपमेर झा साविकको कार्यालय जहाँ छ त्यही हुनुपर्ने अडान राखिन्।
पछि मेयर मण्डलले आफूसँग दुई तिहाइ रहेको भन्दै कार्यालय बेल्ही चोकमा सारेर ल्याए।
मेयर मण्डल भन्छन्, ‘मैले एक्लैले कार्यालय सारेर ल्याएको होइन मसँग दुई तिहाइको सहमति छ।’
साविकको कार्यालय बघचौडामा भवन राम्रो नभएकाले र सेवाग्राहीहरूलाई समेत सेवा लिन अप्ठ्यारो भएकाले आफूहरूले उक्त निर्णय गरेको उनले बताए।
मेयर मण्डलले आफूले कानुन बमोजिम नै अस्थायी कार्यालयको स्थापना गरेका दाबी गरे।
उनले भने, ‘हाम्रो कार्यपालिकाको निर्णय हो यो ९ वटा वडामध्ये २ नम्बर वडाबाहेक सबैले सहमति जनाएका छन्। फेरि हामीले अस्थायी कार्यालय स्थापना गरेका छौं जो कि पूर्ण रूपले कानुनसम्मत नै छ।’
उपमेयर झाले भने मेयर मण्डल सुरूदेखि नै केन्द्र सार्ने विषयलाई विवादमा ल्याएर योजनाहरू यताउती गर्न खोजेको आरोप लगाइन्।
‘मेयर साबलाई यहाँ बसेर योजना बाँडफाँट गर्न समस्या भइरहेको थियो। किनभने यहाँ हस्तक्षेप गर्ने म थिएँ बेल्हीमा लगेपछि उहाँलाई सहज भएको छ सबै आफ्नै मान्छे छन् अनि किन विवादित नबनाउनु साधारण विषयलाई?,’ उपमेयर झाले भनिन्,‘सबभन्दा पहिलो कुरा उहाँलाई कार्यालय नै सार्नु थियो भने आर्थिक मसान्त समाप्त भएपछि छलफलमार्फत् निष्कर्ष लगाउन सकिन्थ्यो नि उपभोक्ता समितिहरूले गरेका कामहरूको पैसा नै हस्तान्तरण गर्ने बेला किन यो बखेडा झिक्नुभयो त यो सरासर पैसा चलखेलको मामिला छ अरु केही होइन?’
मेयर र उपमेयरबीच विवाद हुँदा नगरपालिकाको काम प्रभावित भएको छ भने हँसपुरवासी समेत आजित भइसकेका छन्।
वडा नम्बर २ का स्थानीय रामरतन पासमान भन्छन्, ‘मेयर/उपमेयर जीको विवादले हामी जनता मारमा परेका छौं। वैशाखमै सडक निर्माणको काममा मिस्त्रीको काम गरेको थिएँ तर चार महिना भयो एक पैसा पाएको छैन।’
निर्वाचित भएदेखि नै विवादित रहेको हँसपुर नपाको समाधान नहुनु दु:खद रहेको पासमानको भनाइ छ।
मेयर उपमेयरबीचको विवादका कारण आफूहरू अहिले पनि हिलाम्य सडकमा हिँड्न बाध्य भएको स्थानीय पल्टी देवी बताउँछिन्।
उनी भन्छिन्, ‘प्रत्येक वर्ष बजेट आउँछ तर काम हुने बेला विवाद हुन्छ र त्यसको मार हामी भोग्छौं वर्षातको समयमा सामान्य हिँडडुल गर्न समेत जोखिम हुने गरेको पल्टीको भनाइ छ।
’ठूल्ठूला खाल्डाखुल्डी छन् ती सबैमा पानी भर्छ थाहा नै हुँदैन कहाँ सडक छ कहाँ खाल्डो, यस्तोमा जनप्रतिनिधि आए पनि नआए बराबर नै छ हामी पहिला पनि दु:ख कष्टमै थियौं अहिले पनि दु:ख कष्टमै छौं’, पल्टीले सेतोपाटीसँग भनिन्।
धनुषाका अन्य पालिकाहरूमा विवाद रहे पनि यति लामो भने चलेको थिएन।
हँसपुर नपाको विवाद समाधानका लागि मेयर र उपमेयर आफूहरू छलफलमार्फत् टुंग्याउन तयार रहेको दाबी गर्दै आए पनि हालसम्म उनीहरूबीच छलफल समेत हुन सकेको छैन।
राजपा नेपालका महासचिव केशव झाले भने विवाद समाधानका लागि पटक पटक छलफल भएता पनि नसल्टिएको बताए।
उनले भने, ‘हामीले विवाद समाधानका लागि पटक/पटक प्रयास गरेका छौं तर उहाँहरूबीचको विवाद समाधान हुनसकेको छैन।’
मेयर र उपमेयरमध्ये कुनै एक जनाले निवेदन दिए आफू विवाद समाधानका लागि पहल गरिदिने महासचिव झाले बताए।