नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा पदभार ग्रहण गरेका छन्।
बुधबार दिउँसो चार बजेपछि शितल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको सपथ लिए। सपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।
सिंहदरबार पुग्दा कर्मचारीले उनलाई फूलमालाले स्वागत गरेका थिए।
नवनियुक्त मन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन्।
मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताए।
‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला,’ बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले भने।
भट्टराई पहिलो पटक मन्त्री बनेका हुन्।
२०७४ फागुन ३ गते गठन भएको केपी शर्मा ओली क्याबिनेटमा उनीमात्र यस्ता मन्त्री हुन् जसले एक्लै सपथ खाए, त्यो पनि सरकार गठन भएको १७ महिनापछि।
तस्बिरहरू: