नेपाल सरकारले प्रतिबन्ध लगाए यता कर्णाली प्रदेशमा विप्लव समूहका ८१ जना कार्यकर्ता पक्राउ परेका छन्।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पार्टी कार्यकता, विद्यार्थी संगठन, युवा संगठनलगायत विभिन्न क्षेत्रमा क्रियाशील ८१ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै नेपाल सरकारले २०७५ फागुन २८ गतेदेखि विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
कर्णाली प्रदेशमा सबभन्दा धेरै सल्यानबाट पक्राउ परेका छन्। सल्यानबाट मात्र १९ जना विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन्।
कर्णाली प्रदेशका सुर्खेतबाट १४, दैलेखबाट ८, जाजरकोटबाट ६, सल्यानबाट १९, रुकुम पश्चिमबाट १२, जुम्लाबाट ५, मुगुबाट ८, डोल्पाबाट ३ र कालिकोटबाट ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
हुम्लाबाट भने विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छैनन्। कालिकोट विप्लवका नेता प्रकाण्डको क्षेत्र रहेको भए पनि हालसम्म ६ जनामात्र पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये ६९ जना जनालाई छोडिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये केही धरौटीमा छुटेका छन् भने केही मुद्दा नचल्नेगरी छुटेका जनाइएको छ। यस्तै, पक्राउ परेकामध्ये हालसम्म ७ जना पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
५ जनाविरूद्ध अहिले पनि मुद्दा चलिरहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साउनभन्दा अघि पक्राउ परेका ७५ जनामध्ये ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने बाँकी छुटिसकेका छन्।
साउन १ गते यता पक्राउ परेका ६ जनामध्ये ५ जनाविरूद्ध मुद्दा चलिरहेको र १ जनालाई जमानीमा छाडिएको छ।
पक्राउ परेकामध्ये १३ जनालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरूद्धको कसूर, ८ जनालाई बम विष्फोट तथा विष्फोटक पदार्थसम्बन्धी कसूर, २३ जनालाई सार्वजनिक शान्ति सुरक्षाविरूद्धको कसूर, ३ जनालाई शरीर बन्धक तथा अपहरणसम्बन्धी कसूरमा मुद्दा चलाइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमल्सेनाले जानकारी दिए।
यस्तै, ६ जनालाई राज्यविरूद्धको अपराध कसूर, ६ जनालाई अभद्र व्यवहारसम्बन्धी कसूर, ३ जनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसूर, १ जनाविरूद्ध संगठित अपराधसम्बन्धी कसूर, १ जनाविरूद्ध चन्दा अपराधसम्बन्धी कसूरमा मुद्दा चलाइएको उनले जानकारी दिए।
कर्णाली प्रदेशमा पक्राउ परेका विप्लव कार्यकर्ताहरु अधिकांस धरौटीमा छुटेका छन्। उनीहरूबाट धरौटीवापत ८ लाख ५१ हजार रुपैयाँ संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कर्णाली प्रदेशमा सुरक्षा चुनौतीमध्येको प्रमुख भनेको विप्लव समूह रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बताए। सामाजिक रूपमा हुने हिंसाजन्य घटनासँगै वर्तमान समयमा विप्लव समूह कर्णाली प्रदेशका लागि पनि सुरक्षा चुनौतीका रूपमा रहेको उनको भनाइ छ।