आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ।
बैठक भोलि (सोमबार) दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ट्वीटरमार्फत् जानकारी दिए।
यसअघि आज दिउँसो सचिवालय बैठक बसेर पार्टीका विभागहरू र जनवर्गीय संगठनका इन्चार्ज/सहइन्चार्ज टुंगो लगाउने नेकपाले जनाएको थियो।
‘तर बालुवाटारबाट प्रधानमन्त्रीज्यू बिरामी परेको र दुई अध्यक्षबीचको गृहकार्य नसकिएको भन्दै बैठक स्थगित भएको खबर आयो,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।
बिरामी भनिएता पनि प्रधानमन्त्री ओली आइतबार बिहान सोल्टी होटेलमा भएको एउटा कार्यक्रममा सहभागी भएका छन्।
सचिवालय सदस्यलाई बैठक स्थगितको खबर पठाउनुअघि आज बिहान ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।
स्कुल विभाग प्रमुखका विषयमा उनीहरूबीच सहमति नभएपछि बैठक स्थगित भएको खबर पठाएका हुन्।
नेकपाका महत्वपूर्ण विभागहरूमध्ये विदेश, संगठन, अर्थ तथा योजना र नीति तथा प्रतिष्ठान विभाग आफ्नो भागमा लिइसकेको पूर्वएमाले पक्षले स्कुल विभाग पनि आफूहरूले नै राख्नुपर्ने अडान छोडेको छैन। पार्टी समिकरणमा सबै महत्वपूर्ण विभाग पूर्वएमालेका नेतालाई मात्रै हुन नहुने तर्क पूर्वमाओवादी केन्द्र पक्षको छ।
पार्टी स्कुल विभाग प्रमुखमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन्।
पोखरेललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र श्रेष्ठलाई अर्का अध्यक्ष प्रचण्डको साथ छ।
नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ मध्ये ३२ वटा विभागको भागबन्डा मिलिसकेको छ।
स्कुल विभाग विभागको नेतृत्वमै नेताहरूबीच सहमति नभएपछि यसअघि डाकिएका दुइटा सचिवालय बैठक स्थगित भएका थिए।
नौ जना सचिवालय सदस्यमध्ये वामदेव गौतम र नारायणकाजी श्रेष्ठमात्रै सरकार र संसदीय जिम्मेवारीमा नरहेकाले पार्टी कामको महत्वपूर्ण जिम्मेवारी दुई नेतालाई दिनुपर्छ भन्ने तर्क पूर्वमाओवादी पक्षको छ भने पूर्वएमाले पक्ष स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेमा विभाजित छ।
सचिवालय सदस्यमध्येबाटै झलनाथ खनालले समेत स्कुल विभागको जिम्मेवारी दिए आफूले लिने बताइसकेका छन्।
यद्यपी यसअघि भएका छलफलमा खनाल पार्टीको नीति तथा प्रतिष्ठान विभागको प्रमुख बन्न सहमत भएका थिए।दुई नेताको नाममा सहमति जुट्न सकेन भने छलफलको दायरा अलि फराकिलो पारिने नेताहरूले बताएका छन्। सकेसम्म श्रेष्ठ र पोखरेलमध्ये एकजनामा सहमति जुटाउने प्रयास हुनेछ।
त्यसो हुन नसके सचिवालय सदस्यबाटै विकल्प खोज्ने या स्कुल विभाग अहिलेका लागि अध्यक्षहरूले नै राख्ने विकल्पमा पनि छलफल गर्ने तयारी दुई अध्यक्षको छ।
स्कुल विभागको नेतृत्व नेतृत्व सचिवालयभन्दा तल जाने सम्भावना निकै न्यून रहेको स्रोतले बताएको छ।
पूर्वएमालेमा स्कुल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली नै थिए भने पूर्व माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठले नै स्कुल विभागको नेतृत्व सम्हाल्दै आएका थिए।