धनुषाको हँसपुर नगरपालिकाको मेयर /उपमेयरबीच विवादले सर्वसाधारणले सास्ती खेप्नु परेको छ। हँसपुरका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीच विवाद बढ्दै जाँदा अहिले उनीहरूले कार्यालय नै बेग्लाबेग्लै सञ्चालन गरेपछि सेवाग्राही मर्कामा परेका हुन्।
उपप्रमुख झासँग विवाद भएपछि प्रमुख मण्डलले नगरपालिकाको कार्यालय हँसपुरको बेल्ही चोकमा कार्यालय स्थापना गरेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविककै कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आएकी छिन्।
उनको घर समेत बघचौडामै छ। कार्यालय बेल्ही चोकमा लगिए पनि त्यहाँ नगरपालिकाको कुनै प्रकारको बोर्ड राखिएको छैन। बोर्ड बघचौडास्थित नगरपालिकाको साविककै कार्यालयमै छ। दुवै जना राजपाबाट निर्वाचित जनप्रतिनिधि हुन्।
नगरप्रमुख मण्डलले गत साउन ३ गते नगरपालिकाको कार्यालय बेल्ही चोकमा सारेका थिए। प्रमुख मण्डलले बहुमत जनप्रतिनिधिबाट निर्णय लिई आफूले कार्यालय सारेको दाबी गरिरहेका छन्। उपप्रमुख झा भने प्रमुख मण्डलले नगरपालिकाको कार्यालय जबरजस्ती आफूखुसी सारेको आरोप लगाउँछिन्।
उनले भनिन्, ‘प्रमुखज्यूले बहुमतको आधारमा र कानुनसम्मत कार्यालय सारेको भन्दै हुनुहुन्छ। कानुनसम्मत नै थियो भने राति-राति किन सार्नुपर्यो? दिउँसो नै सारे हुन्थ्यो नि?’
प्रमुख मण्डलले आफूहरूले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बेल्ही चोकमा कार्यालय सञ्चालनमा ल्याएको प्रतिक्रिया दिए। उनले भने, ‘साविकको कार्यालयमा ठाउँ अपुग भएपछि हामीले बेल्ही चोकमा कार्यालय सार्यौं। यहाँ पुग्न सेवाग्राहीलाई कठिन हुँदैन, काम पनि सहजै हुन्छ।’
उपप्रमुख झा साविककै कार्यालयमा बस्दै आइरहेकी छिन्। नगरपालिकाका सबै कर्मचारी नयाँ सारिएको कार्यालयमा बसेर काम गर्दै आइरहेका छन्। प्रमुख मण्डलकै निर्देशनमा सबै कर्मचारी बेल्ही चोकमा सारिएको कार्यालयमा बस्दै आएकी उपप्रमुख झाको आरोप छ।
‘बघचौडामा कार्यालय हुँदा उहाँलाई मनोमानी गर्न समस्या थियो। त्यसैले कानुन मिचेर अन्यत्र कार्यालय सार्नुभएको छ। जसले गर्दा उहाँलाई मनोमानी गर्न सहज भएको छ,’ उपप्रमुख झाले सेतोपाटीसँग भनिन्।
प्रमुख तथा उप्रमुखले अलग-अलग कार्यालय सञ्चालनमा ल्याएपछि आफूहरूलाई एउटै कार्यका लागि दुई स्थान धाउनुपरिरहेको सेवाग्राहीहरूको गुनासो छ।
हँसपुर नगरपालिका वडा नम्बर ३ कठफुल्लाका स्थानीय राहुल सिंह भन्छन् ‘कुनै-कुनै काममा मेयर/उपमेयर दुवैको आवश्यकता पर्ने हुन्छ। त्यतिबेला यहाँबाट त्यहाँ ओहोरदोहोर गर्दा हैरानी हुन्छ। उहाँहरुबीचको विवादले हामीलाई काम गराउन एकदमै असहज भएको छ।’