नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्दै छ।
दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पार्टीका विभागको नेतृत्वको टुंगो लगाउने प्रयास गर्नेछ।
आजकै बैठकबाट जिल्लाका इन्चार्ज, सहइन्चार्ज, विभिन्न आयोग र मञ्चको पनि टुंगो लगाउने तयारी सचिवालयले गरेको छ।
सचिवालय बैठक बस्नुअघि आफ्नो भागमा परेका विभागको नेतृत्व कसलाई दिने भन्नेबारे छलफल गर्न आइतबार बिहान पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा भएको छ।
सो बैठकले आफूहरूले पाएको विभागको नेतृत्वबारे मोटामोटी टुंगो लगाएको र दिउँसो बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बैठकमा सहभागी एक स्थायी समिति सदस्यले सेतोपाटीलाई जानकारी दिए।
‘बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी लिनुस् भनियो तर उहाँले स्कुल विभाग नछोड्ने बताएपछि सचिवालयमै टुंगो लगाउने गरी हामी उठ्यौं,’ ती स्थायी समिति सदस्यले भने।
पूर्वमाओवादी केन्द्रका नेताहरूले जनताको बहुदलीय जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्छ भनी वकालत गरिरहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टीको नीति कार्यक्रम र कार्यदिशाबारे छलफल चलाउने स्कुल विभागको जिम्मेवारी दिन नहुने तर्क गरेका छन्।
‘बरु स्कुल विभाग पार्टी अध्यक्षहरूले नै राख्दा हामी सहमत छौं तर ईश्वर कमरेडलाई जिम्मेवारी दिने विषयमा छलफल गरियोस् भन्ने हाम्रो धारणा हो,’ एक नेताले भने।
यही विषयमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पनि छलफल भएको थियो।
स्कुल विभागमा श्रेष्ठ र पोखरेलको दाबेदारी भएपछि यसलाई पार्टी अध्यक्षले नै राखौं भनेर उनीहरूले छलफल सकेको स्रोतले बतायो।
आजको बैठकमा पनि श्रेष्ठ र पोखरेलले स्कुल विभागको दाबेदारी छोडेनन् भने तत्कालका लागि स्कुल विभागको जिम्मा अध्यक्षद्वयले लिनेछन्।
स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षधरले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन।
पार्टीका दुई अध्यक्षबीच बारम्बार भइरहेका संवादमा महत्वपूर्ण छ विभागमध्ये संगठन, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान पूर्वएमाले तथा आर्थिक र प्रचार विभाग पूर्व माओवादी केन्द्रले लिने अनौपचारिक समझदारी बनेको थियो। तर स्कुल विभागको नेतृत्वमा दुई नेताले दाबी गरेपछि कुरा मिल्न समय लागेको हो।
नेकपाका ३२ विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ मा पूर्वमाओवादीले नेतृत्व गर्दैछन्।
यसैगरी शीर्ष नेताहरूले केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोग गठनमा पनि सहमति जुटाएका छन्।