नेपाल कम्युनिष्ट पार्टीमा मुख्य विभागहरूको नेतृत्वारे सहमति नजुट्दा पार्टी एकता प्रक्रिया लम्बिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार दुई अध्यक्षबीच भएको लामो छलफलमा पनि पार्टीका पाँच मुख्य विभागको नेतृत्व कसले गर्ने भन्ने निष्कर्ष निस्किएन।
पार्टीको संगठन, स्कुल, प्रचार, विदेश र आर्थिक विभागको नेतृत्व सचिवालय सदस्यबाटै लिनु पर्नेमा शीर्ष नेताहरू सहमत भए पनि कुन विभागको इन्चार्ज को हो हुने भन्नेबारे विवाद कायमै छ।
सचिवालय सदस्य माधवकुमार नेपालले विदेश विभागको नेतृत्व गर्न चाहेका छन्। तर पूर्वमाओवादीको विदेश विभाग प्रमुखसमेत रहेका नारायणकाजी श्रेष्ठले पनि विदेश विभाग या स्कुल विभाग प्रमुख बन्ने इच्छा देखाएका छन्।
पार्टी प्रवक्तासमेत रहेकाले प्रचार विभाग प्रमुख बन्न शीर्ष नेताहरूले आग्रह गरे पनि श्रेष्ठले भने सो प्रस्ताव अस्वीकार गरेको स्रोतले सेतोपाटीलाई बतायो।
स्कुल या संगठन विभागमा ईश्वर पोखरेलको दाबी छ भने प्रधानमन्त्री ओली रामबहादुर थापा बादल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाउन चाहन्छन्।
गौतम स्वयं पनि पार्टीले आफूलाई उचित जिम्मेवारी दिनु पर्ने बताउँदै आएका छन्।
यता बादल यसअघि नै संगठनको काममा पार्टी महासचिव धेरै लाग्नु पर्ने भएकाले त्यसको जिम्मेवारी विष्णु पौडेललाई दिँदा उपयुक्त हुने भन्दै तर्किसकेका छन्। तर महासचिव पौडेलको दाबी भने आर्थिक विभागमा छ।
यस्तै साविककै जिल्ला इन्चार्जहरूलाई जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने विषयमा नेताहरूबीच यसअघि नै सहमति भइसकेको छ।
सहमति अनुसार ६०/४० को भागबन्डाअनुसार ४४ जिल्लामा पूर्वएमाले र ३३ जिल्लामा पूर्वएमाओवादीका तर्फबाट जिल्ला इन्चार्जको नेतृत्व लिनेछन्।
यसैगरी शीर्ष नेताहरूले केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोग गठनमा पनि सहमति जुटाएका छन्।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै तयारी पूरा गरेर साउन ५ गते सचिवालय बैठक बस्ने र पार्टीको सांगठनिक एकताको काम सक्ने जानकारी दिए।
केही दिनअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले एकीकरण प्रक्रिया टुंगो लगाउन आज साँझसम्मको भाका दिएका थिए।