कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रभावकारी रूपमा विपद व्यवस्थापन कार्यमा लाग्न निर्देशन दिएका छन्।
कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद्को सोमबार बसेको बैठकमा मुख्यमन्त्री शाहीले बर्खाको समयमा विपद्का समस्या बढी आउने हुँदा यसको व्यवस्थापनका लागि लाग्न निर्देशन दिएका हुन्।
उनले सरकारका सबै संयन्त्र एकीकृत रूपमा उद्धार तथा व्यवस्थापन कार्यमा लगाउनु पर्नेमा जोड दिए। विपद प्रभावितहरूको तत्काल उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रबन्धका लागि सबै निकाय एकीकृत रूपमा परिचालन हुन आग्रह गरे।
सरकारको तर्फबाट उद्धार तथा विपद व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता जनाए।
उद्धार तथा अन्य सामग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन उनले आग्रह गरे।
कर्णाली प्रदेशभित्रका कुनै पनि मुख्य राजमार्ग बाढीपहिरोका कारण अवरूद्ध हुन नदिन मुख्यमन्त्री शाहीले निर्देशन दिए।
राप्ती लोकमार्ग, कर्णाली राजमार्ग र जाजरकोट–डोल्पा सडकमा ४० किलोमिटरको दूरीमा डोजरसहितको क्याम्प खडा गरेर बस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइएको छ।
कर्णालीका दुर्गम जिल्लामा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुर्खेतमा एउटा हेलिकप्टर तयारी अवस्थामा रादिने मुख्यमन्त्री शाहीले बताए।
यसैगरी, विपद व्यवस्थापन परिषदले डोल्पा लगायतका जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।