भारतका पूर्वविदेश सचिव श्यामशरणले काठमाडौं आएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि पछिल्लो समय बालुवाटारमा खैलाबैला मच्चिएको खुलेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले सेतोपाटीलाई दिएको जानकारीअनुसार असार दोस्रो साता श्यामशरण दिल्लीबाट काठमाडौं झरे। उनी नेकपा अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगे। प्रचण्डसँग कुराकानी गरेर उनी दिल्ली फर्किए। प्रचण्ड र श्यामशरणको यो ‘गोप्य’ भेटबारे प्रधानमन्त्री ओलीले केही दिनसम्म सुइँकोसमेत पाएनन्।
‘नेपालका मामिलामा खुब चासो राख्ने पूर्वभारतीय राजदूत श्यामशरणको आवागमन र भारतीय राजदूत मञ्जिवसिंह पुरीसँगले पनि प्रचण्डसँग भेटघाट थालेपछि प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रसँग छलफल गर्नुभएको हो,’ स्रोतले भन्यो।
सेतोपाटीसँग कुरा गर्दै ओली मन्त्रिमण्डलका एक सदस्यले पनि सो कुराको पुष्टि गरे।
यही छलफलपछि प्रधानमन्त्रीको ‘कोर’ टिमका सदस्यद्वय विष्णु रिमाल र राजन भट्टराईले सरकारविरूद्ध भित्री बाहिरी शक्तिहरूले चलखेल गरेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस समेत लेखेका थिए।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल सम्पूर्ण रूपमा भारतविरोधी थियो, भारतले त्यो कुरालाई आफ्नो प्रतिष्ठासँग जोडेको हुनुपर्छ, त्यसैले पनि भारतीयहरू अर्का अध्यक्ष प्रचण्डजीसँग नजिकिएका छन्,’ सरकारका एक मन्त्रीले भने।
भारतीय तकारीमा विषादी परीक्षण गर्ने विषयमा विभिन्न मन्त्रीले गरेका फरक-फरक कुरा र भारतीय पत्रबारे प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोलेको कुरा पनि अहिले आएर यी भेटघाटसँग जेलिन पुगेको छ।
प्रधानमन्त्री स्वयंले पनि नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा भारतीय पत्रबारे अर्का अध्यक्ष प्रचण्डले थाहा पाएर पनि आफूलाई केही पनि नभनेको संकेत गरेका छन् ।
पढ्नुहोस्-
प्रधानमन्त्रीको यही भनाइलाई पुष्टि गर्दै स्रोतले सेतोपाटीसँग भन्यो, ‘भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमा भारतीय तरकारीमा विषादी परीक्षण नगर्नू भनेर पत्र पठाएछ, त्यही पत्र बोकेर राजदूत प्रचण्डलाई भेट्न खुमलटार पुगेछन्, त्यसपछि प्रचण्डले उद्योगमन्त्री मातृका यादवलाई फोन गरेर विषादी परीक्षणको प्रक्रिया रोक्न निर्देशन दिनुभयो।’
पछिल्लो समय सरकारको नेतृत्वमा आलोपालो गर्ने र पार्टीभित्रको शक्ति सन्तुलनका विषयमा ओली र प्रचण्डबीच मतभेद छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथमा सहभागी ओली नयाँदिल्ली गएका बेला प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने सहमतिबाट ओली पछि हट्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने बताएका थिए।