नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका पुरानै इन्चार्जहरूलाई जिम्मेवारी दिनेगरी मापदण्ड तय गरेको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालबीच निरन्तर भएका छलफलहरूबाट उक्त सहमित भएको हो।
‘पहिले जिल्ला अध्यक्ष र सचिव तोक्दा अपनाइएको मापदण्डअनुसार नै अब इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाइनेछ,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।
पहिलेकै मापदण्डमा जाँदा अब पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज भएको ठाउँमा पूर्वमाओवादीका सहइन्चार्ज र पूर्वमाओवादीका तर्फबाट इन्चार्ज तोकिएका ठाउँमा पूर्वएमालेका नेता सहइन्चार्ज हुनेछन्।
‘पूर्वएमाले र पूर्वमाओवादीलाई ६०-४० को अनुपातमा हिसाब मिलाइएको छ,’ ती सचिवालय सदस्यले भने,‘माधव नेपाल कमरेड श्रीलंकाबाट फर्किनेबित्तिकै इन्चार्ज र सहइन्चार्जको घोषणा गरिनेछ।’
श्रीलंकन कम्युनिष्ट पार्टीको निमन्त्रणमा श्रीलंका गएका नेपाल २८ गते स्वदेश फर्किँदैछन्।
यही मापदण्डमा जिल्ला अध्यक्ष र सचिव छान्दा ४४ वट जिल्लामा पूर्वएमाले र ३३ वटा जिल्लामा पूर्वमाओवादी केन्द्रले नेतृत्व लिएका थिए।
इन्चार्ज र सहइन्चार्जको मापदण्डमा नेताहरूबीच कुरा नमिलेपछि नेकपाभित्रको एकता प्रक्रिया अलमलिएको थियो। प्रधाननमन्त्री ओलीले दोहोरो जिम्मेवारी पनि दिनेगरी नेताहरूको कार्यविभाजन गर्नुपर्ने बताउँदै आएका थिए भने नेता नेपालले दोहोरो जिम्मेवारी दिनै नहुने अडान राखेका थिए। नेताहरूबीच कुरा नमिलेपछि साविककै जिल्ला इन्चार्जहरूलाई भागवन्डामा इन्चार्ज र सहइन्चार्ज तोक्ने बीचको बाटो रोजिएको हो।
यसरी नेताहरूलाई जिम्मेवारी दिँदा पनि जिल्ला अध्यक्षमा जस्तै जिल्ला इन्चार्जमा पनि नेता नेपालको पल्ला भारी हुनेछ। किनभने साविक एमालेमा जिल्ला इन्चार्जमा पनि माधव नेपाल पक्षधर नेताहरुको वर्चश्व छ।