धनुषाको नगराइन नगरपालिकाको नाम परिवर्तन गर्ने विषयलाई लिएर विवाद भएको छ। नगर प्रमुख प्रमेश्वर यादबले काँग्रेस उपसभापति बिमलेन्द्र निधीका बुवा स्वर्गीय महेन्द्र नारायण निधीको नाममा नगरपालिकाको नामाकरण गर्ने प्रस्ताव गरेपछि नगरसभा विवादित बनेको छ।
नगरको नामाकरण गर्ने विषयमा भएको विवादकै कारण असार १० गते हुने भनिएको नगरसभा अझै सम्पन्न हुन सकेका छैन। बिहिबार बोलाइएको नगरसभाको बैठक पनि सोही विवादका कारण विथोलिएको छ। नगरपालिकाको नाम परिवर्तनका लागि बहुमत पुर्याउन नगर प्रमुख यादवले अन्तिम समयसम्म प्रयास गरेपनि असफल भए।
नगरसभाको अर्को बैठक असार २४ गतेका लागि बोलाइएको यादवले जानकारी दिए। नेपाली काँग्रेसबाट निर्वाचित प्रमुख यादबले नगरपालिकाको नाम परिवर्तन गर्ने विषय गम्भिर रहेकाले छलफलपछि मात्र निर्णय लिन बैठक सारिएको बताए । तर नेकपा र समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमत नपुग्दा बैठक सारेको आरोप लगाएका छन्।
नगराइन नगरपालिका वडा ८ का अध्यक्ष संजय राउतले जनप्रतिनिधिलाई खरिद गर्ने प्रयास गरेको र असफल भएपछि बैठक सारेको आरोप लगाए। नगरपालिकाको नाम परिवर्तन गर्न दुई तिहाइ बहुमत आवश्यक हुन्छ। नगराइन नगरपालिकामा कुल ५९ कार्यपालिका सदस्य छन्। जसमध्ये करिब ३४ जना पक्षमा भएपछि मात्र नाम परिवर्तन हुन्छ। तर काँग्रेसको मात्र २९ जना छन् । नाम परिवर्तनका लागि ५ जना थप चाहिन्छ। नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधिबाट ५ जनाको सहमति नभए प्रस्ताव पास हुँदैन।
यता प्रमुख यादवले आफूसँग बहुमत रहेको दावी गरेका छन्। प्रजातन्त्रका लागि महेन्द्र नारायण निधीको ठूलो योगदान रहेकोले सम्मानस्वरुप उनको नामबाट नगरपालिकाको नामाकरण गर्न चाहेको बताए।
यता, नेकपा र समाजवादी पार्टीका जनप्रतिनिधहरुले शहिद दुर्गानन्द झा वा अन्य शहिदको नामबाट नगरपालिकाको नामाकरण गर्दा मात्र सहमति जनाउने बताउँछन् । महेन्द्र नारायण निधीको नामबाट नगरपालिकाको नामाकरण गर्दा कुनै पनि हालतमा स्वीकार नगर्ने र आन्दोलनमा उत्रने चेतावनी उनीहरुको छ। गत वर्ष पनि प्रमुख यादबले नगरपालिकाको नाम महेन्द्र नारायण निधी राख्ने प्रयास गर्दा नगरपालिकाको कामकाज ४ महिनासम्म ठप्प भएको थियो।