नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशले ३६ वर्षमै पूर्ण जीवन बाँचेको उल्लेख गरेका छन्।
२०७४ मा निधन भएका प्रकाशको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रममा सोमबार बोल्दै प्रचण्डले छोटो समयमा आकस्मिक मृत्यु भए पनि प्रकाशले पूर्ण जीवन बाँचेको बताए।
‘उनका योगदान ३६ वर्षे उमेरमा पूरा हुने खालको छैन,’ उनले भने, ‘उनी ३६ वर्षमात्रै बाँचेजस्तो लाग्दैन। तीतामीठा अनुभवसहितको पूर्ण जीवन बाँचेर उनी विदा भएकोजस्तो लाग्छ।’
युद्धकाल स्मरण गर्दै प्रचण्डले छोरालाई विद्यालय पढाउन पनि विभिन्न बाधा सिर्जना भएको बताए।
‘कैयौं स्कुल सारिएका छन्। स्थिर भएर पढ्ने वातावरण पनि पाएनन्,’ उनले भने, ‘उनी लिडरको सुरक्षा गर्ने, युद्धमा आफैं सहभागी हुने विचित्रको अनुभव भएका व्यक्ति थिए।’
छोटो उमेरमै प्रकाशले युद्ध, शान्ति प्रक्रियाको अनुभव, देश तथा विदेशका अनुभव हेर्ने र बुझ्ने अवसर पाएको प्रचण्डको भनाइ छ।
‘जीवनका सबै अनुभव प्रकाशले संगालेका थिए। तीतामीठा सबै,’ अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्री हुँदा निकै परिपक्व भएर काम गरेकै थिए।’
प्रकाशले सगरमाथा चढेको प्रसंग निकाल्दै प्रचण्डले सुरूमा आफूले नपत्याएको पनि बताए।
‘सगरमाथा चढ्ने भन्दा सुरूमा पत्याएको थिइनँ,’ उनले भने, ‘लागिराख्ने गुणअनुसार नै उनले सगरमाथाको सफल आरोहण गरे। त्यसैले उनले पूर्ण जीवन बाँचेर गए।’
दाहालको दुई वर्षअघि २०७४ मंसिर ३ गते आकस्मिक रूपमा निधन भएको थियो।