अमेरिकी राजदूतावासले नेपाल सरकारले आफ्ना नागरिकमाथि गरेको व्यवहारबाट आफूहरू मर्माहत भएको बताएको छ।
शनिबार नेपाल आएका अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो।
नेपालस्थित चिनियाँ दूतावासले गरेको आग्रहअनुसार अध्यागमन कार्यालयले पेम्पालाई पक्रेको हो।
काठमाडौंस्थित चिनियाँ दूतावासले भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारमा सभामुख भइसकेका पेम्पा छिरिङ नामका व्यक्तिलाई नेपाल प्रवेश रोक्न आग्रह गरेको थियो।
नेपाल एक चीन नीतिमा प्रतिवद्ध भएकाले अध्यागमन कार्यालयले छिरिङलाई कालो सूचीमा राखेको छ।
तर शनिबार नेपाल आउन लागेका छिरिङ दलाई लामाको सरकारका सभामुख नभएर अमेरिकी नागरिक थिए।
उनको नाम उस्तै थियो, उमेर पनि लगभग मिल्थ्यो। त्यही आधारमा अध्यागमन अधिकारीले पेम्पा छिरिङलाई नियन्त्रणमा लिए र केही घन्टा पुछताछ गरेपछि फिर्ता पठाइदिए।
सोही घटनाप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले गम्भीर चासो देखाउँदै घटनाबाट मर्माहत भएको जनाएको हो।
दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्- विदेशी सरकारको अनुरोधअनुसार नेपाल आउन चाहने अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइदिएको घटनाले दूतावास मर्माहत भएको छ।
उनले घटनाबारे नेपाल सरकारसँग थप तथ्यहरू संकलन गरिरहेको पनि जानकारी दिइन्।
‘यो विशेष घटनाको तथ्यबारे हामीले नेपाल सरकारसँग प्रष्ट पार्न भनेका छौं,’ उनले भनिन्,‘ के नेपाल आउन चाहने अमेरिकी नागरिकले कुनै विदेशी सरकारहरूबाट स्वीकृति लिनुपर्ने हो?’