पार्टी र सरकार सञ्चालनमा देखिएको मतभेद समाधानको उपाय खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष आज पनि छलफलमा जुट्दैछन्।
बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू छलफल भोलि बस्ने सचिवालय बैठकको एजेण्डा बनाउन केन्द्रीत छ।
पार्टी र सरकार सञ्चालनमा देखिएको असन्तुष्टि केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा पहिले दुई अध्यक्षले ठोस योजना बनाउने र त्यसलाई छलफलका लागि सचिवालयमा पेश गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।
यसअघि गत बुधबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको लामो छलफलले सबैभन्दा पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेको थियो।
‘पार्टीको नीति र सिद्धान्त के हुने भन्नेबारे एकीकृत पार्टीका नेताहरूको मत विभाजित भएपछि अध्यक्ष प्रचण्डले सबैभन्दा पहिले राजनीतिक दस्तावेज सार्वजनिक गरौं भन्ने प्रस्ताव गर्नुभयो,’ स्रोतले सेतोपाटीलाई भन्यो।
पछिल्लो समय नेकपाका दोस्रो वरियताका नेताहरू नै पार्टीको अबको नीतिबारे विभाजित छन्।
विशेषतः पूर्वएमालेका पनि ओली खेमाका मानिने नेताले जनताको बहुदलीय जनवादलाई एकीकृत नयाँ पार्टीले कुनै पनि हालतमा छोड्न नहुने बताउँदै आएका छन्।
सचिवालयभित्रै पनि प्रधानमन्त्री ओली, सदस्यहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल जनताको बहुदलीय जनवादको प्रतिविम्व नयाँ राजनीतिक दस्तावेजमा पनि होस् भन्ने चाहन्छन्। उनीहरूको यही चाहनाका कारण नेताहरूबीच व्यापक मतभेद भएपछि सचिवालयमा पेस भएको लामो समयसम्म राजनीतिक दस्तावेज सार्वजनिक हुन सकेको छैन।
सचिवालय सदस्यहरूले नै जबजको लबिङ तल्लो तहसम्म थालेपछि झस्किएका प्रचण्डले पनि विभिन्न फोरमहरूमा अहिलेका लागि पार्टीको सिद्धान्त जनताको जनवाद हुने र कालन्तरमा त्यसलाई वैज्ञानिक समाजवादमा रूपान्तरण गर्ने गरी जानु पर्ने बताउँदै आएका छन्।
‘प्रचण्डले अहिले राजनीतिक प्रतिवेदन सार्वजनिक गरिहालौं भन्नुको कारण उनले भन्दै आएको पार्टीको तत्कालीन कार्यनीति जनवाद हुने र दीर्घकालीन लक्ष वैज्ञानिक समाजवाद हुने भन्ने कुरालाई राजनीतिक प्रतिवदेनले व्याख्या गरेको छ,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।
राजनीतिक दस्तावेजमा पूर्ववर्ती एमालेले पार्टी सिद्धान्त मानेको जनताको बहुदलीय जनवाद र पूर्वमाओवादी केन्द्रले मान्दै आएको एक्काइसौं शताब्दीको जनवादलाई फ्युजन गराएर जनताको जनवादको रूपमा नयाँ ढंगले अघि बढ्ने र वैज्ञानिक समाजवादलाई लक्ष्य बनाउने उल्लेख छ।
यस्तै पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीकै आधारमा पार्टीको नेतृत्व अघि बढ्ने त्यसपछि कार्यकर्ताबाटै पारित नीति, मुल्य र मान्यतालाई अवलम्बन गरेर अघि बढ्नु पर्ने पनि राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
सेतोपाटीसँगको कुराकानीमा नेकपा सचिवालय सदस्य झलनाथ खनालले शनिबार बस्ने सचिवालय बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन सार्वजनिक गर्नुका साथै अरू सांगठनिक जिम्मेवारी पनि छिटो टुंग्याउन पहल गरिने जानकारी दिए।
उनले सरकार र पार्टी नेतृत्वको कार्यशैलीका कारण कार्यकर्ता र जनस्तरमा देखिएको निराशालाई सम्बोधन गर्ने गरी निर्णय गर्नु पर्ने बताए।