चर्चित गुठी विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुअघि काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसँग छलफल गरेका छन्।
नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा सांसदहरूले अहिले सरकारले गुठी विधेयक फिर्ता लिनुको विकल्प नरहेको र प्रधानमन्त्रीसँग पनि त्यही कुरा राख्नु पर्ने बताएका थिए।
जवाफमा नेपालले उपत्यकाका सबै सांसदको कुरा त्यही हो भने आफ्नो पनि सहमति रहने बताए।
बैठकपछि नेकपाका सांसद कृष्णलाल महर्जनले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानुअघि हामीले माधव कमरेडसँग भेट्यौँ, उहाँले हामी सबैको नेतृत्व गर्दै गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गर्ने समझदारी भएको छ।’
महर्जनले काठमाडौं बाहिर र काठमाडौंभित्रका गुठीको समस्या फरक भएकाले त्यही अनुसार सम्बोधन गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए।
‘तर अहिले गुठी विधेयक फिर्ता लिनुको विकल्प छैन, हामी उपत्यकाका सांसदबीच त्यही छलफल भएको छ,’ महर्जनले भने।
प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाका सांसद, मेयर, केही वडाध्यक्ष र गुठियारलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
उनीहरूसँग छलफल गर्नुअघि प्रधानमन्त्रीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललेसँग ब्रिफिङ लिएका थिए।
आइतबार आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए।
सोहीअनुसार सोमबार बिहानदेखि नै उनले यसबारे विभिन्न पक्षसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओली आजै साँझसम्म गुठी विधेयकबारे निर्णयमा पुग्ने बताइएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले थप सक्रियता बढाएको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्- आशा छ साँझसम्ममा राम्रो परिणाम आउने छ। धमिलो पानीमा माछा मर्न खोज्नेको भागमा भ्यागुत्तोमात्र हात लाग्नेछ।
राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकले आफ्नो परम्परा मास्न खोजेको भन्दै उपत्यकाका तीनै जिल्लाका नेवार समुदाय आन्दोलनमा होमिएका छन्।