कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
जसमध्ये चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ, पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ बिनियोजन गरिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा २५ करोड १० लाख ४१ हजार रुपैयाँ आन्तरिक राजस्वबाट पूर्ति गरिने उल्लेख छ। मन्त्री ज्वालाका अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँड वापत ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट २ करोड ७४ लाख प्राप्त भएको छ।
यस्तै वित्तीय समानीकरण अनुदान ९ अर्ब ८४ करोड ८३ लाख, सशर्त अनुदान ५ अर्ब २७ करोड २७ लाख रहेको छ। समपुरक र विशेष अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख प्राप्त हुने अनुमान गरिएको छ।
कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारतर्फ सडकलाई विशेष जोड दिइएको छ।सडकलगायत पूर्वाधार विकासका लागि पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको छ।
प्रदेश महत्वका २४ वडा सडकलाई बहुवर्षीय आयोजनाका रुपमा अगाडि बढाइएको छ। जसमा खार्पुनाथ–सुवाखोला सडक हुम्ला, दैलेख सदरमुकाम हुँदै नौमुले–जुनिचाँदे सडक जाजरकोट, भेडाबारी–आँपगैरा–खेल्नेचौर सडक सुर्खेत, सान्तडा–मेहलतोली–पातीहाल्न सडक जाजरकोट, सहिद मायाराम मार्ग दैलेखलगायत रहेका छन्।
यस्तै सडकले नछोएका स्थानीय तहका केन्द्रलाई पहुँच मार्ग र सडक, पुलद्वारा जोड्न, सडकको स्तरोन्नति गर्न २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने सडक स्तरोन्नति र निर्माणलाई ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। कर्णाली प्रदेशलाई अन्य प्रदेशसँग जोड्नका लागि प्रदेश महत्वको विभिन्न रणनीतिक सडकहरुको सम्भाव्यता अध्ययन र निर्माणलाई प्राथमिकता दिन १० करोड रुपैयाँ छुट्याइएको छ।
दलित, विपन्न तथा घरबारविहिन, प्रकोप पीडित नागरिकको लागि सुरक्षित स्थानमा एकीकृत वस्ती विकासका गर्न २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। जनताको घरमा खरका छाना विस्थापित गरी टिनका छाना लगाउन बजेट बिनियोजन गरिएको छ।
विद्यालय छोड्ने विद्यार्थीको बाध्यता अन्त्य गर्न डोल्पा, हुम्लालगायतका भौगोलिक विकटता भएका जिल्लाहरुमा आवासीय विद्यालय स्थापनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, प्रदेशका विभिन्न क्याम्पसहरुलाई आवश्यक पूर्वाधार, शैक्षिक सामग्रीको लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। आगामी दुई बर्षभित्र साक्षर प्रदेश घोषणा गर्नेगरी आवश्यक बजेट विनियोजन गरिएको छ।
जनशक्ति विकासमा जोड दिन छोरीबुहारी तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ। कृषि, पशु विज्ञान, चिकित्सा विषयको अध्ययनसम्बन्धी छात्रवृत्तिको लागि पनि बजेट विनियोजन गरिएको छ।
कर्णाली प्रदेश अस्पताललाई ३०० शैय्याको बनाउन आवश्यक पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनका लागि २० करोड ५ लाख रुपैयाँ छुट्याइएको छ। जिल्ला अस्पतालहरुलाई ५० सैय्यासहितको स्तरोन्नति, स्थानीय तहमा अस्पताल सञ्चालनका लागि १३ करोड २५ लाख रुपैया छुट्याइएको छ। प्रदेश अस्पताल र जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण व्यवस्थापनका लागि साढे ४ करोड रुपैयाँ छुट्याइएको छ।
श्रम तथा रोजगारका क्षेत्रमा प्रत्येक महिनाको १ गते नागरिक समाज, राष्ट्रसेवक, जनप्रतिनिधीको सहभागितासहित श्रम दिन मनाइने व्यवस्था बजेटमा गरिएको छ। कामको सृजना, रोजगारीको अवस्था सुधार गर्न मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आवश्यक बजेट छुट्याइएको छ।
खेलकुदतर्फ सबै नागरिकलाई खेलकुदप्रति आकर्षित गर्न कर्णाली युवा तथा खेलकुद परिषदको स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।
छुवाछुत प्रथा अन्त्यका लागि छुवाछुतमुक्त प्रदेश घोषणा गर्न, सडक बालबालिका मुक्त प्रदेश बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न पनि आवश्यक बजेट व्यवस्था गरिएको छ। प्रदेश राजधानी र अन्य जिल्लामा सामजिक सुरक्षा गृह सञ्चालनका लागि १ करोड रुपैया विनियोजन गरिएको छ।
कुलो, लिफ्ट, पोखरी, थोपा, बर्षाको पानी संकलन गर्ने कार्यका लागि सिँचाई डिभिजन कार्यालयबाट प्राविधिक लिई कार्यक्रम सञ्चालन गर्न ५० करोड रुपैयाँ व्यवस्था गरिएको छ। कृषि सडक निर्माण कार्यका लागि ३२ करोड, कृषि उपज केन्द्र, शित भण्डार निर्माणका लागि १५ करोड रुपैया विनियोजन गरिएको छ।
विभिन्न क्षेत्रमा ‘हेलिप्याड’ निर्माणका लागि २ करोड, सडक सुविधा नभएका दुर्गम हिमाली जिल्ला हुम्ला र डोल्पाका ज्येष्ठ नागरिकलाई हवाई शुल्कमा सहुलियत दिन १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
सामुदायिक वन क्षेत्रमा फलफुल र जडिबुटी खेती गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ। आगामी बर्षको बजेटमा सुर्खेतका बाढीपीडित तथा अन्य विपद पीडितको आवास निर्माण्का लागि ६ करोड रुपैया छुट्याइएको छ।
यस्तो छ बजेटको पूर्णपाठ