सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
असनबाट सुरु विरोध जुलुस भोटाहिटी, रत्नपार्क, सहिदगेट, न्युरोड, इन्द्रचोक हुँदै असनमै टुंगिएको थियो। नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको उक्त विरोध प्रदर्शनमा गुठीसम्बन्धी विधेयक जलाइएको थियो।
विरोध सभामा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले विधेयक जनविरोधी र पहिचानमाथि प्रहार गर्ने नियतले ल्याइएको भन्दै त्यसको खारेजीको माग गरे।
‘हाम्रो पहिचान भनेको हाम्रो संस्कृति हो। हाम्रो संस्कृतिलाई समाप्त पारिन्छ भने हाम्रो पहिचान नै सकिन्छ,’ उनले भने, ‘यो विधेयकको उद्देश्य नै युगौंदेखि चलिआएको संस्कृति नष्ट गर्ने देखिन्छ।’
उनले बालुवाटारको जग्गा हडपेजस्तै गुठीको जग्गामा भू–माफियाहरूको आँखा परेको औंल्याए।
त्यस्तै, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले जनजातिको सामूहिकताको कडी गुठी भएको बताए। यो विधेयक पारित भए संस्कृति र सभ्यता नै खतम हुने उनले उल्लेख गरे।