नेपाल कम्युनिष्ट पार्टीभित्रको विभागीय जिम्मेवारी बाँडफाँटको विवाद नसुल्झिएपछि सचिवालय बैठक अनिश्चित बनेको छ।
आज (सोमबार) का लागि बैठक डाकिएको भएता पनि सचिवालयकै नेताहरूबीच कुरा नमिलेपछि बैठक पछि धकेलिएको हो।
आइतबार करिब तीन घन्टा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफल टुंगोमा नपुगेपछि आज फेरि दुई अध्यक्षमात्रै आन्तरिक गृहकार्यमा छन्।
पार्टी एकीकरणको घोषणाको एक वर्षसम्म पनि केन्द्रीय कमिटीको कार्यविभाजन, शीर्ष नेताहरूको जिम्मेवारी, विभिन्न विभागमा नेतृत्व चयनलगायत विषय अलपत्र छन्।
नेकपामा आर्थिक, संगठन, पार्टी स्कुल, प्रचारलगायत विभागको नेतृत्वमा कुन नेता राख्ने भन्ने विषयमा सचिवालय सदस्यहरूबीच नै मतभेद छ। त्यही कारण पनि कार्यविभाजन टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतृत्वले मात्रै लिएको नेकपा स्रोतले बताएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको एजेन्डालगायत विषयमा आन्तरिक गृहकार्य नसकिएकाले सचिवालय बैठक धकेलिएको हो। उनले आज गृहकार्य सकिएपछि भोलि बस्ने बैठकमा कार्यविभाजनबारे छलफल हुने बताए।
संगठन विभागमा हानथाप
नेकपामा अध्यक्षपछि अत्याधिक अर्थ र महत्व राख्ने संगठन विभागको प्रमुखमा सचिवालय सदस्यहरूले आकांक्षा देखाएपछि निर्णय गर्न थप कठिन भएको छ।
स्रोतका अनुसार संगठन विभागमा सचिवालय सदस्यहरूको हानाथाप छ। पूर्वमाओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा संगठन विभागको नेतृत्व चाहने एकल उम्मेद्वार हुन् भने पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र वामदेव गौतमले त्यसमा दाबी गरेका छन्।
‘हुन त सचिवालय सदस्यहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि संगठन विभागको नेतृत्व आफ्नो पोल्टामा परोस् भन्ने चाहन्छन्,’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओलीको झुकाव महासचिव पौडेलतिर छ।
अर्का अध्यक्ष दाहालले गौतमलाई पनि सम्पूर्ण रूपमा जिम्मेवारीविहिन बनाउन नहुने तर्क गरेका छन्।
विभिन्न विभागको नेतृत्व र केन्द्रीय कमिटीको कार्यविभाजनलगायत विषयमा छिट्टै नै निर्णयमा पुग्नेगरी छलफल चलिरहेको सचिवालय सदस्य ईश्वर पोखरेलले सेतोपाटीलाई बताए।
उनकाअनुसार विभागहरूमा नेताहरुको आ-आफ्नै खाले दाबी भएता पनि विवादै भने भएको छैन। विभागीय जिम्मेवारीलगायत कार्यविभाजन समेत हुन नसकेको नेकपाको केन्द्रीय कमिटीको बैठक नबसेको एक वर्षभन्दा धेरै भइसक्यो।
गत वर्ष जेठ ३ र ९ गते केन्द्रीय समितिको बैठक बसेपछि नेकपामा फेरि केन्द्रीय सदस्यहरू जुट्न सकेका छैनन। उसो त गत पुषमा बसेको स्थायी कमिटीको बैठकबाट पनि कुनै ठोस् निर्णय र निष्कर्ष निकाल्न सकेको थिएन।
नेकपाभित्र अहिले दुई अध्यक्षकोमात्रै तजबिजमा पार्टी चलिरहेको गुनासो छ।