सदन सुचारु भएको तेस्रो दिन पनि प्रदेश दुईको प्रदेशसभामा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी जारी रह्यो ।
सदन अवरूद्ध र त्यसपछि सदन सुचारु भएको विषयलाई लिएर कतिपय प्रदेशसभा सदस्यहरूले सरकारको कडा आलोचना गरे भने कतिपयले सहमति पश्चात् सदन सुचारु गरेका कारण सरकारको प्रशंसा समेत गरे ।
प्रदेशसभा सदस्य सुन्दर बहादुर विश्वकर्माले प्रतिपक्षी दलहरूसँग सहमति गरेर सदन सुचारु गरिएपछि त्यसलाई अपव्याख्या गर्नु गलत रहेको बताए। मंगलबारको प्रदेशसभा बैठकमा सत्ता पक्षकै केही प्रदेशसभा सदस्यहरूले प्रतिपक्षी दलहरूसँग गरिएको सहमतिलाई लिएर आशंका व्यक्त गरेपछि विश्वकर्माले सदन सुचारु गर्ने विषयलाई अपव्याख्या गरिएको बताए।
प्रदेशसभा सदस्य विश्वकर्माले निर्वाचन क्षेत्रमा बजेट बढाउनुलाई आफूले सकारात्मक रूपमा लिएको र प्रदेश सरकारको बजेट फ्रिज हुनबाट जोगिने बताए।
सरकारले प्रदेशसभा सदस्यहरूलाई निर्वाचन क्षेत्रमा खर्च गर्नका लागि ३० लाखबाट एक करोड दिने सहमति भएपछि केही प्रदेशसभा सदस्यहरूले प्रतिपक्षी दलहरू आफ्नो लोभको सामुन्ने मागहरू समेत बिर्सेको आरोप लगाए।
प्रदेशसभा सदस्य विश्वकर्माले बजेट फ्रिज हुनबाट जोगिनका लागि प्रदेशसभा सदस्यहरूलाई दुई करोड रुपैयाँ उपलब्ध गराउन माग समेत गरे।
प्रदेशसभा सदस्य राम सरोज यादवले सरकारसँग कुनै किसिमको भिजन नरहेको आरोप लगाए।
‘प्रदेशलाई समृद्ध बनाउनका लागि कृषि, पर्यटन, उद्योग क्षेत्रमा लगानी गर्नु पर्थ्यो तर सरकारले त्यस्तो केही गर्न सकेन,’उनले भने।
उनले यस प्रदेशको समृद्धिसँग चुरेको संरक्षण जोडिएकोले सबभन्दा पहिले सरकारलाई चुरे संरक्षणतर्फ ध्यान दिन आग्रह गरे।
प्रदेशसभा सदस्य जैनुल राइनले प्रतिपक्षी दललाई सत्तापक्षको मित्र भएर काम गर्न सल्लाह दिए।
उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्ष त्यस्तो मित्र हो जो रेलको पटरी झै एकै साथ अगाडि बढ्छ तर कहिल्यै मिल्दैन, मिले भने दुर्घटना हुन्छ।’