राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले नवगठित समाजवादी पार्टी नेपालसँगको एकीकरणको सम्भावना कायमै रहेको बताएका छन्।
जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै संयोजक भण्डारीले भने, ‘हाम्रो पार्टीले उठाउँदै आएको मुद्दाहरूलाई स्वीकार गरे एकताका लागि सदैव ढोका खुला छ।’
उनले देशमा वैकल्पिक शक्तिको खाँचो रहेकोले हामीले नै पहिले एकताका लागि संघीय समाजवादी फोरमसँग पहल गरेको बताउँदै फोरमले सरकार नछोडेकोले एकता हुन नसकेको बताए।
उनले भने,‘उपेन्द्रजीले संविधान संशोधनको मुद्दा छोडिसक्नु भएको छ कि राख्नु नै भएको छ स्पष्ट जवाफ नदिएसम्म एकता कुनै हालतमा हुन सक्दैन।’
आफ्नो पार्टीको प्रमुख मुद्दा नै संविधान संशोधन रहेको र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधानलाई सर्वस्वीकार्य बताउने सरकारमा सहभागी भएसम्म एकता हुन नसक्ने उनको भनाइ थियो।
उनले सरकारको कडा आलोचना गर्दै देशमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नियन्त्रित रूपमा अगाडि बढिरहेको र यसलाई सरकारले नै नियन्त्रित गरिरहेको आरोप लगाए।
सभामुखको रुलिङपछि पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु, रेशम चौधरीको मुद्दा फिर्ता नहुनु, बालुवाटार जग्गा प्रकरण, वाइड बडी भ्रष्टाचार प्रकरणले यो स्पष्ट भइसकेको उनको भनाइ थियो ।