कालीकोटको पलाँता गाउँपालिकामा आगलागीबाट जलेका ३२ घर बनाउन कर्णाली प्रदेश सरकार र पलाँता गाउँपालिकाबीच सम्झौता भएको छ।
बुधबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी कालीकोट पुगेर गाउँपालिकासँग सम्झौता गरेका हुन्। सदरमुकाम मान्ममा भेटेर मन्त्री भण्डारी र गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमबीच सम्झौता भएको हो।
पलाँता गाउँपालिका–१ स्थित खाडान्यौपानेमा पुस ८ गते आगलागी हुँदा ३२ घर जलेर पूर्ण रूपमा नष्ट भएका थिए। ती परिवारलाई गाउँपालिकाले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले १ करोड ६० लाख रुपैयाँ घर बनाउन खर्च दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्यो रकमको अख्तियारी दिइसकेको छ।
प्रदेश सरकारले अख्तियारी दिएपछि अध्यक्ष बमले अब तदारुकताका साथ काम अघि बढाउने बताए।
‘यसअघि बजेटको टुंगो नलाग्दा हामीले सामान मगाउन र काम सुरू गराउन सकेका थिएनौं,’ अध्यक्ष बमले भने, ‘अब सकेसम्म वर्षाभन्दा अगाडि नै आगलागी पीडितहरू छानामुनि गइसकेका हुनेछन्।’
सम्झौता गर्नेक्रममा कानुनमन्त्री भण्डारीले प्रदेश सरकार प्रदेशका जनताको पीडा बुझेर समस्या समाधान गर्नका लागि सदैव लाग्ने बताएका छन्।
‘बाढीपीडित, अग्नी पीडित तथा असिना पीडित जनतासँगै प्रदेश सरकार छ,’ उनले भने, ‘हामी जनतालाई सकेसम्म पीडाबाट उन्मुक्ति दिलाउन र समृद्ध कर्णाली बनाउन लागि परेका छौं।’
एकीकृत बस्ती बनाउन गाउँपालिकालाई मन्त्री भण्डारीले सुझाव दिएका छन् ।