नारायणी यातायात कार्यालय वीरगन्जबाट चालक अनुमति पत्र बनाइदिने दुई जना बिचौलियालाई अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। घुस दिएवापत स्काभेटर चालकको अनुमति पत्र (लाइसन्स) बनाइदिने दुई बिचौलियालाई ३१ हजार रूपैयासहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
लाइसेन्स बनाए वापत सेवाग्रहीबाट ३१ हजार रुपैयाँ लिने क्रममा वीरगन्ज वडा नम्बर ९ निवासी रोशन कुमार रौनियार र बाराको उमजन गाँउपालिका वडा नम्बर ९ निवासी सुनिल यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले रंगेहात पक्राउ गरेको हो।
प्रमाणपत्र दिने व्यक्तिले स्काभेटर चालकको प्रमाण पत्र बनादिएवापत ३१ हजार रूपैया लेनदेन भइरहेको घटनास्थलबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मकवानपुर शाखाका अधिकृत शिवराम महर्जनको नेतृत्वमा आएको टोलीले दुबै जनालाई पक्राउ गरेको हो।
वीरगन्जको लक्ष्मणवामास्थित नारायाणी यातायात व्यवस्था कार्यालयको मुलगेटमा सञ्चालित शिखर इन्सुरेन्समा काम गर्ने रौनियार र यादवलाई इन्सुरेन्स कार्यालयको काउण्टरबाटै नियन्त्रणमा लिइएको हो। दुबै जनाले लाइसेन्स बनाइदिए वापत पहिला नै ३५ हजार रूपैया लिएको र थप ३१ हजार माग गरेपछि सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोलीले उक्त कारबाही गरेको हो।
दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको टोलीमा सहभागि प्रहरी नायब निरीक्षक हनुमान साहले बताए। यातायात कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक यादवले बताए।
साथै गत फागुन १८ गते सवारी चालक अनुमति पत्रका लागि भएको परीक्षासँग सम्बन्धित कागजातसमेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। रकम लिई लाइसेन्स उपलब्ध गराएको अभियोगमा अख्तियारको टोलीले पहिला पनि यातायात कार्यालय वीरगन्जका चार जना कर्मचारीलाई पक्राउ गरि आवश्यक कारबाही चलाइसकेको छ।