नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको दुई दिन सरकारले हतियार बुझाउन ३५ दिने सूचना जारी गर्यो।
सरकारले दिएको ३५ दिने सीमामा विप्लव समूहको नामबाट एक थान पनि हतियार प्रशासनलाई बुझाइएको छैन।
३५ दिनमा देशभरिबाट २५९ थान हतियार प्रशासनमा बुझाइएका छन्। जसमध्ये १७१ इजाजतप्राप्त र ८८ वटा अवैध थिए। बुझाइएकामध्ये अधिकांश भरूवा बन्दुक छन्।
‘सरकारले हतियार बुझाए कारबाही नगर्ने भनेपछि सर्वसाधारण मान्छेले बुझाइएका हतियार हुन् यी,’ प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने, ‘विप्लव समूहको नामबाट हतियार बुझाइएको कहीँ कतैबाट जानकारी आएको छैन।’
प्रहरी तथा नेपाली सेनाले विप्लव माओवादीसँगै थुप्रै आधुनिक अतियार रहेको बताएको छ। सरकारले प्रतिबन्ध लगाएर नेता तथा कार्यकर्ता पक्राउलाई तीव्र बनाए पनि विप्लवले हतियार बुझाउन नमानेको गृहको विश्लेषण छ।
सरकारले गत फागनु २८ गते विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसको दुई दिनपछि अवैध तथा वैध हतियार बुझाए कारबाही नगर्ने भन्दै गृहले ३५ दिनभित्र हतियार बुझाउन भनेको थियो। यो समय शुक्रबार सकिएको छ।
यो अवधिमा विप्लव समूहबाट हतियार नबुझाइनु, वार्ताको वातावरण तयार नहुनुले विप्लव माओवादी तत्काल शान्तिपूर्ण मूलधारमा आउन नचाहेको बुझ्नु पर्ने गृहका उच्च अधिकारीहरू बताउँछन्।
‘विध्वंसात्मक गतिविधि रोकिएको छैन, यस्तो गतिविधि नरोकिएसम्म वार्ताको वातावरण हुन्न,’ गृहसचिव प्रेमकुमार राईले भने, ‘हतियार बुझाएर विध्वंसात्मक गतिविधि त्यागेको खण्डमा मात्र वार्ताको वातावरण बन्यो भन्ने बुझ्नुपर्छ।’
३५ दिनमा विप्लव समूहबाट हतियार बुझाइए वार्ताको लागि संवाद गर्ने सरकारको योजना थियो। गृहमन्त्री रामबहादुर थापा आफैं विप्लवसँग वार्ता गर्ने मनस्थितिमा पुगेका थिए। तर, विप्लव समूहबाट बम बिस्फोट, बन्द हडताललगायतका गतिविधि नरोकिएपछि गृह तत्काल वार्ता गर्ने पक्षमा छैन।
‘बम पड्काउने, बन्द हडतालका गतिविधि जारी रहेको अवस्थामा वार्ता हुन सक्दैन,’ गृह मन्त्रीनिकट स्रोतले भन्यो।
सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीसहित ठूला नेता पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले विभिन्न मुद्दा चलाइरहेको छ।
विप्लव समूहसँग नेपाली सेना र सशस्त्र प्रहरीले बोक्ने आधुनिक स्वचालित हतियार रहेको सुरक्षा निकायको विश्लेषण छ।
कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरीडाँडामा प्रहरीले गत फागुन २३ गते बिहान राति अपरेसन चलाउँदा एसएमजी दुई थान, गोली ६८ राउण्ड, म्यागजिन ३ थान, अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद गरेको थियो।
त्यसअघि, सुनसरीको धरानबाट एम १६ र एलएमजी हतियारसहित पक्राउ परेका मोरङ केराबारी गाउँपालिका–१० का ४३ वर्षीय देवकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो। लिम्बूबाट बरामद भएको हतियार नेपाली सेनाले मात्र बोक्छ।
के हो सेनाको विश्लेषण?
२०६३ चैत २७ गते संयुक्त राष्ट्रसंघको मिसन अनमिन नेपालमा लडाकु शिविर, हतियार र व्यवस्थापनमा खटिएको थियो। उसले माओवादी लडाकुसँग भएका हतियारको तथ्यांक सार्वजनिक गर्यो।
शिविरका कन्टेनरमा २ हजार ८५५ हतियार, शिविर पेरिमिटर सुरक्षामा ५२४ हतियार र माओवादी नेतृत्वको सुरक्षाका लागि ९६ वटा हतियार रहेको अनमिनले सार्वजनिक गरेको थियो।
यो तथ्यांकमा नेपाली सेनाले चित्त बुझाएन। सेना, प्रहरी, सशस्त्र प्रहरीसँग युद्धको समयमा ३ हजार ४३० हतियार माओवादीले लुटेको सेनाले जनाएको थियो।
ती बाहेक पनि माओवादीसँग आधुनिक हतियार रहेको आशंका गरिएको थियो। तीमध्ये २ हजार ८२४ थान हतियारमात्र कन्टेनरमा राखिएको थियो।
अनमिनले लडाकुको अन्तिम प्रमाणीकरण गर्दा ५ हजार ५ सय ७९ लडाकु थिए। अनमिन फर्केपछि ती लडाकुलाई रेखदेख, पुनःस्थापना तथा समायोजन विशेष समिति मातहत राखिएको थियो। यो समितिले लडाकुहरूको वर्गीकरण गर्दा २ हजार ४५६ अनुपस्थित थिए।
शिविरमा नभेटिएका ती लडाकुसँग प्रतिव्यक्ति एक हतियार रहे पनि लुकाइएको विश्लेषण सेनाको छ। तिनै हतियार अहिले विप्लव माओवादीसँग फेला पर्न थालेको जंगी अड्डा बताउँछ।
जंगी अड्डाले २५ सय हाराहारी लुकाइएका ती हतियारमध्ये अधिकांश विप्लव माओवादीसँग रहेको आशंका गरेको छ।
‘हराएका तीमध्ये दुई हजारजति हतियार विप्लव माओवादीसँग छन् भन्ने सेनाको आशंका हो,’ सैनिक स्रोतले भन्यो।
हराएका ती हतियार भेटिने शृंखला २०७० सालबाट सुरू भएको थियो। जाजरकोट खलंगास्थित पिपेको रानी वनमा २०७० कात्तिक २८ गते प्रहरीले ठूलो परिमाणमा हतियार फेला पारेको थियो। खाल्डो खनेर गाडेका ४४ थान एसएलआर, ६ थान थ्री नट थ्री, २ थान टु इन्च मोर्टार र एके–४७ मा प्रयोग हुने ३ सय ८५ राउन्ड गोली फेला परेका थिए।
२०७१ साउन ६ गते एके–४७ राइफलसहित मनाङबाट नवीन र उजिर मगरलाई प्रहरीले समातेको थियो।
विप्लव कार्यकर्ताबाट केही समयअघि मात्रै सुनसरीको धरानबाट एम–१६ र एलएमजी हतियार बरामद भएको थियो। कपिलवस्तुबाट एसएमजी दुई थान र एउटा पेस्तोल बरामद भएको थियो।
विप्लव कार्यकर्ताबाट समातिएका यी आधुनिक हतियार सेना र सशस्त्र प्रहरीसँग छ। ‘यस्ता हतियार विप्लव माओवादीसँग नै भेटिनुले हतियार लुकाएको यथार्थ पुष्टि गर्छ,’ जंगी अड्डाले भन्यो।
प्रहरीबाट ३ हजार ४ सय ९, सशस्त्रका १ हजार ८ सय ६९ र सेनाका ८ सय गरी ५ हजार २ सय ८६ हतियार माओवादीले लुटेको थियो। सेना र प्रहरीबाट मात्रै लुटेका ६ हजार ७८ थान हतियार माओवादीसँग थिए।
शान्ति प्रक्रियामा आउँदा माओवादीले ३ हजार ४ सय ७५ थान हतियार मात्रै संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) को निगरानी अन्तर्गत राख्यो। बाँकी २ हजार ६ सय ३ हतियार लुकाएको सेनाको भनाइ छ। माओवादी आफैंसँग भएका अन्य हतियारहरू पनि गायब पारेको जंगी अड्डा बताउँछ।
जंगी अड्डा स्रोतका अनुसार नेपाल प्रहरीबाट लुटेका थ्री नट थ्री राइफल बढी मात्रामा विप्लव माओवादीसँग छन्। त्यसबाहेक एसएलआर, एसएमजी, एलएमजी, एम–१६, सर्ट गर्न, पेस्तोल लगायत छन्।
एम–१६ युद्धको उत्तराद्र्धमा सेनाले नेपाल भित्र्याएको आधुनिक र प्रभावशाली हतियार थियो। दाङमा २०६१ असार २१ गते सेना र माओवादीबीच दोहोरो भिडन्त हुँदा केही एम–१६ हराएका थिए।
संयुक्त हतियार अनुगमन समिति (जेएमसीसी)मा नेपाली सेनाले माओवादीको हतियार निकै कम दर्ता भएको भनी आपत्ति जनाएको थियो। सेनाले जेएमसीसीमा लिखित रूपमै फरक मत पनि राखेको थियो।
सेनाको तथ्यांकमा सुरक्षाफौज (प्रहरी, सशस्त्र प्रहरी र सेना)बाट लुटिएका ३ हजार ४ सय ३० हतियारमध्ये २ हजार ८ सय २४ थान हतियार मात्र कन्टेनरमा थिए। सुरक्षाफौजका ७५ थान हतियार माओवादी नेतृत्वको सुरक्षामा प्रयोग भएको देखिएको सेनाको भनाइ छ।
‘त्यसहिसाबले पनि बाँकी रहेका ७ सय ८२ थान हतियार कहाँ गए?,’ जेएमसीसीका तत्कालीन उपाध्यक्ष (हाल प्रधान सेनापति) पूर्णचन्द्र थापाले सैनिक मुख्यालयलाई बुझाएको प्रतिवेदनमा प्रश्न उठाइएको छ।
फोल्ड गर्न मिल्ने एसएमजी, एके–४७ राइफल, पेस्तोललगायतका हतियार लुकाउनु स्वाभाविक भए पनि ८१ एमएम मोर्टार, जीपीएमजी, एलएमजीजस्ता ठूला हतियार उल्लेख्य परमिाणमा नदेखिएको उक्त प्रतिवेदन औंल्याउँछ।
प्रतिवेदनअनुसार माओवादीले विभिन्न भिडन्तबाट ११ वटा ८१ एमएम मोर्टार नियन्त्रणमा लिएका थिए। त्यसमध्ये सात थान मात्र कन्टेनरमा राखिएको थियो। ‘सुरक्षाकर्मीबाट लुटिएका एक थान रकेट लन्चर, एक थान जिपीएमजी, १९ थान एलएमजीजस्ता ठूला हतियार अनमिनको दर्तामा छैनन्,’ प्रतिवेदन भन्छ।
सुरक्षाकर्मी लुटेकाबाहेक अन्यत्रबाट ल्याइएका ३ सय १८ र घरेलु प्रविधिबाट निर्माण गरएिका माइन, सकेट बमलगायतका २ सय ३५ थान हतियार पनि अनमिनमा दर्ता थिए। तीमध्ये एके–४७ राइफलको संख्या ३३ थियो। ती शान्ति प्रक्रियाको पाँच वर्षसम्म शिविर र पार्टी नेतृत्वकै सुरक्षामा राखिएको थियो।
शान्ति वार्ता चलिरहेको बेला २०६३ साल भदौमा काभ्रेको कामीडाँडामा माओवादीको तेस्रो डिभिजनले हतियार प्रदर्शन गर्दा डेढ दर्जन एके–४७ देखिएका थिए। चितवनको हर्नामाडीमा तेस्रो डिभिजन अन्तर्गतकै प्रताप स्मृति ब्रिगेडले अर्को सैन्य प्रदर्शन गर्दा आधा दर्जन एके–४७ राइफल थिए।
तेस्रो डिभिजनमा मात्र तीन दर्जनभन्दा बढी एके–४७ राइफल थिए। अन्य डिभिजनमा डेढ दर्जन मात्र एके–४७ भए पनि सात वटा डिभिजनसँग झन्डै १ सय ५० को हाराहारीमा यो हतियार रहेको तर ती अनमिनको दर्तामा नरहेको प्रतिवेदन बताउँछ।
माओवादी शान्ति प्रक्रियामा आउने बेलामा उनीहरूका २१ वटा ब्रिगेड थिए। पछि सहरी गुरिल्ला दस्तालाई मिसाएर सात वटा नयाँ ब्रिगेड बनाइएको थियो। द्वन्द्वकालमा माओवादी लडाकूको एक कम्पनीमा सरदर ८० देखि १ सय २० जति सदस्य हुन्थे। तिनमा स्वचालित, अर्धस्वचालित र भरुवा गरी ४०–५० जति हतियार हुन्थे।
एक कम्पनीमा काम लाग्ने हतियारको संख्या ४० कै दरले हिसाब गर्दा पनि त्यो संख्या ३ सय ६० हुन्छ। शान्ति प्रक्रियामा आउने बेलासम्म भएका २१ वटा ब्रिगेडको मात्र हेर्दा २०६३ जेठसम्म साढे सात हजार हतियार मौज्दात थियो। तर, अनमिनमा ३ हजार ४ सय ७५ हतियार मात्रै दर्ता थिए।
बाँकी हतियार कहाँ गए? भन्ने प्रश्न उठेपछि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, ‘बाँकी हतियार खोलाले बगायो।’ तर, ‘खोलाले बगाएका’ ती हतियार धमाधम भेटिन थालेपछि विप्लव माओवादीमाथि प्रहरीले अपरेसन तीब्र चलाएको छ। कतिपय ठाउँबाट हतियार बरामद भए पनि विप्लव माओवादीबाट हतियार बुझाइएको छैन।