दिनहुँ सयौं सेवाग्राहीहरूले भरिभराउ रह्दै आएको जिल्ला प्रशासन कार्यालय धनुषा अचेल दिउँसोपछि प्रायः सुनसान रहने गरेको छ ।
यसको अर्थ कार्यालयमा काम नभएर सुनसान भएको भने होइन।
कामको चाप पहिले जस्तै रहे पनि सेवाग्राहीहरू अहिले कुनै बिचौलिया वा दलाल मार्फत् नभई आफैं गराइरहेका छन्।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको सक्रियताले यी विकृतिहरू हटाउन सम्भव भएको हो।
गत कात्तिक १९ गतेदेखि प्रजिअको रूपमा कार्यालयमा हाजिर भएका कणेल त्यसदिनयता आफैं जिल्ला प्रशासन कार्यालयमा उपलब्ध सेवा सुविधाबारे सेवाग्राहीलाई सु–सूचित गर्नका लागि माइकिङ गर्ने गरेका छन् ।
उनले सो माइकिङ सर्वसाधारणले बुझ्ने स्थानीय मैथिली भाषामा गर्ने गरेका छन्।
दलाल-बिचौलियाको कार्यालय भनेर बदनाम प्रशासन कार्यालयलाई प्रजिअ कणेलले अन्य सरकारी कार्यालयहरुका लागि समेत उदाहरण बनाएका छन्।
जिल्ला प्रशासन कार्यालयलाई नागरिकमैत्री बनाउनका लागि आफूले यस कार्यको थालनी गरेको प्रजिअ कणेल बताउँछन् ।
उनी भन्छन् ‘सुधारका लागि प्रयासहरु गरिरहेका छौँ, जसमा हामी सफल पनि भईरहेका छौँ तर अझ पनि हामी प्रशासन कार्यालयलाई पूर्ण रुपले व्यवस्थित तुल्याउन सकेका छैनौँ।’
पहिलेभन्दा एकदमै सकारात्मक सुधार भएको धनुषाका सबैला नगरपालिका वडा नम्बर एकबाट छोराको नागरिकता बनाउन आईपुगेका सेवाग्राही जगदीश यादवले बताए ।
उनले भने, ‘पहिले सानोतिनो काम गराउनका लागि लेखनदासहरुकै सहयोग लिनुपर्ने बाध्यता थियो। यहाँ उनीहरुकै बोलबाला थियो तर अहिले भने त्यस्तो अवस्था कहीँ देख्दिन सिडियो साहबले स्वयं सेवाग्राहीहरुलाई माईकिंग गरेर बोलाउनुहुन्छ, कुनै दलालको फन्दामा नपर्न माईकिंगबाटै आग्रह समेत गर्नुहुन्छ जसकारण यहाँ काम गराउन असाध्यै सजिलो भएको छ ।’
वर्षौँदेखि बिचौलिया र दलालको अड्डा रहेको जिल्ला प्रशासन कार्यालयलाई अझ बढी सुधार ल्याउन सेवाग्राही आफैँमा पनि सुधार गर्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी कणेलको भनाइ छ ।
उनले भने‘ अहिले पनि कतिपय सेवाग्राहीहरु निशुल्क गरिएको वाईफाईको सदुपयोग गर्न सकिरहनु भएको छैन्, हामीले जिल्ला प्रशासनको कामकारबाहीको जानकारी वेवसाईटमा राख्ने उद्देश्यले वाईफाई निशुल्क उपलब्ध गराएका छौँ तर उहाँहरु फेसबुक, व्हाटस्प जस्ता सामाजिक सञ्जाल प्रयोग गरेर बिताउँनुहुन्छ जो की उहाँ स्वयंमा सुधार ल्याउनुपर्ने कुराहरु छन् ।’
सिडियो कार्यालयमा सेवाग्राहीहरुको सुविधाका लागि दैनिक १ घण्टा निशुल्क वाईफाई सेवा उपलब्ध गराई रहेको जानकारी उनले सेतोपाटीलाई दिए ।
विगतका दिनहरुमा कुनै फाँटमा काम गराउन जाँदा विभिन्न बहानामा घुस लिईने गरिन्थ्यो तर अहिले भने त्यस्तो अवस्था नरहेको अर्का सेवाग्राही लक्ष्मीनिया गाउँपालिका वडा नम्बर एकका रामचरण ठाकुर बरहीको अनुभव छ ।
उनी भन्छन् ‘ पहिने पहिने अबै छली त बिना घुसके कोनो कामे नई होई छलै, लेकिन अभी ओहन कुछो नई होई हई, बहुते सुधार भगेल हई, पहिले त नागरिकता बनबे जाई छली त कर्मचारीसभ कहै छलै एते पैसा दियौ ओई फाँटमे जाउँ लेकिन आब ओहन साफे न हई ।’
जिल्ला प्रशासन कार्यालयमा कणेल हाजिर भएदेखि यहाँ निशुल्क रुपमा पानी, चिया, वाईफाईसहितका सेवा उपलब्ध गराएका छन् । यहाँ धनुषाको १८ वटै स्थानीय तहको नाम लेखिएको गमला राखिएका छन् ।
यसबारे सिडियो भन्छन् ‘कुनै पनि स्थानीय तहका सेवाग्राहीलाई अपनत्व महसुस होस भन्ने सोचका साथ हामीले यसरी धनुषाका सम्पूर्ण स्थानीय तहका गमलामा फुलहरु रोपेका छौँ ।’
जिल्ला प्रशासन कार्यालय जस्तै अन्य कार्यालयहरुमा पनि यस्तै जिम्मेवार कर्मचारी भईदिए सेवा सुविधा लिन सहज हुनेथियो सेवा लिन आइपुगेका सर्वसाधारणहरुको भनाइ छ ।