प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मुलुकमा प्रतिनिधित्व गर्न आफैंलाई सक्षम बनाउनुपर्ने बताएका छन्।
मरकजी जमियते अहले हदीस नेपालद्वारा वीरगन्जको बहुअरीमा शुक्रबारदेखि आयोजित तीन दिने मानवता संरक्षण अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गद्दीले अरुलाई दोष थुपार्नु भन्दा पनि आफूले आफैंलाई सक्षम बनाउनुपर्ने बताएका हुन्।
‘मुलुकमा मुस्लिम समुदायको प्रतिनिधित्व छैन, ठूला ठूला पदमा मुस्लिम समुदायको व्यक्तित्व छैन भन्नु भन्दा पनि आ-आफ्नो बाबालिकाहरुलाई सानैदेखि विद्यालय पठाई सक्षम बनाउनुपर्छ,’ उनले भने, ‘हाम्रो समुदायमा एउटा नराम्रो बानी छ, सानैदेखि बालबालिकाहरुलाई मदर्शामा पठाउने, अलि ठूलो भयो कि त्यसलाई काममा लगाईदिने, वैदेशिक रोजगारमा पठाउने अनि मुलुकमा मुस्लिम समुदायको प्रतिनिधित्व भएन भनेर अरुलाई दोष थुपार्नु भन्दा बालबालिकाहरुलाई सानैदेखि शिक्षा प्रदान गरि मुलुकमा प्रतिनिधित्व गर्न सक्ने क्षमतावान बनाउनुपर्छ।’
क्षमता भयो भने कामयाबी हातमा हुन्छ, जुनसुकै स्थानमा पनि प्रतिनिधित्व गर्न सकिन्छ भन्दै मुख्यमन्त्री गद्दीले मुस्लिम समुदायका बालबालिकाहरुलाई प्रदेश सरकारले प्रत्येक जिल्लामा स्थापना गर्न लागेको मदर्शा स्कुलमा उर्दु लगायत नेपाली, अंग्रेजी, विज्ञान, गणित सम्पूर्ण विषयको पढाई हुने बताए।
मदर्शामा हुने गरेको उर्दु भाषाको पढाई मुलुकमा खासै प्रयोग नहुने गरेको कारण पनि मदर्शामा पढेका बालबालिकाहरुलाईको भविष्य उज्जवल नहुने गरेकोले अबको दिनमा मदर्शामा पनि उर्दुको साथसाथै मुलुकलाई चाहिने सम्पूर्ण भाषाको पढाई हुनेगरि वातावरण तयार गर्न प्रदेश सरकार लागि परेको बताए ।
तीन दिनसम्म चल्ने सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकोमा उनी अनुपस्थित नभएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई प्रमुख अतिथि बनाइएको थियो।
कार्यक्रममा नेपालका ७७ वटा जिल्ला तथा विभिन्न देशका गरी हजारौंको सहभागिता रहेको थियो ।