चार वर्षअघिको कुरा हो। तत्कालीन वन मन्त्री महेश आचार्यको गाडीका चालक थिए उनी। ड्युटी परेर दुई दिनका लागि आचार्यको गाडी हाँक्न पुगेका थिए।
बानेश्वर आसपास पुगेपछि उनले ‘ओभरटेक’ गर्न खोजे। ‘ओभरटेक’ गर्दा गाडी ‘अर्को लेन’मा पुग्थ्यो।
कति भिआइपीसँग यसरी हिँडेको उनी सम्झन्छन्। तर, आचार्यले चाहिँ हपारेछन्।
‘ल के गर्नुभएको? आफ्नो लेन नछोड्नू,’ आचार्यले भनाइ सम्झँदै ती चालकले भने।
आचार्य रिसाएपछि उनले ‘ओभरटेक’ गरेनन्। आचार्यको गाडीमा तत्कालीन कानुन मन्त्री नरहरि आचार्य पनि थिए।
‘त्यो दुई दिन मैले कहिल्यै भुल्न सकिनँ,’ ती चालकले भने, ‘त्यस्ता मन्त्री कहाँ छन् र अहिले!’
भिआइपी, भिभिआइपीको सवारीका बखत चालक जति जिम्मेवार हुन्छन्, सँगै बस्ने भिआइपी पनि जिम्मेवार भइदिए दुर्घटना धेरै कम भएर जाने ती चालक बताउँछन्।
तर, सबै भिआइपीहरू एकनास छैनन्। कतिलाई बैठकमा जान हतारो हुन्छ। कतिलाई खाना खान पुग्न। कतिलाई मन्त्रालयमा छिटो पुग्न। पाँच मिनेट ढिलो पुगे पनि हुन्छ भन्ने भिआइपीहरू धेरै न्यून भेटिने उनी बताउँछन्।
सेतोपाटीले यही हप्ता यसरी नै लेन मिचेर अघि बढ्दै गर्दा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको गाडी भेटेको थियो। (हेर्नुहोस् भिडियो)
भिडियोमा दाहालको सवारीमा रहेका अगुवा-पछुवा सबै गाडीले लेन मिचेको देखिन्छ। पछुवा गाडी त झन् बढी अर्को लेनमा पुगेको छ। यसरी लेन मिच्दा अगाडि कुनै ठूलो सवारीसाधन भेटिएको भए दुर्घटना हुनसक्थ्यो।
धेरै दुर्घटना हुने नै लेन छोडेर भिआइपीका गाडी हुइकिँदा हो। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले आफ्नै लेनमा दौडिरहेको मोटरसाइकललाई पेलेर ठक्कर दिँदा केही समयअघि बानेश्वरमा दुर्घटना भएको थियो।
अर्का एक चालक लेन मन्त्रीहरूले नै मिचेपछि पछुवा गाडी त्यसरी दौडन बाध्य भएको गुनासो गर्छन्।
उनका अनुसार अगाडिकोलाई भेट्न पछुवा गाडी स्पीडमा कुदाउनुपर्छ। त्यस्तो बेलामा दुर्घटनाको सम्भावना बढी रहन्छ। कहिलेकाहीँ त ब्रेक नै लाग्दैन।
‘साधारण जाम हुँदा पनि मन्त्रीको गाडीले लेन मिचेर हिँडेपछि पछि लाग्ने गाडी हिँड्नैपर्छ,’ ती चालकले भने, ‘सिंहदरबारमा छिर्ने नयाँ अनुहारका मन्त्रीहरू तामझाम देखाउन लेन मिचेर हिँड्ने गर्छन्।’
उनले भिआइपीको पछाडि हिँड्ने गाडीका आ–आफ्नै समस्या रहेको बताए। प्रायःजसो गाडी थोत्रा हुन्छन्, पिकअप दिन नसक्ने हुन्छन्।
‘मन्त्रीहरू प्राडो–पजेरोमा हिँड्नुहुन्छ, हाम्रा पछुवा गाडी टाटा र महिन्द्राका थोत्रा छन्,’ उनले भने, ‘६० को स्पीडमा अगाडिको गाडी चलाउँदा हाम्रो ८०/९० पुर्याउनुपर्छ, कसरी भेट्नु?’ दुर्घटना हुने प्रमुख कारण नै यही रहेको उनी बताउँछन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पछुवा गाडीले ठक्कर दिँदा २०७१ सालमा सुविधानगरमा तीन वर्षे बालिकाको ज्यान नै गएको थियो। नेपालको गाडी भेट्न तीब्र गतिमा हुइँक्याउँदा पछुवा गाडीले बालिकालाई ठक्कर दिएको थियो।
भिआइपी सुरक्षामा बढी खटिने गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठ पछुवा गाडीमा समस्या रहेको स्वीकार्छन्। पछुवा गाडी धेरै पुराना र मर्मत सम्भार राम्रो नभएका रहेको उनले बताए। ‘अर्को गाडी नहुँदा एउटै गाडी दौडाइरहनुपर्छ,’ उनले भने, ‘थोत्रा गाडी भएका कारणले पनि ब्रेक नलाग्ने, अकस्मात् कन्ट्रोल गर्न समस्या पर्ने गर्छ।’
दुर्घटना हुने अर्को कारण सडकको भीड छिचोल्ने नाममा जथाभावी हुइँक्याउनु हो। पछुवाले अगाडिको गाडी छोड्न मिल्दैन। छोडिहाले लेन मिचेर अगाडि जानुपर्ने बाध्यता रहेको चालकहरु बताउँछन्। धेरै नजिकै हाँके अगाडिको गाडीले ब्रेक लगाउँदा ठोक्किने डर हुन्छ। अलि पछि हिँड्यो भने बीचमा मोटरसाइकल छिर्छन्। ‘यस्तो बेला संवेदनशील भएर गाडी चलाउनुपर्छ,’ ती चालकले भने, ‘अगाडिको गाडीलाई पनि नछोओस्, बीचमा साना सवारीसाधन पनि छिर्न नपाउन्।’
उनले चार वर्षअघि नयाँ बानेश्वरमा एउटा मोटरसाइकललाई जोगाएका थिए। ‘भिआइपीको गाडी र पछुवा गाडीको बीचमा अकस्मात् एउटा मोटरसाइकल छिर्यो,’ उनले भने, ‘हत्तपत्त ब्रेक लगाएर जोगाएकाले दुर्घटना टर्यो।’
अर्का एक चालकका अनुसार कतिपय भिभिआइपी जस्तै (राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति)को सवारीमा ‘टेडोमेडो’ गाडी कुदाउनुपर्छ। यस्तोमा गाडी अर्को लेनमा पस्ने बढी जोखिम हुन्छ। अर्को लेनमा पुगेर गाडीले ठक्कर दिन सक्छ।
‘आदेश लेन नमिच्नू नै भन्ने हुन्छ। तर, अगाडिको गाडीले मिचेपछि पछुवा गाडी बाध्य हुन्छ,’ ती चालकले भने। दाहालको सवारीमा पनि त्यही देखिन्छ। ती चालकले भने, ‘जाममा बस्न भिआइपी रुचाउँदैनन् पनि।’
सशस्त्र प्रहरी बलका अनुसार भिआइपी सुरक्षा तालिम प्राप्त चालक र सुरक्षाकर्मीलाई अगुवा–पछुवा खटाइएको हुन्छ। उनीहरूले कहाँ रोक्ने, कस्तो अवस्थामा रोक्ने वा भिआइपीलाई कसरी सुरक्षा दिने रणनीति छिनछिनमा बनाइरहेका हुन्छन्।
‘सुरक्षामा खटिने कमाण्डर वा तल्लो तह जो सुकै सुरक्षाकर्मी पनि भिआइपी सेक्युरिटी तालिम प्राप्त हुनैपर्छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी श्रेष्ठले भने, ‘कहिलेकाहीँ दुर्घटना हुन्छ, जानजान त हुँदैन। तर, हामी दुर्घटनामाथि छानबिन गर्छौं। कुन र कस्तो किसिमको गल्ती हो छानबिनपछि कारबाही गर्छौं।’
नेपाल प्रहरीका अनुसार बहालवाला भिभिआइपी (विशिष्ट व्यक्ति)को सन्दर्भमा तीन किसिमको सुरक्षा व्यवस्था हुन्छ। त्यो केन्द्रीय सुरक्षा समितिले अनुमोदन गरेपछि गृहले बनाउँछ।
जसमा अनौपचारिक, औपचारिक र राजकीय तीन किसिमका सुरक्षा व्यवस्था हुन्छन्। राष्ट्रपति, विदेशी राष्ट्र प्रमुख, उपराष्ट्रपति र प्रधानमन्त्रीको हकमा भिभिआइपी सुरक्षा व्यवस्था मिलाइन्छ। जसको ‘क्लोज प्रोटेक्सन’मा नेपाली सेना हुन्छ।
भिआइपी सुरक्षामा बहालवाला तथा पूर्वपदाधिकारी पर्छन्। यसमा आवश्यकता अनुसार प्रायः नेपाल र सशस्त्र प्रहरीले पहरा दिन्छ। पूर्वपदाधिकारीलाई कुन स्तरकको सुरक्षा दिने त्यो सरकारले तोकिएबमोजिम हुन्छ।
‘भिभिआइपीको सवारी त रोकिनै हुँदैन, आवश्यकताअनुसार भिआइपीको पनि रोकिनु भएन,’ प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, ‘भिआइपीको हकमा एकदमै हतारो गरेर हिँड्नुपर्ने र ओभरटेक गर्नुपर्ने जरुरी हुँदैन।’
सुवेदीका अनुसार सशस्त्र प्रहरीमा जस्तै नेपाल प्रहरीमा पनि तालिमप्राप्त अनुभवी सुरक्षाकर्मी र ड्राइभर खटिएका हुन्छन्। त्यसको ‘चेन अफ कमाण्ड’ हुन्छ। त्यो सुरक्षा सेवा निर्देशनालयको मातहत हुन्छ।
‘तर, भिआइपीको सवारी हुँदा कहीँ कतै दुर्घटना भए वा ठक्कर दिइहाले सम्बन्धित भिआइपीलाई जानकारी दिएर उद्धार तथा उपचारको व्यवस्था गरिकन हिँड्नुपर्छ,’ सुवेदीले भने, ‘त्यस्तो नगरेको खण्डमा कानुन बमोजिम कारबाही गर्नैपर्छ।’
‘पूर्वप्रधानमन्त्रीको पछुवा गाडीले पछाडिबाट पेल्दै-पेल्दै आएर सडकमा लडाइदियो’
गृहमा भेटिएका चालकले पनि सुवेदीकै कुरा दोहोर्याए। भिआइपीको पछुवा गाडीले कतै ठक्कर दिए तुरुन्त उद्धार गर्न लाग्नुपर्छ। अस्पताल लैजानुछ भने सो व्यवस्था मिलाएर मात्र हिँड्न निर्देशन दिइएको हुन्छ।
‘भिआइपी गाडी भन्दैमा जबरजस्ती नकुदाउन हामीलाई निर्देशन छ। कहिलेकाहीँ कमाण्डरले हामीलाई दबाब दिन्छन्,’ एक चालकले भने, ‘दबाबमा हिँड्नुपर्दा चालकले आफ्नो धर्म बिर्सिन्छ, यो राम्रो हैन।’
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले बानेश्वरमा ठक्कर दिएर चुपचाप हिँडेकोमा उनले आक्रोश पोखे। ‘त्यो घटनामा सिधासिधी गल्ती देखिन्छ, मान्छे उठाउन छोडेर हिँड्नु गलत हो। कमाण्डरकै कमजोरी देखिन्छ,’ उनले भने।
पछुवा गाडीको ठक्करले ज्यान गुमाएकी तीन वर्षे छोरीको झझल्को
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाको सवारीमा सडकको लेन बढी मिचिएको देखिने गरेको छ। उनीहरूका अगुवा–पछुवा गाडीको ट्रलीमा बस्ने सुरक्षाकर्मीले परैबाट हात हल्लाउँदै अरु सवारीलाई हटाइरहेका हुन्छन्। धकेल्न खोजिरहेका हुन्छन्।
भिभिआइपीको स्कर्टिङमा भने बाटोको भीड हेरेर सडकमा बस्ने सुरक्षाकर्मीले नै बाटो खाली गराउँछन्। उनीहरूले लेन मिचेरै सवारी गराउँछन्, जुन गैरकानुनी हो। ‘भिभिआइपीलाई सवारी गराउँदा नियम मिच्न बाध्य भइन्छ,’ प्रहरी प्रवक्ता सुवेदी भन्छन्, ‘भिभिआइपीको सवारी रोकिनु हुन्न भन्ने मान्यतामा त्यसो गरिन्छ।’
आवश्यकता हेरेर सरकारले भिआइपीहरूलाई अगुवा–पछुवा गाडी दिएको हुन्छ। तर, भिआइपीहरूले नियम मिच्न पाउँदैनन्। ‘हाम्रो देशमा ट्राफिक व्यवस्थापन राम्रो नभएर पनि नियम मिच्न सजिलो भएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने।