भीषण हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश-२ सरकारले राहतको घोषणा गरेको छ ।
प्रदेश सरकारले ज्यान गुमाएका प्रत्येक परिवारलाई ३-३ लाख राहत दिने घोषणा गरेको हो ।
आईतबार राति आएको भीषण हावाहुरीका कारण प्रदेश दुईको बारा र पर्सा जिल्लामा ठुलो जनधनको क्षति भएपछि प्रदेश सरकारले ज्यान गुमाएका प्रत्येक परिवारलाई राहत दिने घोषणा गरेको हो ।
हिजोराति हावाहुरीसँगै ठूलो असिनापानी परेपछि बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको थियो । घटनामा ५ सय बढि घाइते भएका छन् ।
हावाहुरीले अत्याधिक जनधनको क्षति भएपछि प्रदेश दुईले आज बिहान आकस्मिक बैठक गर्दै मृतकका परिवारलाई तत्काल राहत स्वरुप ३-३ लाख उपलब्ध गराउने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका हुन् ।
कानूनमन्त्री यादवका अनुसार घटनामा घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले नै ब्यहोर्ने निर्णय गरेको जनाए ।
मन्त्री यादवले भने ‘हामी क्षति भएको स्थानतर्फ प्रस्थान गरिसकेका छौँ, त्यहाँको अवस्था हेरेपछि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ ।’
त्यसैगरि हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई प्रदेश सरकारले पुर्नबासको समेत व्यवस्था गर्ने भएको छ ।