विद्यार्थीबाट गैरकानुनी शुल्क उठाएको आरोपमा फरार रहेका गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ।
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निजरबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग गर्न कास्की प्रहरीले पत्र पठाएपछि टोली परिचालन गरिएको बताए।
एमबिबिएस र नर्सिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीले गैरकानुनी रूपमा करोडौं रकम उठाएको भन्दै अध्यक्ष अर्यालसहित ११ जनाविरुद्ध कास्की प्रहरीमा मुद्दा दर्ता गराएका थिए।
तीमध्ये मेडिकल कलेजका प्रमुख कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान गरिरहेको कास्की प्रहरीका प्रवक्ता नायब उपरीक्षक रविन्द्र गुरुङले जानकारी दिए।
‘विद्यार्थीबाट आएको जाहेरीअनुसार के–कति ठगी भएको हो अनुसन्धानको क्रममा छ,’ उनले भने।
गण्डकी मेडिकल कलेजमा अध्ययनरत एमबिबिएस तेस्रो वर्षका २४ र नर्सिङ कार्यक्रमको सबै ब्याचका ३० जना विद्यार्थीले सञ्चालक अर्यालसहितका व्यक्तिविरुद्ध कास्की प्रहरीमा ठगी मुद्दा दर्ता गराएका थिए।
कलेजले झन्डै ५० करोड रूपैयाँ ठगी गरेको उनीहरूको दाबी छ।
‘सबै विद्यार्थीले उजुरी गरे ५० करोड नाघ्छ,’ एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत अमित सिंहले सेतोपाटीसँग भने, ‘हामीले उजुरी गरेपछि ठगीको प्रारम्भिक शुल्क मात्र आएको हो।’
कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोडभन्दा बढी अवैध रूपमा उठाएको प्रारम्भिक रिपोर्ट छ।
यो प्रकरणमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याललाई प्रमुख प्रतिवादी बनाइएको छ।
त्यस्तै, प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा शाखाकै विश्वराज घिमिरे, हरिमाया पौडेल, स्टोर किपर कृष्ण पौडेल, काठमाडौंस्थित कार्यालयबाट विद्यार्थी भर्नामा काम गर्ने तिलक पौडेल, कर्मचारी कृष्ण घिमिरे र दिनेश पौडेलमाथि मुद्दा छ।
‘उनीहरूमाथि विद्यार्थीपिच्छे फरक–फरक शुल्क उठाएको अभियोग छ। कोहीलाई पाँच लाख, कसैलाई छ लाख अतिरिक्त उठाएको उजुरी छ। तेह्रदेखि पन्ध्र लाखसम्म अवैध शुल्क उठाएको विवरण दिएका छौं,’ सिंहले भने, ‘निवेदन दिने सबै विद्यार्थीले ठगीमै पाँचवटा मुद्दा कास्की प्रहरीमा दर्ता गराएका छन्। हामी न्यायको प्रतिक्षामा छौं।’
अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी लामो समयदेखि आन्दोलनमा थिए।
गत शनिबार गण्डकी मेडिकल कलेजको ताला खोलिएको थियो। विद्यार्थी सिंहका अनुसार बिहीबारदेखि गण्डकी मेडिकल कलेजमा पढाइ सुरू भएको छ, अस्पताल पनि सञ्चालनमा आएको छ।
‘भाइस प्रिन्सिपल प्रकाश बरालद्वारा कक्षा सञ्चालन थालिएको छ, मेडिकल सुपरिटेन्डेन्ट तुमाया घलेबाट अस्पताल पनि सञ्चालन भएको छ,’ सिंहले भने।
यसबीच, अवैध शुल्क उठाइरहेको आरोप लागेका मेडिकल कलेजका सञ्चालक र त्रिवि पदाधिकारीलाई बोलाएर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्।
किस्ट, चितवन, नेशनल मेडिकल कलेजका सञ्चालकसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, रजिष्ट्रार डिल्ली उप्रेती, रेक्टर सुधा त्रिपाठी र निजी मेडिकल कलेज सञ्चालक एसोसिएसनका बसुरद्दिन अन्सारीलाई बिहीबार बोलाएर मन्त्री पोखरेलले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएका हुन्। बैठकमा चिकित्सा शिक्षा अध्ययन संस्था (आइओएम) का डिन जगदीश अग्रवाल पनि थिए।
बैठकमा शुल्क धेरै लिएका मेडिकल कलेजले फिर्ता गर्ने, सरकारले तोकेको शुल्क कायम हुनुपर्ने, गण्डकी मेडिकल कलेजमा भएको अनियमितता छानबिन गर्दै परीक्षामा छुटेका विद्यार्थीका लागि पुनः परीक्षाको व्यवस्था गर्ने, विद्यार्थीका लागि शान्तिपूर्वक पढ्ने वातावरण मिलाउने र अवरुद्ध पढाइ सुरु गर्ने सहमति भएको शिक्षामन्त्री पोखरेलले सेतोपाटीलाई बताए।
‘विश्वविद्यालय सिस्टम हो, विद्यार्थीका लागि कलेजले सिस्टम नबनाओस्, पढाइको सुनिश्चितताका लागि विशेष व्यवस्था गर्नुहोस्,’ मन्त्री पोखरेलले निर्देशन दिँदै भने, ‘चिकित्सा शिक्षा आयोगको काम प्रारम्भ भएको छ, शुल्कमा अनियमितता गर्ने कसैलाई छुट दिँदैनौं।’