कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले संविधान विपरित क्रियाकलाप गर्ने गरेकाले विप्लब समुहमाथि प्रतिबन्ध लगाइएको बताएका छन्।
बुधबार सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘राजनीतिक दललाई प्रतिबन्ध लगाउन पाउने व्यवस्था त संविधानमा छैन नि,’ भन्ने पत्रकारको प्रश्नमा उत्तर दिँदै मन्त्री खनालले राजनीतिक दललाई प्रतिवन्ध लगाउने व्यवस्था नभए पनि विस्फोट गर्ने, धम्की दिने जस्ता गतिविधि गर्ने समूहलाई राजनीतिक दल मान्न नसकिने बताए।
उनले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिनको लागि चन्द समूहको क्रियाकलापलाई सरकारले पूर्ण रूपमा नियन्त्रण गर्ने उल्लेख गरेका छन्। यस्तै, विप्लब समूहबाट त्रसित भएका जनप्रतिनिधि तथा नागरिकलाई सुरक्षित महसुश गराउने दायित्व राज्यको भएकोले त्यसमा राज्य पूर्ण रूपमा लाग्ने बताए ।
हतियार बाहिरिएको खुलासा
कृषि तथा पशुपंक्षी विकास मन्त्री खनालले विप्लव समूहप्रति लक्षित गर्दै सेना समायोजनको बेला एउटा समूह हतियार लिएर अस्थायी शिविरबाट बाहिरिएको बताएका छन्।
तत्कालिक माओवादी लडाकुका डेपुटी कमाण्डरसमेत रहेका उनले अस्थायी शिविरबाट कति हतियार बाहिरिए भन्ने प्रस्ट खुलाएनन्। तर, एउटा समूहले हतियार लिएर हिँडेको भने उनले स्वीकारे।
‘मेरै नेतृत्वमा सेना समोजनको कार्य भइरहेको थियो,’ मन्त्री खनालले भने, ‘नेपाली सेना आउँछ, सहकार्य गरेर जानुपर्छ हामीले भन्दाभन्दै त्यतिबेलै एउटा समूहले क्यान्टोमेन्टमा आगजनी गर्दै हतियार लिएर बाहिएको थियो।’