कर्णाली प्रदेशका सांसदहरूले विप्लव समूहबाट हुने सुरक्षा चुनौतीमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरेका छन्।
आइतबार बसेको प्रदेश सभाको बैठकमा सहभागी सांसदहरूले विप्लव समूहको गतिविधिबारेमा प्रदेश सरकारको ध्यान जानु जरूरी रहेको औंल्याएका हुन्।
सदनमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले विप्लव समूहको आतंक नियन्त्रण गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने बताए।
उनले देशका विभिन्न क्षेत्रमा विप्लव समूहबाट भएको गतिविधिले सुरक्षा चुनौती खडा गरेकोले यसमा आवश्यक ध्यान दिनुपर्नेमा जोड दिए।
‘देशमा सुरक्षा चुनौतीका रूपमा देखिएका गतिविधिहरू बन्द गराइ नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने राज्यको कर्तव्य हो,’ सांसद शाहीले भने, ‘विप्लव समूहको आतंक नियन्त्रण गर्नका लागि अब प्रदेश सरकारले पनि विचार गर्ने बेला भएको छ।’
सांसद अमरबहादुर थापाले विप्लव समूहले व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिहरूलाई समस्यामा पार्ने गरेकोले यसमा प्रदेश सरकाले ध्यान पुर्याउन आग्रह गरे। व्यवसायी, जनप्रतिनिधिबाट संस्थागत र व्यक्तिगत रूपमै विप्लवले चन्दा माग्न थालेको आफूले सुनेको बताउँदै उनले यो खालको गतिविधि अन्त्य गर्नका लागि जोड दिन सरकारसँग आग्रह गरे।
‘विप्लवको चन्दा आतंकले संकट पारेको स्थानीय तहका जनप्रतिनिधि र व्यवसायीले भनेका छन्,’ सांसद् थापाले भने, ‘यस अवस्थाले जनप्रतिनिधि, व्यवसायी, हाम्रा उद्योगका लागि सुरक्षा चुनौती छ। यसमा प्रदेश सरकारको ध्यान जाओस्।’