छुट्टै मधेस देशको अभियान चलाइरहेका सिके राउतले नेपालको अखण्डता स्वीकार्दै अभियान रोक्ने भएका छन्।
त्यसको घोषणा शुक्रबार दिउँसो १ बजे हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छेउमा राखेर राष्ट्रिय सभागृहबाट विशेष सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले प्रधानमन्त्री ओली र राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने पुष्टि गरे।
स्रोतका अनुसार यस विषयमा निर्णय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा बस्दैछ।
राउतसँग दुई महिनाभन्दा बढीदेखि भएको वार्तापछि उनी स्वतन्त्र मधेसको अभियान छोड्न राजी भएका हुन्।
हिजोमात्र राज्य विप्लवको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।
उक्त आदेशको भोलिपल्टै राउतले प्रधानमन्त्रीको उपस्थितिमा आफ्नो अभियान छोडेको घोषणा गर्न लागेका हुन्।