राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागि प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाउ,बेटी बचाउ’ अभियान राष्ट्रिय कार्यक्रम बनोस् भनेर शुभकामना दिएकी छन्।
वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा आयोजित ‘बेटी पढाउ, बेटी बचाउ’ शिक्षा बीमा/मुद्दती बचत खाता कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
‘समाजमा रहेको छोराछोरी बीचको भेदभाव र छोरी शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउन प्रदेश सरकारले ल्याएको ‘बेटी पढाउ,बेटी बचाउ’ अभियान अन्य प्रदेशले अनुसरण गर्न प्रेरणा दिनेछ,’ उनले भनिन्,‘छोराछोरीको समान शिक्षा र अवसरको लागि यो कार्यक्रमपछि गएर राष्ट्रिय कार्यक्रम बनोस,मेरो शुभकामना छ।’
संविधानको घोषणापश्चात सम्पन्न तीनै तहको निर्वाचनपछि पहिलो पटक मधेसमा पुगेकी राष्ट्रपति भण्डारीले संविधानले सबैलाई समान अधिकार दिएको र महिलालाई राज्य सञ्चालन गर्न व्यवस्था गरेसँगै महिलाहरूको भूमिका महत्त्वपूर्ण खेल्न सक्ने भएकोले सामाजिक जागरुकता बढाउन यो अभियान फलदायी हुने उनले विश्वास व्यक्त गरिन्।
‘आमा-बुवाको छोराछारीप्रतिको स्नेह बराबर हुन्छ,यो नै प्राकृतिक सच्चाई हो, तर आजको युगमा छोराछारीबीचको भेदभाव सुहाउँदो कुरा होइन,यसले समाजलाई पछि पार्छ,’उनले अग्रह गर्दै भनिन्,‘जबसम्म एउटा परिवारमा छोरी बुहारीलाई शिक्षामा पहुँच बढ्दैन,तबसम्म समाज र सिंगो राष्ट्र विकसित हुन सक्दैन,सुखी नेपाल र समृद्ध नेपालमा यो अभियानले मद्दत गर्नेछ।’
उनी प्रदेश २ सरकारले अगामी दिनमा भौतिक पूर्वाधारको विकास गर्दै कृषि उत्पादन बढाउन तथा उद्योगधन्दाको वृद्धि गरी यही रोजगारी सृजना गरोस् र विदेश पलायन भइरहेको युवालाई स्वदेशमै केही गर्न अभिप्रेरित गरोस् भन्ने सुझाव दिइन्।
छोराछोरीलाई समान अवसर दिने राष्ट्र विकासित : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जुन देशले छोराछोरीलाई समान शिक्षा र अवसर दिएका छन्,उनीहरू नै विकसित र समृद्ध राष्ट्रको रूपमा चिनिने गरेको बताएका छन्।
उनले सम्बोधन गर्दै भने,‘मैले प्रदेशको विकासको लागि दुई किसिमको खाका कोरेको छु, एउटा भौतिक त अर्को सामाजिक, सडक, पुल, आलिसान भवनसँगै सामाजिक विकास गरिएन भने समाजको वास्तविक विकास हुँदैन तसर्थ, ‘बेटी पढाऔं,बेटी बचाऔ’ अभियान चलाइ प्रदेशसँगै राष्ट्र विकसित हुन्छ।’
मधेसी समाजमा छोराभन्दा छोरीलाई बढी प्राथमिकता दिइने भएकोले समाज शिक्षित हुन नसकेको र अन्य प्रदेशभन्दा प्रदेश २ पछि परेको उनले बताए।
सुरू चरणमा प्रदेश ८ जिल्लाको आठ वटा पालिकामा यो कार्यक्रम लागू भएको र माघ पनि प्रदेश २ मा जन्मिने छोरीले यो कार्यक्रमको लाभ लिने छन् भनि उनले घोषणा गरे।