कर्णाली प्रदेशको शुक्रबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्देशिका, १ विधेयक र १ कार्यविधिलाई तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेका कर्णाली प्रदेश सार्वजनिक सम्पत्ति व्यवस्थापन निर्देशिका, कर्णाली प्रदेश बहुवर्षीय आयोजना सञ्चालनसम्बन्धी निर्देशिका, कर्णाली प्रदेश अनुगमन तथा मूल्यांकन निर्देशिका र कर्णाली प्रदेश बजेट तर्जुमा तथा कार्यान्वयनसम्बन्धी निर्देशिका तर्जुमाको लागि सैद्धान्तिक सहमति दिइएको हो।
यस्तै, सोही मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश सार्वजनिक निजी साझेदारीसम्बन्धी विधेयक तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ। मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश आर्थिक कार्यविधिलाई ऐन–२०७५ संशोधनको लागि बैठकले सैद्धान्तिक सहमति प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७५ स्वीकृत गरेको छ।
यसैगरी, प्रशासन तथा विधेयक समितिबाट परिमार्जनसहित आएको कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिइएको छ ।