सामुदायिक रेडियो प्रसारक संघ अकोराबले बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय सम्मेलन आयोजना गर्यो। प्रदेशस्थित राजनीतिक दलका अगुवा तथा अन्य सरोकारवालासँग यस क्षेत्रका कुरीति र कुप्रथामा सामुदायिक रेडियोले खेल्न सक्ने भूमिकाबारे आयोजित सम्मेलन उद्घाटन सत्रमा नेकपा सांसद्, मन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य उपस्थित थिए।
कार्यक्रममा आयोजकसहित सञ्चारमन्त्री गोकुल बाँस्कोटा, प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही, योगेश भट्टराई, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश ज्वाला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी लगायत सहभागी थिए।
औपचारिक कार्यक्रममा उपस्थित नेताहरूले सत्तापक्ष र प्रतिपक्षका रूपमा एकअर्कालाई आरोप र कटाक्ष गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य थानीले शुभकामना मन्तव्य राख्दै सरकारले दुईतिहाइको दम्भ देखाएको बताए। भने, ‘अहिले हामी प्रतिपक्षमा छौं, हामी सजग गराउन चाहन्छौं, दुईतिहाइ सरकारले दम्भ देखाएर सामुदायिक रेडियोमाथि अंकुश लगाउने काम गर्न पाइँदैन।’
त्यसअघि अकोराबका अध्यक्ष सुवास खतिवडाले सरकारले सामुदायिक रेडियोमाथि अंकुश लगाउन खोजेको भन्दै गुनासो गरेका थिए।
थानीले देशको परिस्थिति अनुसार राजनीतिक नेतृत्व पनि परिवर्तन हुने दावी गरेका थिए। ‘यसअघि एक समय हामी सरकारमा थियौं, त्यसपछि कम्युनिष्टको सरकार बन्यो, हामी प्रतिपक्षमा रह्यौं। अहिले पनि कम्युनिष्टको सरकार छ, यसपछि हामी फेरि सरकार बनाउँछौँ,' उनले भने, ‘सरकारले सामुदायिक रेडियोमाथि अंकुश लगाउने काम नगरोस्।’
त्यसपछि प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले उनको भनाइमा कटाक्ष गर्दै भने, ‘थानीजीको सबै कुरामा सहमत छु, तर हामी फेरि सरकारमा आइहाल्छौँ भन्ने कुरा जुन गर्नुभो त्यसमा भने सहमत छैन। आउन सक्नुहुन्छ। बाटो छ, तर अलि अप्ठ्यारो छ, नआउन पनि सक्नुहुन्छ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले व्यंग्यात्मक तरिकाले भने, ‘थानीजीले अहिले चल्तिमा रहेका शब्द त भन्नुभयो, तर यो अधिनायकवादी भन्नेचाहिँ छुटाउनुभयो। यो ‘अधिनायकवाद’ भन्ने शब्द मैँले थपिदिएँ है।’
उनले प्रतिपक्षी अत्तालिएको टिप्पणी गर्दै भने, ‘हामीसँग २२ वर्ष प्रतिपक्षमा बसेको अनुभव छ। प्रतिपक्षमा बस्नुपरेको ६ महिना भा’छैन आत्तिने?’
त्यसअघि मन्तब्य राखेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने प्रतिपक्षका रूपमा दललाई होइन, देश र समाजको समस्या बुझ्नुपर्ने बताए। ‘प्रतिपक्षी दललाई होइन, समस्यालाई ठानौँ,’ उनले भने, ‘बाटोमा उड्ने धुलोधुवाँ, देशको गरिबी, कमजोर शान्ति–शुरक्षा, यात्रुले चढ्नुपरेका थोत्रा गाडी, बलात्कारका घटना यी कुरालाई प्रतिपक्षीका रूपमा लिऔँ, दललाई होइन।’