प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको बताएका छन्।
ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रेलभन्दा पहिले नेपालमा पानी जहाज आउने बताए।
‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ,’ ओलीले भने, ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन। सानो डुंगाजस्तो पनि होइन। ठिक्कको पानीजहाज आउँछ।’
नदीको आकार, गहिराइअनुसार पानीजहाज ल्याइने उनले बताए।
‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन्। पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ,’ उनले भने, ‘गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ।’
नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको उनको भनाइ छ।
‘जहाज त उडेका थिए। अब भुइँ नछोई पानीमाथिबाटै संसार घुम्न सकिन्छ,’ उनले भने।
नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए।
‘पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने पनि छ। संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसक्यो, खोलाको वहाव परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘पानीजहाज ल्याउन पुलले बाधा पुर्याउँदैन।’
रेल र पानीजहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेश पढ्न पठाउने पनि प्रधानमन्त्रीले घोषणा गरे।