दैलेख जिल्लाको एउटा गाउँमा पुसको पहिलो साता नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का दुई दर्जन कार्यकर्ता आए।
उनीहरू खाना खान गाउँभरि बाँडिए। खाना खाएपछि उनीहरूले गाउँलेहरू भेला गरेर पार्टी कमिटी बनाए।
केही दिन उनीहरू त्यहीँ बसे। बसाइका क्रममा स्थानीय सामुदायिक वन उपभोक्ता समिति, गाउँपालिकाद्वारा सञ्चालित विभिन्न विकास योजनाका समिति, ठेकेदार, शिक्षक, गाउँपालिका जनप्रतिनिधिसँग चन्दा उठाए।
सोही गाउँकी स्थानीय गाउँपालिका उपाध्यक्षले सेतोपाटीसँग भनिन्, ‘मैले आफैं पनि २५ हजार चन्दा दिएँ। मागेपछि दिनैपर्यो।’
उनका अनुसार गाउँपालिका प्रमुखसँग उनीहरूले एक लाख साठी हजार रूपैयाँ चन्दा उठाए।
‘वडा अध्यक्षहरूसँग दस-दस हजार उठाए,’ उनले भनिन्।
व्यक्तिमात्र होइन, माओवादीहरू स्थानीय सरकारसँगै पनि हाकाहाकी चन्दा माग्न थालेका छन्।
‘अर्को वर्षदेखि बजेटको दुई प्रतिशत रकम आफ्नो पार्टीलाई दिनैपर्ने धम्की उनीहरूले दिएका छन्,’ उनले भनिन्।
विप्लव माओवादीका कार्यकर्ता यसरी कर्णाली प्रदेशका गाउँगाउँ पुगेर संगठन बनाउने, पैसा उठाउने र वैधानिक सत्तालाई चुनौती दिन थालेका छन्। गाउँलेलाई भन्ने गरेका छन्, ‘पुष्पकमल दाहाल नेतृत्वको माओवादीले क्रान्ति तुहायो, त्यसको लक्ष्य पूरा गर्न हामी होमिएका छौं।’
उनीहरूले अहिलेसम्म आफ्नो क्रान्ति शान्तिपूर्ण नै भए पनि राज्यले दमन गरे हतियार उठाउँछौ भन्ने गरेको ती उपाध्यक्षले बताइन्।
'हामी शान्तिपूर्ण रूपमा संगठन विस्तार र पार्टी सिद्धान्तको प्रचारप्रसार गरिरहेका छौं,’ माओवादी कार्यकर्तालाई उद्धृत गर्दै उनले भनिन् ‘राज्यले हामीलाई दमन गर्यो भने उसलाई त्यसैगरी जवाफ दिन्छौं।’
'शान्तिपूर्ण क्रान्ति' भने पनि उनीहरू गाउँमा हतियार नै लिएर हिँड्छन्।
दैलेखका ती गाउँलेलाई माओवादीको अघिल्लो सशस्त्र द्वन्द्वको झझल्को त्यतिखेर आयो जब सात दिन नबित्दै गाउँमा नेपाली सेनाको गस्ती पनि आयो।
झण्डै चार दर्जन सेनाका जवान क्याप्टेनको नेतृत्वमा गाउँ आए। उनीहरू पनि दुई दिन त्यही गाउँ बसे। वडा कार्यालयको हलमा सुते। गाउँलेहरूसँग त्यहाँ भइरहेका गतिविधिबारे कुरा गरे। सोधखोज गरे।
‘एकातिर हतियारसहित विप्लवका कार्यकर्ता, अर्कोतिर सेना गाउँमा आउँदा फेरि द्वन्द्व चर्किन लागेको हो कि भन्ने डर लाग्न थालेको छ,’ ती उपाध्यक्षले भनिन्।
संयोग हो वा विप्लव माओवादीका गतिविधिबारे जानकार भएर हो, गत साता सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र घुर्कीको शैलीमा भने, ‘माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। अर्को माओवादी जन्मिन्छ। झन् ठूलो लँडाइ हुनसक्छ।’
२३ वर्षअगाडि आजैका दिन प्रचण्डका नेतृत्वमा माओवादीले जनयुद्ध सुरू गरेको थियो। यी २३ वर्षमा राजनीतिमा धेरै परिवर्तन भएका छन्। प्रचण्ड नेतृत्वको माओवादी र एमाले एकीकृत भएर नेकपा बनेको छ। दुई तिहाइ मतसहित सत्तामा नेकपाको वर्चश्वशाली उपस्थिति छ।
द्वन्द्व सकिएर भर्खरै संक्रमणकाल पूरा गरेको ठानिएको नेपालका लागि आज फेरि पेचिलो प्रश्न खडा भएको छ- अर्को माओवादी जन्मिन्छ कि जन्मिसक्यो?
नेपाल प्रहरी र नेपाली सेनाको ‘इन्टेलिजेन्स'ले माओवादी जन्मिसकेको र यसको विस्तार भइरहेको देखाउँछ। बाहिर देखिएका कतिपय गतिविधि र विप्लव माओवादीको चन्दा बिगबिगीले पनि त्यसलाई धेरै हदसम्म पुष्टि गर्छ।
नेपाली सेनाका एक उच्च अधिकृतले माओवादीले देशका विभिन्न भागमा आफ्ना गतिविधि गरिरहेको बताए।
‘कहीँ कहीँ उनीहरूको सामान्य 'मुभमेन्ट’ देखिन्छ भने कति ठाउँमा अलि बाक्लै गतिविधि देखिन्छ,’ उनले भने।
उनका अनुसार कालिकोट जिल्ला अहिले उनीहरूको मुख्य आधार इलाका हो। कालिकोटलाई ‘बेस’ बनाएर उनीहरूले कर्णालीभरि नै बाक्लै गतिविधि गरिरहेका छन्।
नजिकैका दैलेख, सुर्खेत, जाजरकोट, सल्यानमा आफ्नो प्रभाव विस्तार गर्न विप्लव माओवादी मुख्य रूपमा केन्द्रित देखिन्छ।
तर उनीहरू कर्णालीमा मात्र सीमित छैनन्।
नेपाली सेनाको ‘इन्टेलिजेन्स’ रिपोर्ट र विप्लव माओवादीको दाबी भिडाएर हेर्दा पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा उनीहरूका गतिविधि देखिन्छन्।
‘पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभामा उनीहरूका केही गतिविधि देखिन्छन्,’ सेनाका उच्च अधिकारीले भने।
माओवादीका एक पूर्वलडाकुले पनि पूर्वीपहाडमा आफ्ना कतिपय साथीहरू विप्लव माओवादीमा गएको बताए।
‘माओवादीको जनजाति एजेन्डामा सुरूदेखि नै बलियोसँग विश्वास भएका कतिपय साथीहरू अहिले विप्लवतिर गएका छन्,’ उनले भने।
विप्लव माओवादीले पूर्वी पहाडमा अरूण हाइड्रोपावर प्रोजक्टमा बम पड्काउनेलगायत गतिविधि गरिसकेको छ।
सेनाका अनुसार पूर्वी तराईमा मोरङको चुरेसँग जोडिएको उत्तर-पूर्वी भागमा पनि माओवादीको केही उपस्थिति छ। पूर्वी तराईको मधेसी भेगमा भने माओवादीको उपस्थिति देखिन्न।
पूर्वी पहाडपछि एकैचोटी मकवानपुरको उत्तरी भेग, ललितपुरको दक्षिणी भेग, नुवाकोट र धादिङमा उनीहरूको ‘मुभमेन्ट’ रहेको सेनाको भनाइ छ।
त्यसपछि मध्य तराईको रूपन्देही र कपिलवस्तुमा पनि माओवादीका गतिविधि देखिएको सेनाको इन्टेलिजेन्स रिपोर्टले भन्छ। कपिलवस्तु विप्लवको गृह जिल्ला पनि हो। रोल्पामा जन्मिएका विप्लव पछि परिवारसँगै कपिलवस्तु सरेका हुन्।
‘रुपन्देही-कपिलवस्तुबाट माओवादी कार्यकर्ता दाङ हुँदै प्युठान, रोल्पा, रुकुमजस्ता उत्तरी जिल्लासम्म गतिविधि गर्ने गर्छन्,’ सेनाका अधिकृतले भने।
रोल्पा र रूकुममा माओवादीको धेरै प्रभाव र गतिविधि नभएको सेनाको आँकलन छ। त्यहाँ नेकपा नेताहरू वर्षमान पुन र जनार्दन शर्माकै धेरै प्रभाव रहेको उसको ठम्याइ छ।
तर माओवादी कार्यकर्ताहरू रोल्पा र रूकुमको उत्तरी भागमा आफ्नो पकड स्थापित भएको र त्यसलाई पार्टी गतिविधिका लागि आफूहरूले विशेष क्षेत्र घोषणा गरेको दाबी गर्छन्।
पश्चिम तराईको कैलाली-कञ्चनपुरमा पनि केही मात्रामा माओवादी गतिविधि देखिएको नेपाली सेनाले बतायो।
‘पश्चिम तराईबाट पनि उनीहरूको 'मुभमेन्ट' पश्चिम पहाडतिर छ,’ सेनाका अधिकारीले भने।
नेपाल प्रहरीको इन्टेलिजेन्सले पनि यिनै सूचना पुष्टि गर्छ।
विप्लव माओवादीका गतिविधि कुन चरणमा छन्? उसको शक्ति कति हो? उसको अर्को लक्ष्य के हो? अहिलेका लागि महत्वपूर्ण प्रश्न यिनै हुन्।
विप्लव माओवादीको सबभन्दा ठूलो सफलता अहिले चन्दा उठाउनेमा देखिन्छ।
नेपाल प्रहरीको अनुमानमा उसले ३५-४० करोडको हाराहारीमा चन्दा उठाएको हुनुपर्छ। तर सेनाको अनुमान त्योभन्दा धेरै छ।
'यिनले कति चन्दा उठाए, त्यो एकिनसाथ कसैले भन्न सक्दैन। तर देशभरका व्यापारी, विद्यालयदेखि साना-ठूला व्यवसायबाट जसरी चन्दा उठाएका छन्, त्यो रकम धेरै हुनुपर्छ,’ सेनाका अधिकारीले भने, ‘करको समस्या भएका व्यापारी र भ्रष्टाचारमा जोडिएका कर्मचारीलाई त उनीहरूले टार्गेट नै गरेका छन्।’
माओवादीले आफ्नो प्रभाव कम भएका सहरमा पनि व्यापक चन्दा उठाएको छ। विराटनगर महानगरपालिकामा सांगठनिक गतिविधि त के चालचुल पनि खासै देखिन्न। त्यहाँबाट पनि उनीहरूले धेरै नै चन्दा उठाएको एक व्यापारीले सेतोपाटीलाई बताए।
‘मैले दिएको छु। मैले थाहा पाएका धेरै साथीहरूले पनि ठूलो रकम दिएका छन्,’ उनले भने ‘बन्दुक बोकेको समूहसँग कसले प्रतिवाद गर्न सक्छ। हात जोडेर सकेसम्म कम पैसा दिने हो।’
को माओवादी हो, को होइन छुट्ट्याउन पनि गाह्रो भएको उनले बताए।
‘पार्टीको रसिद लिएर आउँछ। आफू नै आधिकारिक व्यक्ति भएको दाबी गर्छ। हामीले भेरिफाई गर्ने ठाउँ पनि छैन,’ उनले भने।
पैसा जम्मा भएसँगै माओवादीको हौसला बढेको छ। पार्टी र पार्टीका गतिविधि विस्तार उसले तीव्र बनाएको छ। दैलेखको त्यो सानो गाउँमा माओवादी जसरी पुगे त्यसले त्यही देखाउँछ।
माओवादीहरूको संगठनको ठूलो हिस्सा अहिले नेपाल आएको संयुक्त राष्ट्र संघीयमिसन (अनमिन)ले अयोग्य घोषित गरेका लडाकु र पूर्वलडाकुहरूले भरिएको सेनाको दाबी छ।
अयोग्य घोषित गरिएका एक पूर्वलडाकुले पनि यो पुष्टि गरे।
उनले भने,‘ मैले नै चिनेका आधा दर्जन जति अयोग्य घोषित लडाकुहरू अहिले माओवादीमा जिल्ला इन्चार्ज छन्।’
पूर्वलडाकुहरू माओवादीमा फेरि लड्न किन गएका?
ती पूर्वलडाकुको आफ्नै विश्लेषण छ।
‘कतिपयलाई विप्लवले साँच्चै क्रान्ति गर्छन्, परिवर्तन ल्याउँछन् भन्ने छ। कतिलाई माओवादीमा गएपछि चन्दा उठाउन पाइन्छ, आम्दानी हुन्छ भन्ने छ,’ आफ्नै उद्यम गरेर बसेका उनले भने, ‘कतिलाई सरकारले विप्लवसँग पछि कुरा गर्छ, सम्झौता गर्छ। हामीले फेरि अवसर पाउँछौ भन्ने छ।’
पैसा र लडाकु भएपछि माओवादीलाई चाहिने अर्को कुरा हतियार हो। सीमापारि भारतमा सजिलैसँग पाइने भएपछि हतियार ठूलो कुरा होइन। तर माओवादीसँग पहिलेकै हतियार भएको सेनाको दाबी छ।
‘शान्ति प्रक्रियामा आउँदा पहिलेका सबै हतियार माओवादीले बुझाएन। तिनै हतियार अहिले विप्लवको कब्जामा पुगेका हाम्रो अनुमान छ,’ उच्च सैनिक अधिकृतले भने।
ठूला हतियारसहित माओवादी कार्यकर्ता अहिलेसम्म पक्राउ परेका छैनन्। स-साना हतियार लिएर हिँडेका दुई दर्जन कार्यकर्ता भने पक्रिएको नेपाल प्रहरीको दाबी छ। केही साताअघि मात्र प्रहरीले माओवादी नेता खड्गबहादुर विश्वकर्माका छोरालाई तीन राउण्ड गोलिसहित विराटनगर विमानस्थलमा समातेको थियो।
कर्णाली प्रदेशका कतिपय गाउँमा भने माओवादी कार्यकर्ता ठूला हतियार नै लिएर हिँड्ने गरेको स्थानीय बताउँछन्।
माओवादी र पछि सेना पनि पुगेको दैलेखको गाउँबाट कतिपय युवाहरू माओवादीमा तालिम लिन जाने गरेका स्थानीयको भनाइ छ।
‘उनीहरू कस्तो तालिम लिन्छन्, के सिक्छन्, हामीलाई थाहा छैन,' दैलेखको गाउँकी ती उपाध्यक्षले भनिन्।
माओवादीले ठूलो सैन्य संरचना भने बनाई नसकेको सेनाको दाबी छ।
‘सैन्य संरचना बनाउने चरणमा उनीहरू पुगेका छैनन्। लुकिछिपी स-साना तालिम भने गरिरहेका होलान्,’ सेनाका अधिकारीले भने।
सेनाले पनि माओवादी गतिविधिमाथि दृष्टि राख्न माओवादी प्रभाव तथा गतिविधि हुने जिल्लाका गाउँमा आफ्नो उपस्थिति तीव्र बनाएको छ। गाउँमा जाने, गाउँलेसँग बस्ने, उनीहरूसँग घुलमिल हुने, कुरा गर्ने, सूचना संकलन गर्ने काम सेनाले गरिरहेको छ।
अघिल्लो माओवादी युद्धबाट शिक्षा लिएर आफूहरूले जनतासँग सेनाको अन्तरक्रिया बढाएको सेनाका ती अधिकारीले बताए।
‘अघिल्लो पटक हामीलाई सबभन्दा ठूलो ‘सेटब्याक' नै आममानिससँग सम्पर्क नभएका कारण भयो। माओवादी युद्ध सुरू भइसकेको थियो। तर हामीसँग ग्राउण्डको सूचना नै थिएन,’ ती अधिकारीले भने, ‘यसपालि भने त्यो त्रुटी सच्याएका छौं।’
अहिले सेनाको तालिममा नै जनताकहाँ कसरी जाने, उनीहरूसँग कसरी कुरा गर्ने, सूचना कसरी संकलन गर्ने भन्ने समावेश गरिएको उनले बताए।
‘त्यसैले हामीसँग यसपालि गाउँका धेरै सूचना छन्। गाउँको भूगोल थाहा छ, गाउँलेहरूसँग सम्पर्क छ’ उनले भने।
अहिलेको अवस्थाबाट माओवादी कसरी अघि बढ्छ भन्नेमा माओवादीभित्रै विवाद रहेको सेना र सरकार दुबैको आँकलन छ।
माओवादीमा अहिले नै युद्ध सुरू गरिहाल्ने वा केही समय शान्तिपूर्ण रूपले नै अघि बढ्ने भन्ने एकमत नभएको सेनाका ती अधिकारीले बताए।
‘विप्लवचाहिँ युद्ध सुरू गरिहाल्नु पर्छ भन्ने पक्षमा छन्। विप्लवपछिका नेता खड्गबहादुर विश्वकर्मा अहिले नै त्यसरी जानु हुन्न, राज्यले दमन गर्छ भन्नेमा छन्,’ ती सैनिक अधिकारीले भने।
आममानिसमा माओवादीको प्रभाव राम्रो नभएकाले अहिले नै युद्धमा गए उनीहरूको साथ नपाइने र राज्यलाई दमन गर्न सजिलो हुने विश्वकर्माको मत रहेको सेनाका अधिकारीले बताए।
‘विप्लवले भने युद्ध सुरू गरेपछि जनसमर्थन बढ्ने तर्क गरेका छन्। पहिले पनि हामी त्यसरी नै अघि बढेको हो भन्ने विप्लवको भनाइ छ,' उनले भने।
प्रधानमन्त्रीसँग नजिक रहेर काम गरिरहेका एक मन्त्रीले पनि विप्लव माओवादीभित्र युद्धका विषयमा मात्र होइन, अरू धेरै विषयमा तीव्र विवाद भइरहेको दाबी गरे।
‘माओवादीभित्र त्यही विवादका कारण पनि अहिले उनीहरूविरुद्ध धेरै कडासँग प्रस्तुत नहुने नीति सरकारले लिएको हो,’ उनले भने।
विप्लव र विश्वकर्माबीच सांगठनिक, सैन्यका साथै नेतृत्व शैलीका विषयमा पनि मतभेद रहेको उनको दाबी छ।
माओवादीका एक जिल्ला इन्चार्जले भने आफ्नो नेतृत्वभित्र त्यस्तो कुनै मतभेद नरहेको बताए।
‘त्यो पुँजीवादीले चलाएको हल्ला हो,’ उनले भने।
सरकारले विद्रोही समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा बनाएको समितिले विप्लव समूहसँग वार्ता गरेको थियो। माओवादीभित्र विवाद बढ्दै गएको सूचनासँगै सरकारले वार्ता र उनीहरूविरुद्ध गरेको कडिकडाउ खुकुलो बनायो।
विप्लवले नेपाल र भारतमा 'सेल्टर' बनाएर दुबैतिर बस्न थालेको सूचनासँगै यो संगठनप्रति सरकार कडा रूपमा प्रस्तुत भएको थियो। विश्वकर्मालाई पक्रिएर नछोड्ने निर्णयमा पुगेको थियो। प्रहरीले उनलाई समात्यो पनि। अदालतले जति पटक छाड्ने आदेश दिए पनि सरकारले उनलाई एउटा जिल्लाबाट अर्को जिल्ला घुमाइरह्यो।
अन्तत: छाड्ने निर्णय गर्यो।
‘सरकारले उनीहरूसँग वार्ता गरेपछि र विश्वकर्मा छुटेपछि माओवादी केही उत्साहित देखिएका हुन्। तर उनीहरू राज्यको नियन्त्रणबाहिर छैनन्,’ ती मन्त्रीले दाबी गर्दै भने।
सेना भने माओवादीले प्रशस्त पैसा जम्मा गरिसकेको, थोरै भए पनि लडाकु भर्ना गरेको, विप्लव सीमा वारिपारि बस्न थालेको कारण स्थिति बिग्रँदै जानसक्ने बताउँछ।
‘यस्तै तरिकाले परिस्थिति अघि बढ्दै गए धेरै जटिलता थपिन सक्छ,’ सेनाका ती अधिकारीले भने।